भर्खरै :

विद्यालय सञ्चालन वा बन्द गर्ने अधिकार स्थानीय तहलाई

नयाँ प्रजातिको कोभिड भाइरस विशेषतः कम उमेरका किशोरकिशोरीदेखि युवाको लागि अझ बढी खतरनाक देखिएपछि शिक्षा क्षेत्रमा अलमल बढेको छ । लामो समय बन्द रहेका विद्यालय र कलेजहरू बल्लतल्ल खुल्न थालेकोमा एकातिर सरकारले पनि तिनलाई बन्दै गर्न पनि भन्न सकिरहेको छैन, अर्कोतिर निजी विद्यालयका सञ्चालकहरू पनि विद्यालय बन्द गरिहाल्न तयार देखिएनन् । अनलाइन कक्षाले मात्र शिक्षण प्रभावकारी नभएको अघिल्लो वर्षको अनुभव, निजी विद्यालयमा स्रोतको उचित व्यवस्थापन जस्ता समस्याको कारण भौतिक कक्षा बन्द गरिनहाल्ने मनस्थितिमा छन् । तर, दैनिक बढिरहेको सङ्क्रमण दरले भने तत्कालै कुनै समाधानको उपाय खोज्न झकझकाइरहेको छ । यसैबीच शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।
मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्न निर्देशन दिएको छ ।
बैठकमा अहिलेको विषम परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न आग्रह गरिएको छ । प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएम) ले निर्णय गरी विद्यालय बन्द गर्नसक्ने अधिकार दिइएको छ ।
मन्त्रालयले तत्काल विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई दिने तयारी गरेको छ । पछिल्लो अवस्थामा कोभिड–१९ले बालबालिका र १८ वर्ष मुनिका युवालाई सङ्क्रमण देखिएकोले सबै क्षेत्र गम्भीर हुनुपर्ने मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
यस्तै मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढ्दो अवस्थामा रहेको र त्यसबाट विशेषत ः विद्यालय जाने उमेर समूहका विद्यार्थीमा सङ्क्रमण फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको छ ।
विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई
मन्त्रालयका प्रवक्ता दीपक शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिड–१९ को अवस्थामा विद्यालय सञ्चालन र बन्द गर्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिइएको जानकारी दिनुभयो । उहाँले भीडभाड नहुने गरी विद्यार्थीको सङ्ख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको सङ्क्रमणको पछिल्लो अवस्थालाई विचार गरी स्थानीय तहसँग समन्वय गर्न आग्रह गर्नुभयो ।
यस्तै सबै विद्यालयलाई जनस्वास्थ्यसम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट तय गरिएको थप मापदण्डको पनि पालन गर्न, मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात धुने र व्यक्तिमा सङ्क्रमणको लक्षण पाइएमा तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै विद्यालय बन्द वा तोकिएबमोजिम सञ्चालन गर्नुहुन र बन्द गरिएका विद्यालय पुनःसञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ मा तोकिएका विधि तथा प्रक्रियाको पालना गर्नुहुनका साथै विद्यालय बन्द वा आंशिकरूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्थाबमोजिम सिकाइ क्रियाकलापलाई निरन्तरता दिन विज्ञप्तिमा भनिएको छ ।
टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने
टोखा नगरपालिकाका विद्यालय वैशाख ९ गतेदेखि बन्द हुने भएको छ । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख ९ देखि विद्यालय बन्द गर्न लागेको जानकारी दिनुभयो ।
“वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोनासम्बन्धी विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।
यस्तै टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ बोर्ड राख्ने, आइसोलेसन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनेछ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखामा सामुदायिक आठ, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेको जानकारी दिनुभयो । टोखाले सङ्क्रमणको दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ ।
चौतारामा विद्यालय बन्द
शिक्षकलाई कोरोना भाइरस सङक्रमण भएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानु सिरूवारीस्थित सिद्धि गणेश मावि शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
विद्यालयका प्रधानाध्यापकलाई मङ्गलबारदेखि कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको सहायक प्रधानाध्यापक तिलकबहादुर दङ्गालले जानकारी दिनुभयो ।
उहाँको सम्पर्कमा आएका शिक्षक, विद्यार्थी तथा स्वास्थ्यकर्मीसहित २२ जनाको आज जिल्ला स्वास्थ कार्यालयबाट आएका स्वास्थ्यकर्मीले विद्यालयबाटै स्वाब सङ्कलन गरी लगेको छ । त्यसको रिपोर्ट आइतबारसम्म आइपुग्ने बताइएको छ । सङ्क्रमित शिक्षक अहिले काठमाडौँमा होमक्वारेन्टिनमा रहनुभएको शिक्षक ताराबहादुर श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *