भर्खरै :

संस्कृतिविद् हरिराम जोशीको “मेरा अनुभूतिहरू” सार्वजनिक

भक्तपुर, ५ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सात दसकदेखि अध्ययन, लेखन र प्रकाशनमा अनवरत लाग्नुभएका प्राज्ञ एवम् संस्कृतिका साधक हरिराम जोशीद्वारा लिखित ‘मेरा अनुभूतिहरू’ पुस्तकको एक विशेष समारोहबीच आइतबार विमोचन गर्नुभयो ।
पुस्तकको प्रकाशक भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको उक्त विमोचन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले लेखक जोशी नेपाली प्राचीन इतिहास र संस्कृति क्षेत्रका व्यक्तित्व, संस्कृत भाषा र साहित्यका जिज्ञासु एवम् कम्युनिस्ट पार्टीका पुराना कार्यकर्ता हुनुहुन्छ भन्नुभयो ।
नेपालका सत्तासीन कम्युनिस्ट पार्टीका नेताहरूले कम्युनिस्टको सिद्धान्त र विचार छोडेर कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई गलत दिशातिर मोडेको प्रसङ्ग उल्लेख गर्दै उहाँले पुरातत्व विभाग र गृहमन्त्रालयमा काम गर्दा लेखक जोशीले आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्नुभएको बताउनुभयो ।
अन्याय, शोषण र पक्षपातको विरोध गर्न सङ्गठन आवश्यक हुने चर्चा गर्दै अध्यक्ष रोहितले देश र जनताको पक्षमा इमानदारीपूर्वक काम गर्नुपर्ने र जनताको राजनैतिक, वैचारिक र सांस्कृतिक स्तर उठाउन कलम चलाइरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सहकारी संस्थाको आवश्यकता र महत्वबारे प्रकाश पार्दै उहाँले भन्नुभयो, “सहकारी संस्थाको उद्देश्य आर्थिक गतिविधि सञ्चालनमात्र होइन, मजदुर र किसानको सेवा गर्नु हो, घर–जग्गा कारोबारी तथा व्यापारीहरूको निम्ति सहकारी सञ्चालन भए त्यो बैङ्कजस्तो हुन्छ ।”
पुँजीपति वर्गको विकास गर्न नै बैङ्क खोल्ने गरिएको उल्लेख गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “योग्य र सक्षम व्यक्ति उचित स्थानमा हुनुपर्छ, उनीहरू समाज र देशकै सेवक हुन् ।”
सहकारी संस्थाले कृषि, उद्योगधन्दा विकासमा टेवा पु¥याउन सके रोजगारी सिर्जना हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हरेक नागरिकको बौद्धिक र सांस्कृतिक स्तर उठाउन सके आदर्शोन्मुख समाज बन्छ, इज्जत, मर्यादा र आचरणको पालना हुन्छ ।”
दृष्टिकोण नै गलत भएपछि त्यसले देश र जनताको अहित गर्छ, पैसा भएपछि इज्जत र प्रतिष्ठाको कुनै ख्याल नगर्ने व्यक्तिलाई समाजले धिक्कार्छ, उहाँले भन्नुभयो ।
पुस्तकका लेखक एवम् संस्कृतिविद् हरिराम जोशीले आफ्नो घर, कुल, समाज देशलाई बलियो बनाउन सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जिन्दगी सफल पार्न आफ्नो इन्द्रियलाई वशमा राख्नुपर्ने चर्चा गर्दै लेखक जोशीले भन्नुभयो, “आफ्नो काम आफै अघि बढेर गर्नुपर्छ, मिलेर अघि बढे प्रयास सफल हुन्छ ।”
यहाँका चाडपर्वको अध्ययन, अनुसन्धान र खोजीनीति गरी विश्लेषण गरे महाकाव्य नै तयार हुने विचार व्यक्त गर्दै उहाँले कसैले भनेको कुरा ठीक या बेठीक के हो आफूले पनि चिन्तन मनन गर्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “चाडपर्वहरू हाम्रा सांस्कृतिक अमूल्य निधि हुन्, हाम्रा पुर्खाका विरासतको ठीक ठीक मूल्याङ्कन नगरी टुलुटुलु हेरेर झाराटारे त्यसको अवमूल्यन हुन्छ ।”
संस्कृतिद्वारा अनुप्राणित आदर्शलाई सफल पार्न सबैले मातृभूमिको सम्मुनतिको लागि आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्छ र राष्ट्र उत्थानको निम्ति जुट्नुपर्छ, उहाँले भन्नुभयो ।
इतिहासकार एवम् प्राध्यापक पुरूषोत्तमलोचन श्रेष्ठले इतिहास, संस्कृति र पुरातात्विक पक्षलाई भौतिकवादी दृष्टिले हेर्ने पहिलो व्यक्ति लेखक जोशी हुनुहुन्छ भन्नुभयो ।
धर्म, चाडपर्वलाई ऐतिहासिक र भौतिकवादी दृष्टिले विश्लेषण गर्ने जोशी तर्क सम्राट रहेको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “कर्मले नै मानव र दानव हुने विश्लेषण गर्ने उहाँ समालोचक पनि हुनुहुन्छ ।”
इतिहासकार श्रेष्ठले भन्नुभयो, “लेखक जोशी ज्ञान, शिक्षा र अनुभवको प्रशंसा प्रेरित गर्ने गुरू हुनुहुन्छ, उहाँ अत्याचारीको नास हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।”
राष्ट्रको रत्न जोशीले प्रतिकूल अवस्थामा पनि सांस्कृतिक महत्वका कृति लेखेर आफ्नो जिम्मेवारी निर्वाह गरेको र राष्ट्रको लागि गुण लगाएको उल्लेख गर्दै श्रेष्ठले लेखकप्रति भक्तपुरले गरेको सम्मान पछिसम्म रहने विश्वास व्यक्त गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थाका सल्लाहकार विष्णुगोपाल कुसी, संस्थाका सञ्चालक सदस्य जगन्नाथ प्रजापति र सचिव लक्ष्मीप्रसाद कुसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *