भर्खरै :

कोभिड–१९ को खोप किन लगाउने ?

कोभिड–१९ को खोप लगाउन कति आवश्यक छ ? कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न देशभर खोप अभियान चल्दै गर्दा केही मानिसले यो प्रश्न उठाइरहेका छन् । कोभिड–१९ प्रतिरोधी खोपका केही नकारात्मक समाचारले यस्ता प्रश्न गर्नेलाई बल दिइरहेको छ । खोप लगाएका व्यक्तिलाई पनि सङ्क्रमण भएको र खोपको प्रभावकारिता केही समयसम्मको मात्र हुने जस्ता कुराले पनि मानिसलाई खोपप्रति यस्ता प्रश्न गर्ने बनाएको छ ।
कोभिड–१९ महामारी संसारको निम्ति अनपेक्षित सङ्कट हो । मानव समाजले इतिहासमा धेरै थरी महामारी सामना ग¥यो । ठुलो मूल्य चुकाए पनि मानिसले त्यस्ता महामारीलाई पराजित गर्दै आएको छ । कोभिड–१९ मानिसको निम्ति अपरिचित भाइरस थियो । त्यसको सामना गर्न मानिससँग अनुभव थिएन । कोभिड–१९ भाइरसको चरित्र, विशेषता र कमजोरीबारे मानिस अनजान थियो । तर, महामारीको प्रतिरोधको क्रममा मानिसले फेरि एकपल्ट आफूलाई बुद्धिमान प्राणी पुष्टि ग¥यो । मानिससँग भएको सबभन्दा बलियो हतियार विज्ञानमा भर परेर मानिसले आफ्नो बुद्धिमत्ता पुष्टि ग¥यो । वैज्ञानिकहरूको अथक मिहिनेतको परिणामस्वरुप मानिसले कोभिड–१९ को प्रतिरोध गर्ने उपायमात्र पहिल्याएन, बरु कोभिड–१९ सँग लड्ने खोप आविष्कार ग¥यो । नयाँ बाटोमा हिँड्दा स्वभावतः अनेकन चुनौती आउनु स्वाभाविक कुरा हो । कोभिड–१९ प्रतिरोधी खोपको सन्दर्भमा पनि यस्ता चुनौती आउनु आश्चर्यको कुरा होइन । तर, कोभिड–१९ को प्रतिरोध गर्न मानिससँग अब विज्ञानमा भरपर्नुको अर्को विकल्प नै छैन ।
निःसन्देह अन्तर्राष्ट्रिय शक्ति राजनीतिको छाया कोभिड–१९ खोपमा पनि परेको छ । वैज्ञानिकहरूले खोपको आविष्कार गरे पनि राजनीति र व्यापारिक स्वार्थबाट खोप टाढा हुन नसकेको सत्य संसारसामु छ । धनी देशले ठुलो परिमाणमा खोप किनेर सञ्चय गर्दा गरिब देशका जनताले खोप पाउन नसकेको विषयमा संसारमा चर्को बहस चालू छ । खोपलाई सार्वजनिक वस्तु बनाइनुपर्ने आदर्श विचार पनि अन्तर्राष्ट्रिय दबुमा प्रस्तुत भएका छन् । खोपमा पनि विभेद निन्दनीय कुरा हो किनभने कोभिड–१९ को महामारीबाट कुनै एउटा मात्र देश मुक्त नभए पनि संसारभर त्यसको जोखिम रहनेछ । कोभिड–१९ का नयाँ घातक प्रजातिहरूको उद्भवले समेत यो कुरा पुष्टि गर्दै छ । यी सबै सत्यबीच खोप नै अहिलेको विनाशकारी भाइरसविरुद्ध लड्ने एकमात्र शक्तिशाली हतियार हो । त्यही हतियारको भरमा अब मानिसले संसारलाई कोभिड–१९ भाइरसविरुद्ध लड्नुपर्नेछ । वैज्ञानिकहरूले कोभिड–१९ भाइरसको मूल जरा कहाँ पत्ता लाग्न समय लाग्ने अथवा नलाग्न पनि सक्छ भनेका छन् । मूल स्रोत जे र जहाँ भए पनि कोभिड–१९ भाइरस आजको सत्य हो जो कसैले नकार्न सक्दैन । कोभिड–१९ ले गत एक वर्षयता संसारभर पारेको प्रतिकूल प्रभावकै आधारमा पनि त्यो केही पनि होइन भन्ने तर्कलाई बेतुकको सावित गरेको छ । अर्ध–सत्य र आधा जानकारीको आधारमा कसैले त्यस्ता बेतुककै तर्क गरे केही समयको हाई हाई हुन सक्ला । तर, त्यो भ्रम लामो समय टिक्नेछैन ।
कोभिड–१९ सत्य र गम्भीर समस्या हो । यो समस्यासँग लड्न हामीले विज्ञानको विश्वास गर्नुका अर्को बाटो छैन । विज्ञानलाई हामीले विश्वास गर्छौं भने वैज्ञानिक अध्ययनले देखाएका सावधानीका उपायहरू–साबुन पानीले हात धुने, मास्क लगाउने, आपसी दूरी कायम गर्ने, भीडभाड नगर्ने आदिको पालना गर्नु आवश्यक छ । त्यस्तै वैज्ञानिक अनुसन्धानले आविष्कार गरेको खोपको प्रयोग गर्नु नै उपयुक्त बाटो हो ।
नेपालमा कोभिड–१९ को खोप अभियान सुरु भएको छ । छिमेकी देशहरूले दिएको खोप जनतालाई लगाइँदै छ । अझै पनि सबै नेपालीलाई खोप पुगेको छैन । आशा गरौँ, खोप चाँडै सबै नेपालीको निम्ति प्राप्य हुनेछ । तर, खोप किन लगाउने जस्ता प्रश्न गरेर महामारीविरुद्ध लड्ने सबभन्दा शक्तिशाली हतियारलाई भुत्ते बनाउने अनैतिकता कसैले देखाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *