भर्खरै :

‘मेरा अनुभूतिहरू’ पढ्दाका अनुभूतिहरू

(भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा वैशाख ५ गते भएको लेखक एवम् संस्कृतिविद् हरिराम जोशीका ‘मेरा अनुभूतिहरू’ कृति विमोचन कार्यक्रममा व्यक्त विचार–सं)
सात दशकदेखि अध्ययन, लेखन र प्रकाशनमा अनवरत लाग्नुभएका संस्कृतिविद् हरिराम जोशीको नयाँ वर्षको पूर्वसन्ध्यामा प्रकाशित ‘मेरा अनुभूतिहरू’ कृति पाठकहरूसामु सार्वजनिक हुनु खुसीको कुरा हो । दुई दर्जनभन्दा बढी कृति रच्नुभएका प्राज्ञ, संस्कृतिका साधक एवम् लेखक जोशीको संस्कृतिको उत्थान र विकासमा टेवा पु¥याउने यो अर्काे महत्वपूर्ण कृति हो । सरकारले उपत्यकालगायत १४ जिल्लालाई कोरोनाको अति प्रभावित जिल्लामा वर्गीकरण गरेको सन्दर्भमा भएको यो विमोचन कार्यक्रम साँगुरो घेरामा सीमित भए पनि कृतिको उचाइ र वजन घट्ने छैन । मनुष्य जीवन र मनोस्थितिको सूक्ष्म अध्ययनबाट आर्जित ज्ञानलाई संस्कृतिका ज्ञाता जोशीले कृतिको रूपमा प्रकाशन गर्नु मननयोग्य छ । लेखक जोशीका अनुभूतिहरूको पुस्तक प्रकाशित हुनु उहाँप्रतिको श्रद्धा हो, उहाँको सम्मान हो ।
इतिहास र संस्कृतिमा गहिरो अध्ययन भएका जोशीको परिश्रम, योगदान र उच्च भावनाको कदर गर्नु हाम्रो दायित्व हो । राज्यले प्राज्ञहरूको कृति खोजी खोजी प्रकाशन गरेर उत्साहित गर्नुपथ्र्याे, उत्प्रेरित गर्नुपथ्र्याे । प्राज्ञिक र बौद्धिक जगतका संस्कृतिविद् जोशीका ‘मेरा अनुभूतिहरू’ कृति भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले प्रकाशित गरेर उहाँको सम्मान र कदर गरेको अनुभूति हुन्छ । यस्ता कृतिको प्रकाशन गर्ने सहकारी संस्थाको सम्भवतः यो पाइला पहिलो हुनेछ । यसरी नै संस्कृतिविद् जोशीलाई झैँ यो संस्थाले समाजका अग्रज वाद्यगुरु, नाचगुरु, टोलकै सबभन्दा बढी उमेरका ज्येष्ठ नागरिक, वरिष्ठ पत्रकार, समाजसेवी, शिक्षासेवी, कविहरूको अभिनन्दन तथा सम्मान गरेको हामी सबैमा आलै छ । ती सम्मानित अग्रजहरूको अनुभव, सीप, ज्ञान समेटेर संस्थाले अर्काे कृति प्रकाशन गर्नेतर्फ पाइला चाल्ने आशा गर्दछु ।
आफ्नो क्षमता, अनुभव र विचारलाई संस्कृति र साहित्य लेखनबाट जनतालाई सुसूचित पार्ने आफ्नो दायित्व सम्झेर नै यो ‘मेरा अनुभूतिहरू’ कृति प्रकाशन भएको ठान्नु अन्यथा हुनेछैन । चाकडी नगर्ने, सरकारको प्रशंसा नगर्ने र आँखा चिम्ली समर्थन नगर्ने देशका विशिष्ट व्यक्तित्वहरूको योगदानको कृति प्रकाशन त के स्मरण पनि नगरेको देख्दा विज्ञहरूको चित्त दुख्नु स्वाभाविक हो । तर, यस्ता प्राज्ञ र संस्कृतिका ज्ञाताहरूको स्मरण र कदर देश र जनताले गरिरहनेछन् । भनिन्छ, विद्वान सर्वत्र पूज्यते अर्थात् विद्वानहरू सबैतिर पुजिन्छन् । यसरी पुजिने संस्कृतिका एक साधक हुनुहुन्छ – लेखक हरिराम जोशी ।
हरेक लेखक, कवि, कलाकारको आ–आफ्नै शैली हुन्छ । यस कृतिमा पनि लेखकको आफ्नै मौलिक शैली छ । कृति केवल शिल्प होइन, विचार वा मूल्य पनि हो । कृतिको समीक्षा गर्नु लेखकको विचारको मूल्याङ्कन गर्नु पनि हो । सिर्जना सर्जकको सम्पत्ति हो । शब्द रचनामात्रै काव्यको ज्यान होइन । लेखकको उद्देश्य र आत्मा नछामिकन एक दुई नियमको आधारमा हरेक लेखकको कृतिको मूल्याङ्कन गर्दा सही समालोचना नहुने समालोचनकहरूको भनाइ स्मरण गर्नु अन्यथा हुनेछैन । समालोचनाको उद्देश्य दोष देखाउनुमात्र होइन, राम्रो पक्ष केलाउनु पनि हो । समालोचना सिर्जनात्मक हुनुपर्छ । लेखक जोशीका ‘मेरा अनुभूतिहरू’ कृतिलाई पनि त्यसरी नै अध्ययन गर्नु मनासिब हुन्छ ।
‘मेरा अनुभूतिहरू’ कृतिमा बहुसामग्री, बहुविधा र बहुस्रोत पाइन्छ । अपराधीहरू दण्डित हुनुपर्छ भन्ने सन्देश देवराज इन्द्रलाई समाती चौबाटोमा बाँधेर सबैलाई देख्ने गरी राखेको घटनाले प्रस्ट पार्छ । नेपाल संवत्को नामकरणमा शङ्खधर साख्वा (साख्व), सिद्धिवन्त जोशी र भारवाहकको भूमिका महत्वपूर्ण रहेको पुस्तकमा उल्लेख छ । मनुष्यमात्रलाई स्वयम् आफू सम्झेर अगाडि बढेमा विश्वमा शान्ति छाउने लेखकको राय छ ।
यवमधीबाट अपभ्रंश भई योमधी भएको र यवमधीलाई आकारको हिसाबले ब्रह्माण्डको प्रतीक मानिएको छ । पुस्तकमा लिच्छवि शासक मानदेव प्रथमले चलाएको सबैभन्दा जेठो मुद्रा श्रीमानाङ्कको वर्णन र देशमा कुनै अनिष्ट नहोस् भनी चारैतिर अष्टमातृकाको प्रतिष्ठापन गरिएको सन्दर्भ छ । अंशुवर्माद्वारा प्रचारित मुद्रामा सिंहले दुई पताकायुक्त झन्डा समातिराखेको दर्शाइएको र त्यसैको विकसित रूप नेपालको दुई पताकायुक्त झन्डा बनेको प्रसङ्ग पनि पुस्तकमा उल्लेख छ ।
काठमाडौँका अत्याचारी राजा सदाशिवलाई जनताले नोलले ठोकेर देशबाट निकाल्दा उनी भक्तपुर दरबारभित्रको भैरव चोकमा थुनेको र उक्त चोकलाई सदाशिव चोक नामकरण गरिएको स्मरण लेखक जोशीले गर्नुभएको छ । ‘प्रजाराज देशमा आउँछ, राजतन्त्र खतम हुन्छ’ भन्ने विस २०१४ सालको उहाँको काव्य रचनाले उहाँ सामन्तवादविरोधी रहेको थाहा हुन्छ । ललितपुरको जाउला (जाहोला) खेलमा भोटोजात्रा देखाइने भोटोले तत्कालीन नेपालको न्यायिक व्यवस्थाको झलक देखाएको छ । किरात शासकबाट भएको अत्याचारको विरोधमा सङ्घर्ष गर्दा किरातहरू नेपाल प्रवेश गर्दा माटोको ठुलो घ्याम्पो (टेप) मा लुकिरहेको र पछि थाहा पाएपछि प्राणदान दिइएको सन्दर्भ पनि पुस्तकमा उल्लेख गरिएको छ ।
प्राचीन इतिहासमा मरिसके भनी अन्त्येष्टि गरिसकेका व्यक्तिहरू घर फर्केर आएमा स्वागत गरी प्रवेश गराउने चलन भए पनि हाल पस्न नदिने मानसिकताप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । मरिसके भनी अन्त्येष्टि गरिसकेका मानिसहरू फेरि फर्कँदा परिवारले हर्षाशु खसालेका र गाउँलेहरू खुसी भएका उदाहरण पनि समाजमा नभएका होइनन् । मन्दिरै मन्दिर भएको देश नेपाललाई विश्वसामु चिनाउनुपर्ने लेखकको विचारबाट उहाँ देशप्रति समर्पितमात्र होइन चिन्तित भएको प्रस्ट हुन्छ । नेवारको भोजको लागि बनाइने पातमा अष्टमातृकाको प्रतीक रहेको, विशेष भोजमा अष्टमातृकाको प्रतीकस्वरुप तरकारी र गेडागुडीको परिकार राख्ने, पुरुषको दौरामा बाँध्ने टुनाको सङ्ख्या आठवटा हुने र सहर अष्टमातृका देवीले घेरेर सुरक्षित बनाएको आदि विषय पनि पुस्तकमा समेटिएर पाठकको मन खिच्ने काम गरेको अनुभूति हुन्छ ।
पुस्तकको पहिलो गाता सामान्यतः ठिक्कै छ । किताबको मूल्य सस्तै छ । पुस्तक पठनीय छ । पुस्तकका लेखक हरिराम जोशी र प्रकाशक भक्तपुर बचत तथा ऋण सहकारी संस्थालाई साधुवाद छ । आगामी दिनमा पनि लेखक जोशीले अनुसन्धानात्मक कृतिको प्रकाशन गरेर पाठकले फेरि फेरि पढ्ने आशा गर्नु स्वाभाविक हो । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *