सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
(चीनको बोआओमा चालु सन् २०२१ को बोआओ एसियाली मञ्चको वार्षिक सम्मेलनमा मङ्गलबार चीनका राष्ट्रपति सी चिनफिङले दिनुभएको मन्तव्यको पूर्ण पाठको नेपाली अनुवाद–सम्पादक)
विभिन्न देशका महामहिम राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू,
विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनका महामहिम प्रमुखहरू,
बोआओ एसियाली मञ्चका महामहिम निर्देशक समितिका सदस्यहरू,
विशिष्ट पाहुनाहरू, महिला तथा सज्जनवृन्द, प्रिय मित्रहरू !
“जतिसुकै टाढा भए पनि असल मित्रताले मानिसलाई एक दिन अवश्य नजिक ल्याउने गर्छ ।” बोआओ एसियाली मञ्चको सन् २०२१ को वार्षिक सम्मेलनमा सहभागी बन्न पाउँदा र यो अनलाइन बैठकमा सबैलाई भेट्न पाउँदा म निकै खुसी छु । सुरुमा म चीन सरकार र चिनियाँ जनता अनि मेरो व्यक्तिगततर्फबाट स–शरीर र अनलाइनमार्फत सहभागी बन्नु भएका सबै पाहुनाहरूलाई न्यानो स्वागत गर्न चाहन्छु । पुराना र नयाँ सबै मित्रहरूलाई हार्दिक शुभकामना र अभिवादन !
बोआओ मञ्चको स्थापना बीस वर्षअघि भयो । यी दुई दशकमा एसियाली देशहरूले क्षेत्रीय आर्थिक सहकार्य अघि बढाए र आर्थिक तथा सामाजिक दुवै विकासको लागि एकताबद्ध भएर काम गरे । फलतः एसिया विश्व अर्थतन्त्रको लागि सबभन्दा गतिशील र प्रतिबद्ध क्षेत्र बनेको छ । आतङ्कवाद, हिन्द महासागरमा सुनामी, अन्तर्राष्ट्रिय वित्तीय सङ्कट, कोभिड–१९ लगायत पुराना तथा नयाँ सुरक्षा चुनौती सामना गर्न एसिया बाँकी विश्वसँगै उभियो । यसले एसियाको स्थायित्व र सुरक्षा कायम राख्न मद्दत ग¥यो । एसियाली परिवारको एउटा महत्वपूर्ण सदस्य हुनुको नाताले चीनले क्षेत्रीय सहकार्य प्रबद्र्धनको शिलशिलामा सुधार र खुलापनलाई अझ सघन बनाउँदै लगेको छ । जसले बाँकी एसिया र विश्वसँगै चीनले पनि प्रगति र विकास हासिल गरेको छ । यो मञ्च चीन, एसिया र संसारले गरेको असामान्य यात्राको साक्षी भएको भन्नु अतियुक्ति नहोला । यसले एसिया र त्यसभन्दा पनि परको विकास प्रबद्र्धनको लागि उल्लेखनीय प्रभाव पारेकोमा दुईमत नहोला ।
महिला तथा सज्जनवृन्द र साथीहरू,
यो वर्ष विशेष परिस्थितिमा बोआओको वार्षिक सम्मेलन भइरहेको छ । सम्मेलनको मूल नारा ‘परिवर्तन हुँदै विश्वः विश्वव्यापी शासन प्रभावकारी बनाउन र बेल्ट एन्ड रोड सहकार्य अघि बढाउन हातेमालो गरौँ’, आजको परिस्थितिमा निकै उपयुक्त र सान्दर्भिक छ ।
आज, शताब्दीमै नदेखिएका परिस्थिति र महामारीको साझा शक्तिले संसारलाई तरलता र रूपान्तरणको चरणमा पु¥याएको छ । अस्थिरता र अनिश्चय प्रस्ट देखिएको छ । मानव जातिमा शासनको अभाव, विश्वासको कमी, विकासको अपर्याप्तता र शान्तिको खाँचो बढ्दै गएको छ । विश्वव्यापी सुरक्षा र साझा विकासको लागि अझ धेरै काम गर्न बाँकी नै छ । त्यसको अर्थ आज बहुधु्रवीय विश्वतिर उन्मुख कुनै आधारभूत परिवर्तन हुनसकेको छैन । आर्थिक भूमण्डलीकरणले नयाँ खालको चुनौती सामना गरिरहेको छ । बहुपक्षवाद प्रवद्र्धन गर्ने र आपसी संवाद तथा सहकार्य बलियो बनाउने आवाज अझ बलियो बन्दै छ । हामी चुनौतीले भरिएको युगमा बाँचेका छौँ । त्यसै कारण यो युग आशाले भरिपूर्ण युग पनि हो ।
मानव समाज अब कता जानुपर्छ ? भावी पुस्ताको लागि हामीले कस्तो भविष्य बनाउनुपर्छ ? यी प्रश्नहरूको उत्तर खोज्दै गर्दा हामीले मानव जातिको साझा हितलाई ध्यानमा राखी जिम्मेवार र बुद्धिमत्तापूृर्ण बाटो छान्नुपर्छ ।
एसिया र बाँकी विश्वलाई यो समयको आह्वान सम्बोधन गर्न, ऐक्यबद्धताबाट महामारीलाई पराजित गर्न, विश्वव्यापी शासन बलियो बनाउन र मानव जातिको साझा भविष्यको समुदाय बनाउन चीन आह्वान गर्न चाहन्छ ।

साझा हितकारी भविष्यको लागि समान धरातलमा उभिएर सरसल्लाह आवश्यक
विश्व व्यवस्थाले संसारमा अहिले विकास हुँदै गरेको राजनीतिक र आर्थिक परिस्थितिको प्रतिनिधित्व गर्नुपर्छ । त्यसले शान्ति, विकास र सर्वहितकारी सहकार्यको ऐतिहासिक प्रवाहलाई अनुमोदन गर्नुपर्छ । अनि संसारले आज सामना गरिरहेका चुनौतीको व्यवहारिक समाधान देखाउनुपर्छ । हामीले विस्तृत संवाद, संयुक्त योगदान र साझा हितको सिद्धान्त पछ्याउनुपर्छ । वास्तविक बहुपक्षतावादलाई व्यवहारमा लागु गर्नुपर्छ र विश्व शासन प्रणालीलाई न्यायपूर्ण र समतामूलक बनाउनुपर्छ । हामीले संयुक्त राष्ट्र सङ्घमा केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको रक्षा गर्नुपर्छ । अन्तर्राष्ट्रिय कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको सुरक्षा गर्नुका साथै विश्व व्यापार सङ्गठनलाई केन्द्रमा राखेर बहुपक्षीय व्यापार प्रणालीलाई जोड दिनुपर्छ । विश्वका विभिन्न मामिला विस्तृत सरसल्लाहबाट समाधान गरिनुपर्छ र सबै देश मिलेर भविष्यको निक्र्योल खोजिनुपर्छ । एक–दुई वटा देश मिलेर बनाइएका नियमहरू बाँकी देशमा थोपर्न मिल्दैन अथवा सिङ्गो संसारको गति निर्धारण गर्न निश्चित देशको एकपक्षतावाद लागु गर्न दिइनु हुन्न । आजको संसारको खाँचो भनेको न्याय हो, प्रभुत्ववाद होइन । ठुला देशले आफ्नो उचाइअनुसार उपयुक्त व्यवहार गर्नुपर्छ र ठुलो जिम्मेवारी लिन तयार हुनुपर्छ ।
भविष्यमा विकास र समृद्धिको लागि खुलापन र अनुसन्धानको आवश्यकता
विकास र प्रगतिको लागि खुलापन अपरिहार्य छ । कोभिड–१९ पछिको आर्थिक पुनःस्थापनाको निम्ति पनि यसको अहम् स्थान रहनेछ । खुला विश्व अर्थतन्त्र बनाउने ध्येयका साथ हामीले व्यापार र लगानीमा उदारता र सहजीकरणलाई प्रवद्र्धन गर्नुपर्छ, क्षेत्रीय आर्थिक सहकार्यलाई अझ सघन बनाउनुपर्छ र आपूर्ति, औद्योगिक, तथ्याङ्क तथा मानवीय स्रोतको प्रणालीलाई बलियो बनाउनुपर्छ । हामीले कनेक्टिभिटीको लागि साझेदारी र आर्थिक गतिविधिका नसाहरूलाई जम्न नदिन पूर्णाधारको सम्बन्धलाई अझ गहिरो बनाउनुपर्छ । वैज्ञानिक तथा प्राविधिक क्रान्ति एवम् औद्योगिक रूपान्तरणको लागि ऐतिहासिक अवसरहरू हामीले छोप्नुपर्छ । विद्युत्तीय अर्थतन्त्रको प्रवद्र्धन गर्नुपर्छ । कृत्रिम बौद्धिकता, जैविक औषधि र आधुनिक उर्जालगायत विभिन्न क्षेत्रमा सहकार्य र आपसी आदानप्रदानतर्फ अघि बढाउनुपर्छ । ता कि वैज्ञानिक तथा प्राविधिक अनुसन्धानको फलबाट सबै देशका जनताको कल्याण हुन सकोस् । आर्थिक भूमण्डलीकरणको आजको युगामा खुलापन र एकता कसैले रोक्नै नसक्ने ऐतिहासिक प्रवाह हो । ‘पर्खाल बनाउनु’ वा ‘विखण्डन’ गर्नु अर्थतन्त्रको नियम र बजारको सिद्धान्तको विपरीत बाटोमा हिँड्नु हो । त्यसले अरूको हानी पु¥याउनेछ तर कसैको पनि हित गर्नेछैन ।
भविष्यको स्वास्थ्य र सुरक्षाको लागि ऐक्यबद्धता र सहकार्यको आवश्यकता
कोभिड–१९ विरुद्धको चालु लडाइँमा अन्ततः विजय हाम्रै हुनेछ । हामीले जनता र जनताको जीवनलाई अरू कुनै पनि कुरालाई भन्दा प्राथमिकतामा राख्नुपर्छ । हामीले सूचना आदानप्रदान गर्ने, सामूहिक प्रयास अघि बढाउने, जनस्वास्थ्य र चिकित्सकीय सहकार्य विस्तार गर्ने तथा विश्व स्वास्थ्य सङ्गठनलाई केन्द्रीय भूमिका खेल्न दिनुपर्छ । हामीले खोपको अनुसन्धान र विकास, उत्पादन र वितरणमा अन्तर्राष्ट्रिय सहकार्यलाई जोड दिँदै विकासशील देशहरूको खोपमा पहुँच र किन्ने क्षमता बढाउनुपर्छ । त्यसले मात्र संसारका सबैले खोपमा आफ्नो पहुँच विस्तार गर्नुका साथै खरिद गर्ने क्षमता पनि राख्नेछन् । जनस्वास्थ्य सुरक्षामा विश्व शासनमा सुधार गर्न हामीले विस्तृत कदम चाल्नु पनि महत्वपूर्ण छ । सबैलाई स्वास्थ्य सेवा भएको विश्व समुदायको निम्ति हामीले सहकार्य गर्नुपर्छ । हामीले हरित विकासको दर्शन पछ्याउनुपर्छ । जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय सहकार्य गर्नुुका साथै जलवायु परिवर्तनबारे पेरिस सम्झौताको कार्यान्वयनको लागि थप काम गर्नुपर्छ । साझा तथा भिन्नभिन्न जिम्मेवारीको सिद्धान्तलाई पछ्याउनुपर्छ । पुँजी, प्रविधि र क्षमता विकासमा विकासशील देशका खाँचोलाई सम्बोधन गरिनुपर्छ ।
आपसी सम्मान र आपसी सिकाइको भविष्य बनाउन न्यायप्रति प्रतिबद्धता
हाम्रो संसार विविधताले भरिपूर्ण छ । त्यही विविधताले मानव सभ्यतालाई आकर्षक बनाएको छ । कोभिड–१९ महामारीले संसारभरका मानिसलाई शीतयुद्ध वा सर्वहानिकारक मानसिकता त्याग्नुपर्छ भन्ने कुरा अझ प्रस्ट बनाएको छ । हामीले जस्तोसुकै रङको नयाँ ‘शीतयुद्ध’ र वैचारिक द्वन्द्वको विरोध गर्नुपर्छ । देश–देशबीचको सम्बन्धमा समानता, आपसी सम्मान र आपसी विश्वासमा आधारित सिद्धान्त नै अग्रपङ्क्ति र केन्द्रमा राख्नुपर्छ । अरूमाथि हावी हुने वा अरूका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कामको लागि कसैको समर्थन हुने छैन । हामीले शान्ति, विकास, समता, न्याय, लोकतन्त्र र स्वतन्त्रताको पक्षधरता लिनुपर्छ । यी सबै मानव जातिका साझा मूल्य–मान्यता हुन् । त्यसले मानव सभ्यताको प्रवद्र्धनको लागि सभ्यताहरूबीच आपसमा सिक्न र सम्बन्ध बलियो बनाउन मद्दत गर्छ ।
यो सन्दर्भमा म यहाँ घोषणा गर्न चाहन्छु, महामारी समाप्त भएसँगै चीनले एसियाली सभ्यताबीच दोस्रो संवाद सम्मेलन आयोजना गर्ने छ । एसिया र बाँकी संसारका सभ्यताहरूबीच संवाद गर्ने हाम्रो सक्रिय प्रयासअन्तर्गत सो सम्मेलनको आयोजना गरिनेछ ।
मैले धेरै अवसरमा भनेको छु, बेल्ट एन्ड रोड परियोजना सबैको लागि खुला मार्ग हो । यो कुनै एउटा पक्षको निजी मार्ग होइन । यो सहकार्यमा सहभागी बन्न र आफ्नो हित गर्न सबै उत्सुक देशहरूलाई हार्दिक स्वागत छ । बेल्ट एन्ड रोड सहकार्यले विकास गर्छ, आपसी हित यसको लक्ष्य हो र यसले आशाको सन्देश प्रवाह गर्छ । आगामी दिनमा हामीले उच्चस्तरको बेल्ट एन्ड रोड सहकार्यअन्तर्गत अरू देश र पक्षसँग सहकार्यलाई निरन्तरता दिनेछौँ । हामीले विस्तृत सरसल्लाह, संयुक्त योगदान र सबैलाई हित हुने सिद्धान्त पछ्याउनेछौँ । त्यस्तै खुला, हरित र स्वस्थ सहकार्यको दर्शनलाई अघि बढाउनेछौँ । बेल्ट एन्ड रोड सहकार्यलाई उच्चस्तरीय जनकेन्द्रित र दिगो बनाउन यी सबै कदम चालिनेछन् ।
स्वास्थ्य सहकार्यको लागि निकटको साझेदारी
चिनियाँ व्यापारीहरूले इन्डोनेसिया, ब्राजिल, संयुक्त अरब इमिरेट्स, मलेसिया, पाकिस्तान र टर्की आदि बीआरआईमा सहभागी बनेका देशहरूसँग खोपको संयुक्त उत्पादन गर्न प्रयास थालिसकेको छ । विभिन्न सङ्क्रामक रोग, जनस्वास्थ्य, परम्परागत चिकित्सा र अन्य विभिन्न क्षेत्रमा विभिन्न पक्षसँग सहकार्य विस्तार गर्नेछौँ । त्यसो गर्नुको मूल लक्ष्य भने सबै देशका जनताको जीवन र स्वास्थ्यको रक्षा गर्नु हुनेछ ।
कनेक्टिभिटीको लागि निकटको साझेदारी
पूर्वाधारमा ‘मूर्त कनेक्टिभिटी’ (हार्ड कनेक्टिभिटी) र नियम तथा गुणस्तरको ‘नरम कनेक्टिभिटी (सफ्ट कनेक्टिभिटी) प्रवद्र्धन गर्न चीनले सबै पक्षसँग काम गर्नेछ । व्यापार र लगानी सहकार्यमा कुनै अवरोध नआउने सुनिश्चित गर्नेछ । एकीकृत विकासको उज्यालो ढोका खोल्न रेशममार्ग ई–कमर्सको विकासमा सक्रियतापूर्वक लाग्नेछ ।
हरित विकासको लागि निकटको साझेदारी
हरित पूर्वाधार, हरित ऊर्जा, हरित वित्त प्रवद्र्धनमा हामीले सहकार्य गर्न सक्छौँ । बीआरआई अन्तर्राष्ट्रिय हरित विकास मोर्चा, बेल्ट एन्ड रोड विकासको लागि हरित लगानी सिद्धान्त तथा अन्य बहुपक्षीय सहकार्य मञ्चलाई अघि बढाएर बेल्ट एन्ड रोड सहकार्यमा वातावरणको पक्षलाई एउटा पारिभाषिक विशेषता बनाउन चाहन्छौँ ।
खुलापन र समावेशिताको लागि निकटको साझेदारी
विश्व बैङ्कको प्रतिवेदनअनुसार आगामी सन् २०३० भित्र बेल्ट एन्ड रोड परियोजनाले संसारमा ७६ लाख मानिसलाई चरम गरिबीबाट र ३ करोड २० लाख मानिसलाई मध्यम खालको गरिबीबाट उकास्नेछ । बीआरआईलाई गरिबी उन्मूलन र आर्थिक विकासको बाटोको रूपमा सबै उत्सुक सहभागीहरूसँग खुलापन र समावेशिताको भावनाअनुसार काम गर्नेछौँ । यसले मानव जातिको साझा समृद्धिको लागि सकारात्मक योगदान गर्नेछ ।
यो वर्ष सन् २०२१ चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी हो । बितेको शताब्दीमा सबै खालका प्रतिकुलता छिचोल्दै चिनियाँ जनताको खुसी, चिनियाँ राष्ट्रको पुनःजागरण र संसारको साझा हितको लागि चिनियाँ कम्युनिस्ट पार्टीले काम ग¥यो । फलतः चीनले ठुलो रूपान्तरण हासिल ग¥यो । यसबीच चीन राम्ररी उभिएबाट आज धनी बनेको छ । चीन हिजोभन्दा बलियो भएको छ । त्यही भएर चीनले मानव सभ्यता र प्रगतिमा उल्लेखनीय योगदान गरेको छ । चीनले विश्वशान्ति स्थापना, विश्वव्यापी विकास र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षाको लागि आफ्नो भागमा परेको भूमिका निर्वाह गर्नेछ ।
चीन शान्ति, विकास, सहकार्य र आपसी हितमा प्रतिबद्ध रहनेछ । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा चीन अरू देशसँग मित्रता र सहकार्य विकास गर्न तथा नयाँ खालको अन्तर्राष्ट्रिय सम्बन्धको लागि प्रतिबद्ध छ । चीन विश्व स्वास्थ्य सङ्गठन र अन्य देशहरूसँग कोभिडप्रतिरोधी सहकार्य गर्न, खोपलाई विश्वव्यापी सार्वजनिक वस्तु बनाउन र भाइरसलाई पराजित गर्न विकासशील देशहरूलाई सहयोग गर्न अझ धेरै काम गर्न तयार छ । जतिसुकै बलियो भए पनि चीनले कहिल्यै पनि प्रभुत्ववाद, विस्तारवाद अथवा आफ्नो प्रभाव क्षेत्र खोज्ने छैन । न चीन कुनै हतियारको दौडमा लाग्नेछ । चीन व्यापार र लगानीमा बहुपक्षीय सहकार्यमा सक्रिय भाग लिन्छ । विदेशी लगानी कानुन र त्यसका सहायक नियम र नियमावलीको पूर्ण कार्यान्वयन गर्नेछ । विदेशी लगानीका नकारात्मक पक्षमा थप कटौती गर्नेछ । हाइनान खुला व्यापार बन्दरगाहको विकासलाई चालु राख्नेछ । उच्चस्तरको खुला अर्थतन्त्रको लागि नयाँ प्रणाली विकास गर्नेछ । चिनियाँ बजारको विशाल अवसर उपभोग गर्न सबैलाई स्वागत छ ।
‘समर यात्राका सहयात्री हामी । हामी समुद्री आँधीलाई पछार्न सक्छौँ । समुद्री लहरलाई तोड्न सक्छौँ । हजारौँ माइलको यात्रा हामी साहसका साथ पार गर्न सक्छौँ ।’ हामीले ठुलठुला समुद्री लहरहरूको सामना गर्नेछौँ । खतरनाक आँधी झेल्नेछौँ । तर, जबसम्म हामी सक्रिय हुन्छौँ र हाम्रो दिशा सही हुनेछ, मानव विकासको यो विशाल जहाज लगातार उज्यालो भविष्यतिर अघि बढिरहनेछ ।
धन्यवाद !
नेपाली अनुवाद: सुशिला
Leave a Reply