भर्खरै :

सिंहदरबारभित्र क्वारेन्टिन बनाउनुपर्ने स्थिति आउने

काठमाडौँ, ९ वैशाख । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा कोभिड–१९ महामारीको दोस्रो लहर रोकथामबारे छलफल भयो ।
छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतसँगको खुला सीमा हुँदा नेपालमा भारतीय सीमा अतिक्रमण बढेको, एक अर्को देशमा अपराधी लुक्ने, सीमा तस्कर भइरहेको र नेपाली चेलीबेटी बेचबिखन बढेको उल्लेख गर्दै खुला सीमाकै कारण गत वर्षदेखि नेपालमा कोभिड–सङ्क्रमणसमेत भएको तर्फ सचेत भई दुई देशको हितको निम्ति नेपाल–भारत खुला सीमा बन्द गर्नुपर्ने औँल्याउनुभयो ।
भारतमा कोभिड–१९ सङ्क्रमण बढेको र भारतबाट दैनिक १० हजार मानिस नेपाल प्रवेश भइरहेकोले स्वयम्सेवक व्यवस्था गरी परीक्षण र क्वारेन्टिनलाई प्रभावकारी बनाउनेतर्फ सांसद सुवालले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “सन् २०११ देखि भारतमा गरिबी गणना गरिएको छैन । संयुक्त राष्ट्र सङ्घले सन् २०१९ मा ३६ करोड ४० लाख भारतीय जनता गरिबी (दैनिक दुई अ‍ेमेरिकी डलरभन्दा कम आय भएका) रेखामुनि रहेको अनुमान गरेको थियो । कोभिड–१९ सङ्क्रमणको कारण १३ करोड ४० लाख भारतीय थप गरिबी रेखामुनि परेका छन् । भारतमा भेन्टिलेटर र अक्सिजनको अभाव छ । नेपालले भुक्तानी दिएको रकमको समेत भारतबाट खोप आउने सम्भावना कम छ । यसकारण नेपालले चीनबाट थप खोप ल्याउनु जरुरी छ ।”
भारतमा सङ्क्रमितको सङ्ख्या वैशाख ८ गतेको २४ घण्टामा ३ लाख १६ हजार थपिएको र यही गतिमा सङ्क्रमण बढे दुई महिनापछि दैनिक दोब्बर सङ्ख्यामा सङ्क्रमित वृद्धि हुने अनुमान गरिएको उल्लेख गर्दै उहाँले नेपालमा पनि दैनिक २–३ हजार सङ्क्रमित बढिरहेको र नेपालमा अक्सिजन र भेन्टिलेटर उत्पादन नभएको हुँदा सिंहदरबार क्षेत्र नै क्वारेन्टिन बनाउनुपर्ने स्थिति आउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु भनी अपिल गरे पनि सहरमा भीड यथावत छ ।
शैक्षिक संस्थाहरूमा विद्यार्थीको उपस्थिति नभए पनि उद्योग र व्यापारिक क्षेत्रमा उपस्थिति यथावत छ । विमानस्थलमा पनि भीडभाड छ”, सांसद सुवालले बताउनुभयो ।
कोभिड–१९ सङ्क्रमित बिरामी चितवन अस्पतालमा भरिएको र टेकु अस्पतालमा पनि शैय्या रिक्त नभएको उल्लेख गर्दै उहाँले स्वास्थ्य मन्त्रालयले खरिद गरेको अर्बौं रुपैयाँको स्वास्थ्य सामग्रीको पोका नै नखोलिएको र वीर अस्पतालमा खरिद गरिएको मेसिन प्रयोग नगरी बिगारिएको बारे एउटा अध्ययन टोली गठन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“भारतका ‘योग गुरु’ रामदेवले तोरीको तेल नाकमा राखे कोभिड–१९ को भाइरस समाप्त हुने बताएको सत्य होइन”, सांसद सुवालले भन्नुभयो ।
उहाँले सरकारलाई नै समितिको निर्देशनमा बजेटको व्यवस्था गर्न निर्देशन दिनुपर्ने र महामारी रोक्न जनतालाई आवश्यकतानुसारको मास्क निःशुल्क वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कोभिड–१९ उहानमा देखिएपछि चीनले इमानदारीपूर्वक सार्वजनिक गरेको, त्यसभन्दा अघि संरा अमेरिकाले हवाई, क्यालिफोर्नियालगायत सहरमा देखापर्दा सामान्य रुघाखोकी भनी ढाकछोप गर्दा त्यहाँका अधिकांश सहरमा फैलिएको उल्लेख गर्दै सांसद सुवालले सैनिक खेलकुदमा भाग लिन गएका अमेरिकीहरूले नै उहानमा कोभिड–१९ भाइरस फैलाएको बताउनुभयो ।
कोभिड–१९ रोकथामको लागि चीनको अनुभव सफल भएको हुँदा नेपालले पनि चीनबाट सिक्नुपर्नेमा जोड दिँदै उहाँले नेपालमा स्वाब परीक्षणको नक्कली नतिजा ९–९ हजार रुपैयाँमा बिक्री गरिएको बारे सरकारबाट स्पष्टीकरण आउनुपर्ने उल्लेख गर्नुभयो ।
चीनमा देखिएको कोभिड–१९ भाइरसको रोकथाममा चीन उदाहरणीय भएको उल्लेख गर्दै सांसद सुवालले बेलायती, अफ्रिकी, ब्राजिली प्रजातिको दोस्रो लहरको कोभिड–१९ भाइरस युवा र बच्चाहरूमा बढी देखिएको बताउनुभयो ।
उहाँले छोटो समयमा कोभिड–१९ सङ्क्रमित बिरामीबाट अस्पतालहरूको शैय्या भरिएको उल्लेख गर्दै भारतसँगको खुला सीमाकै कारण कोभिड–१९ को पहिलो लहर नेपालमा बढेको र अहिले पनि सीमामा त्यस्तै अवस्था भएको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “भारतले नेपालतर्फको अक्सिजन आपूर्ति अनौपचारिकरूपमा बन्द गरेको छ । आगामी मे महिनासम्म भारतबाट आउने अक्सिजन बन्द हुने देखिन्छ । देशभरि नै सङ्क्रमितको सम्पर्क पहिचान उत्साहप्रद छैन ।”
गृहमन्त्रालयका सहसचिवले खुला सीमा व्यवस्थित गर्न क्वारेन्टिनको जरुरी रहेको उल्लेख गर्दै बिनामास्क हिँड्डुल गर्नेलाई रु. १०० जरिवाना गर्ने कानुनी व्यवस्था भएको, सडक र पुल निर्माणभन्दा सरकारको प्राथमिकता ज्यान बचाउनेतर्फ हुनुपर्ने औँल्याउनुभयो ।
सांसदहरू दिलेन्द्र बडु, यसोदा सुवेदी, मीना पाण्डे, नवराज सिलवाल, रेखा शर्माले बैठकमा स्वास्थ्यमन्त्री र गृहमन्त्रीको अनुपस्थिति भएकोमा असन्तुष्टी जनाउनुभयो ।
सभापति शशी श्रेष्ठले बैठकबारे सूचना गर्न खोज्दा गृहमन्त्री थापाको फोन नउठेको र मोबाइलमा सूचना पठाउँदा पनि जवाफ नआएको उल्लेख गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कुनै सभा–बैठकमा उपस्थित नहुने खबर पठाएको जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *