सभ्यताको बग्दो ऐना
- श्रावण १, २०८३
चर्चित सोभियत लेखक तथा साहित्यकार अलेक्जेन्डर फादेएभले सोभियत सर्वोच्च नेता जोसेफ स्तालिनको प्रशंसा पाउनुका साथै स्तालिन पुरस्कार (प्रथम दर्जा) पाए । उनले सोभियत सङ्घको सबभन्दा ठुलो पदक ‘लेनिन’ पदक दुई पटक पाए । त्यस्तै उनको प्रशंसा विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता माओ त्सेतुङ्गसमेतले गरेका थिए । उनले सन् १९५६ मे १३ मा ५५ वर्षको उमेरमा छातीमा गोली हानी आत्महत्या गरे ।
अलेक्जेन्डर फादेएभ सन् १९०१ डिसेम्बर २४ मा रुसको क्रिमी भन्ने ठाउँमा जन्मेका थिए । क्रिमी त्यसबेला ट्वेर प्रान्तमा पर्दथ्यो भने अहिले कालिनिन क्षेत्रमा पर्दछ । फादेएभका पिता एक साधारण कृषक र गाउँका एक शिक्षक थिए भने उनकी आमा एक स्वास्थ्यसेविका थिइन् ।
अलेक्जेन्डर फादेएभका मातापिता र उनका नजिकका नातेदारहरू जार शासनको विरोधी थिए । यसैकारण उनीहरू जार शासकहरूबाट पीडित थिए । फादेएभको बाल्यकाल रुसको सुदूरपूर्वी छुगुएभ्कामा बितेको थियो । छुगुएभ्को सुदूरपूर्वी इलाका जापानको नजिक पर्दछ । जापानसँग रुसको बेलाबखत स–साना झै–झगडा र युद्धहरू भइरहन्थे । द्वितीय विश्वयुद्धपछि नाजी हिटलर सैनिकले आत्मसमर्पण गरे । त्यस्तै अमेरिकी आणविक बम–बिस्फोटपछि जापानले पनि आत्मसमर्पण ग¥यो । तर, जापान र रुसबीच आजसम्म पनि शान्ति सम्झौता भइसकेको छैन । आज पनि जापान र रुस युद्ध अवस्थामा नै छन् भने पनि हुन्छ ।
आफ्नो युवावस्था युरल पहाडको पूर्वी साइबेरियामा बिताएका रुसी लेखक फादेएभले भ्लादिभोस्तोकमा स्कूल शिक्षा पाएका थिए ।
सन् १९१८ मा सोभियत समाजवादी क्रान्तिपछि अलेक्जेन्डरले सोभियत कम्युनिस्ट पार्टीमा प्रवेश पाएका थिए भने तत्कालीन जार शासक समर्पित श्वेत आर्मी र जापानी आक्रमणकारीहरूविरुद्ध भइरहेको युद्धमा उनी सहभागी भए । यही युद्धको अनुभवको आधारमा उनले आफ्नो प्रशंसित उपन्यास ‘राजग्रोम’ (पराजय) लेखेका थिए । जापानी सेना र रुसी श्वेत सेनाको चेपुवामा परेका सोभियत लडाकुहरूबारे लेखिएको उक्त उपन्यासले धेरै प्रशंसा पायो– सोभियत सङ्घ भित्र र सोभियत सङ्घ बाहिर पनि विशेष गरेर जनगणतन्त्र चीनमा ।
सयौँ लडाकुहरूको मृत्यु भए र उन्नाइस जना योद्धाहरूमात्र सफलतापूर्वक आफ्ना शत्रुहरूको घेराबाट भाग्न सफल भए । ‘राजग्रोम’ उपन्यासमा त्यस युद्धमा सोभियत युवा लडाकुहरूले देखाएको साहस र आफ्नो कर्तव्यप्रति दृढ आस्था भएका वीर सोभियत योद्धाहरूको विस्तृत विश्लेषण गरिएको छ ।
फादेएभको अर्को चर्चित र अति प्रख्यात उपन्यास हो– ‘मलाडाया ग्वार्दिया’, मलाडाया ग्वार्दियाको मतलब ‘युवा रक्षकहरू’ हो, अङ्ग्रेजीमा ‘द योङ्ग गार्ड’ हो । ‘मलाडाया ग्वार्दिया’ द्वितीय विश्वयुद्धपछि सन् १९४६ मा प्रकाशित उपन्यास हो । केही संशोधन र परिमार्जनसहित सन् १९५१ मा यसको दोस्रो प्रकाशन निस्केको थियो ।
‘मलाडाया ग्वार्दिया’ को संशोधित पहिलो संस्करणबारे धेरै आलोचना भयो । सोभियत कम्युनिस्ट नेताहरूको असन्तुष्टि र दबाबमा दोस्रो संस्करण निकालियो ।
प्रथम संस्करणमा कम्युनिस्ट नेताहरूको असन्तुष्टि उक्त ‘मलाडाया ग्वार्दिया’ मा सोभियत कम्युनिस्ट पार्टीको निर्णायक भूमिकामाथि न्याय भएन भन्ने कुरा थियो ।
‘द योङ्ग गार्ड’ उपन्यास दोस्रो विश्वयुद्ध भइरहँदा जर्मन फौजले कब्जामा लिइसकेको उक्राइनाको कम्युनिस्ट गुरिल्ला–योद्धाहरूको सङ्घर्षमा आधारित थियो ।
सुरुमा ‘मलाडाया ग्वार्दिया’ को धेरै प्रशंसा भयो । सोभियत सङ्घको हरेक तह र समुदायमा यस उपन्यासको आधारमा फिल्म पनि बनाइयो । मैले पनि पटकपटक रुसी र उक्राइनाको सिनेमा हलमा यो चलचित्र हेरेको थिएँ ।
उक्त भूमिगत युद्धमा कम्युनिस्ट पार्टीको योगदानको बारेमा कुनै विस्तृत बयान नभएको कारण सन् १९५१ मा दोस्रो संशोधित संस्करण निकालिएको थियो ।
अलेक्जेन्डर फादेएभको साहित्यिक कृति र रचनाहरूमा सोभियत लेखकहरू म्याक्सिम गोर्की र लिओ निकोलाई टोल्स्टोइ (लिओ टल्स्टोइ होइन) को राम्रो प्रभाव परेको देखिन्छ । फादेएभका साहित्यिक उपन्यासमा विश्व जनमानसमा समाजवादी क्रान्तिको मनोविज्ञान राम्ररी स्पष्ट ढङ्गमा प्रस्तुत भएको भनिन्छ ।
पछि, अलेक्जेन्डर फादेएभ सोभियत लेखक सङ्घमा प्रवेश गरेपछि उनले साहित्यिक उपन्यासहरू लेख्न कम गरे र बढी समय सोभियत लेखकहरूको सङ्गठनमा खर्च गरे ।
सन् १९४६ मा फादेएभ सोभियत लेखक सङ्घको महासचिव निर्वाचित भएका थिए । सन् १९५४ सम्म उनी उक्त पदमा कार्यरत रहे । सन् १९५४ मा जब सोभियत नेता जोसेफ स्तालिनको मृत्यु भयो । फादेएभले “स्तालिन विश्वकै एक महामानव हुन् ” भनी प्रशंसा गरे । तर, स्तालिनको मृत्युपश्चात् सोभियत सत्तामा आएका नेता निकिता ख्रुश्चेभले स्तालिन विरुद्ध एकपछि अर्को गर्दै कदमहरू चाल्दै गए । अलेक्जेन्डर फादेएभको जीवनमा पनि प्रतिकूल प्रभाव पर्दै गयो र सन् १९५६ मा उनले छातीमा गाली हानी आत्महत्या गरे ।
रुसी र सोभियत साहित्य जगतमा धेरै लेखक कलाकार र साहित्यकारहरूको यसरी अकालमा मृत्यु भएका दुःखद घटनाहरू भए ।
रुसी साहित्यका पिता कहलिएका महान् साहित्यकार अलेक्जेन्डर पुश्कीनको मृत्यु एक नियोजित युद्धमा भएको थियो । पुश्कीनपछि उदय भएका अर्का ठुला साहित्यकार लेर्मोन्टाभको पनि त्यस्तै युद्धमा मृत्यु भएको थियो ।
त्यसपछि, सोभियत सङ्घमा समाजवादी क्रान्ति सम्पन्न भइसकेको अवस्थामा भ्लादिमीर मायाकोभ्सकी र सेर्गेई एसेनीनजस्ता विश्व प्रख्यात कविहरूले पनि विभिन्न सामाजिक राजनीतिक कारणहरूको सामना गर्न नसकेर आत्महत्या गरे ।
फादेएभको आत्महत्याका कारण
सन् १९४१ देखि १९४५ सम्म सोभियत सङ्घले हिटलरको फौजसँग लड्दै गर्दा द्वितीय विश्वयुद्धमा फादेएभले एक युद्ध पत्रकारको रूपमा काम गरे । उनको मुख्य काम विभिन्न युद्ध क्षेत्रहरूमा भइरहेको युद्धका समाचारहरू सङ्कलन गरेर सोभियत नेतृत्वको उच्च ओहदामा पु¥याउनु थियो । ‘प्राभ्दा’ पत्रिकाको लागि पनि उनले समाचारहरू उपलब्ध गराउँथे । त्यसै बेला उनले एक पुस्तक पनि लेखे, ‘लेनिनग्राड नाकाबन्दीका दिनहरूमा’ । त्यसैबेला उनले ‘मलाडाया ग्वार्दिया’ उपन्यास लेखेका थिए ।
‘मलाडाया ग्वार्दिया’ उपन्यास मुख्यतया हिटलर सेनाले आफ्नो कब्जामा राखेको उक्राइनी सहर ‘क्रास्नाडोन’ मा सोभियत युवाहरूको भूमिगत एक दस्ताले भित्रभित्रै शत्रु सेनासँग सन् १९४२–४३ मा गुरिल्ला युद्ध मच्चाइरहेको बारेमा लेखिएको थियो । तर, त्यो उपन्यास त्यस गुरिल्ला युद्धको सैनिक गतिविधिमा मात्र सीमित नभइकन त्यसबेला सोभियत सङ्घले हिटलरी सेनासँग गरिरहेको सङ्घर्षमा सोभियत जनशक्तिको उच्चतम सहभागिता र मनोविज्ञान पनि एक सशक्त शक्तिको रूपमा चित्रण गरिएको थियो ।
म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यास विश्व प्रसिद्ध छ । यस उपन्यासले पनि सोभियत जनतामा फासीवाद हिटलरको सेनासँग लड्न उच्च मनोबल प्रदान गरेको थियो । सोभियत सङ्घले आफ्नो घरदैलोसम्म आइसकेको हिटलरको सेनालाई आश्चर्यजनकरूपमा खेल्दै, लखेट्दै पूरा युरोपबाट भगाएर जर्मनीसम्म धपाउन सफल हुनुमा सोभियत जनताको असीम देशभक्ति भावना, त्याग र तपस्या पनि निहित थियो । जनतामा यस्तो देशप्रेमको भावना जगाउनमा गोर्की र फादेएभजस्ता लेखक साहित्यकारहरूको ठुलो भूमिका थियो ।
तर, सन् १९५४ मा स्तालिनको मृत्युपश्चात् स्तालिनको अपहेलना हुँदै जाँदा साहित्यकार फादेएभको मनमा ठुलो चोट पुग्न गयो र आफ्नो आन्तरिक वेदना भुलाउन उनले अत्यधिक मदिरा सेवन गर्न थाले । यसले फादेएभको नर्भस सिस्टममा नराम्रो असर पर्न गयो । धेरैको भनाइअनुसार फादेएभको यो स्थिति उत्पन्न हुनुको मुख्य कारण स्तालिनको मृत्युपश्चात् सोभियत सत्तामा आएका निकिता ख्रुश्चेभले स्तालिनप्रति देखाएको अपमानजनक व्यवहार नै हो । अन्तमा, फादेएभले आफूले आफूलाई छातीमा गोली हानी आफ्नो घर पेरेजेल्निको भन्ने ठाउँमा आत्महत्या गरे ।
Leave a Reply