भर्खरै :

युरोप हिँडेका १३० जना आप्रवासी लिबियाली तटीय जलक्षेत्रमा डुबेको आशङ्का

कायरो, २५ अप्रिल (एपी) । युरोपतर्फ हिँडेका १०० भन्दा बढी आप्रवासीहरू लिबियाको तटीय जलक्षेत्रमा डुबेको स्वतन्त्र उद्धार समूह तथा राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीले बताएका छन् । आजभोलि मौसम केही न्यानो भएकोले आप्रवासीहरू भूमध्यसागर पार गरेर अवैधरूपमा युरोपतर्फ प्रस्थान गर्ने गर्दछन् । मानवीय सहायता संस्थाहरूले आप्रवासीको जीवन रक्षा गर्न लिबियाली तटीय रक्षक र युरोपेली अधिकारीहरू अक्षम रहेको आरोप लगाएका छन् । एक जना लिबियाली तट रक्षक अधिकारीले आफूहरूले डुङ्गाको खोजी गरेको तर सीमित स्रोतसाधनका कारण सम्भव नभएको प्रतिक्रिया दिनुभएको छ ।
ओसन भाइकिङ नामको उद्धार जहाज चलाउने एसओएस मेडिटेरिनीले बिहीबार करिब १३० जना सवार डुबेको रबर डुङ्गा लिबियाको राजधानी त्रिपोलीको उत्तरपूर्वी भूमध्यसागरमा देखा परेको जनाएको छ । उद्धारकर्ताहरूले दुर्घटना भएको ठाउँमा १० जनाको शवबाहेक अरू कसैलाई पनि भेट्टाउन सकेका थिएनन् ।
समुद्रमा जोखिमपूर्ण यात्रा गर्ने आप्रवासीलाई जोगाउन युरोपेली युनियनका मुलुकहरू र लिबियामध्ये को बढी जिम्मेवार हुनुपर्ला भन्ने यस घटनाले प्रश्न उब्जाएको छ । एसएसओएसका अनुसार यसै वर्ष ३५० जना भूमध्यसागरमा डुबिसकेका छन् । उक्त संस्थाले समुद्रमा खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारहरू असफल रहेको आरोप लगाएको छ ।
सन् २०११ देखि नेटो समर्थित आन्दोलनबाट लिबियाली नेता मोउमर गद्दाफीको मृत्यु भएपछि लिबियाको जलक्षेत्रबाट ठूलो सङ्ख्यामा द्वन्द्वग्रस्त अफ्रिकी र मध्यपूर्वका मुलुकका आप्रवासीहरू युरोप प्रवेश गर्न थालेका छन् । मानव तस्करहरूले कमजोर डुङ्गामा चढाएर आप्रवासीलाई भूमध्यसागर पार गराउने जिम्मा लिने गरेका छन् । त्यसक्रममा डुङ्गाहरू बीचमै डुब्ने गरेपछि बर्सेनि सयौँको मृत्यु हुने गरेको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले पनि यसै वर्ष सन् २०२१ को सुरुदेखि हालसम्म ३०० भन्दा बढी व्यक्ति भूमध्यसागरमा डुबेको जनाएको छ । हालैका वर्षहरूमा युरोपेली युनियनले लिबियाको तटीय रक्षक र अन्य स्थानीय समूहहरूलाई भूमध्यसागरको कठिन मार्गबाट युरोपतर्फ प्रस्थान गर्न नदिन मद्दत गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *