भर्खरै :

सीमावर्ती सहरहरूमा कोभिडको सङ्क्रमण

सीमावर्ती नेपालगञ्ज सहरमा कोभिड–१९ को सङ्क्रमण भयावह बन्दै गएको छ । नेपालगञ्जको अवस्था झन्डै आज भारतकै विभिन्न सहरकै जस्तो भइरहेको विभिन्न सञ्चारमाध्यमले बताइरहेका छन् । दैनिकजसो कोभिड–१९ सङ्क्रमणको कारण मानिसहरू निधन भइरहेका छन् । बाँके जिल्लाका अस्पतालहरूमा शय्याको अभाव हुन थालेको छ । बढ्दो सङ्क्रमणसँगै त्यहाँ लकडाउनको घोषणा भएको छ । भारतमा अक्सिजनको चरम अभावको कारण नेपालबाट भारततर्फ अक्सिजन निकासी हुन थालेपछि कुनै पनि बेला अक्सिजनको अभाव हुनसक्ने जोखिम बढ्दो छ । नेपालगञ्जजस्तै तराईका विभिन्न ठुला सहरको अवस्था विकराल बन्ने सम्भावना उँचो छ । विशेषतः भारतमा सङ्क्रमण दर बढेसँगै ती सहरमा सङ्क्रमण दर बढ्नुको स्पष्ट कारण खुला सिमाना नै हो । भारतमा बढ्दो सङ्क्रमणसँगै त्यहाँका विभिन्न सहरमा काम गर्न गएका नेपाली जनतामात्र होइन, भारतीय जनतासमेत नेपालमा प्रवेश गर्दा, उनीहरूको उचित स्वास्थ्य परीक्षण नहुँदा, नेपाल भित्रिने व्यक्तिलाई क्वारेन्टिन राख्ने स्रोत–साधन राज्यले व्यवस्थापन नगर्दा आज नेपाली जनताको जीवनमा समेत खेलबाड भइरहेको छ ।
भारतका केही सहरमा सङ्क्रमण दर उच्च भएसँगै सीमा क्षेत्रमा कडा नियन्त्रण गर्न सञ्चारमाध्यम र सचेत नागरिकले नेपाल सरकारलाई सजग बनाएका थिए । तर, सरकारले यसलाई गम्भीरतापूर्वक लिएन । भारतबाट फर्केका मानिसहरूमध्ये कोभिड–१९ का लक्षण भएका मानिसका लागि क्वारेन्टिन र आइसोलेसनसहित उपचारको बन्दोबस्त नगर्दा सङ्क्रमणले सीमावर्ती सहरका गल्ली र बजारसँगै पहाडी क्षेत्र उक्लिने मौका पायो । बाक्लो जनसाङ्ख्यिक आवतजावतको कारण काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेको छ ।
नेपाल–भारत सीमा नियमनको मुद्दा नयाँ होइन । नेपाल र भारतका जनताबीच ‘रोटी– बेटीको नाता’ भएर पनि सार्वभौम र स्वतन्त्र दुई राज्यबीचको राजनीतिक सीमा नियमित हुनुपर्ने मुद्दा धेरै अघिदेखि नै उठ्दै आएको हो । खासमा यसले दुवै देशलाई हित गर्नेछ । तर, शासकहरूको परम्परागत, लघुताभाषी र सङ्कीर्ण सोचको कारण यो विषयलाई सधैँ गलत कोणबाट हेरियो । हिजो चेलीबेटी, मुद्रा, प्राकृतिक स्रोतसाधन, तस्करीमा सीमित खुला सीमा आज कोभिड–१९ को महामारीलाई भयावह बनाउने कारण बनेको छ ।
सङ्क्रमण तराईका जिल्लामा तीव्रगतिमा फैलिनुको अर्को कारण त्यहाँको सहरको अव्यवस्थित अवस्था हो । तराईका अधिकांश सहर र जिल्ला सदरमुकामहरू भद्रगोल छन् । पूर्वाधारको अवस्था कमजोर छ । सामान्य अवस्थामा नै तराईका अधिकांश सहरमा बस्न अस्वस्थ हुने गरेकोमा अहिले कोभिड–१९ जस्तो तीव्रगतिमा फैलिने भाइरसले त्यहाँको त्यो अवस्थालाई प्रयोग गरेको देखिन्छ । तराईका अधिकांश जिल्ला र सहरको जनस्वास्थ्य पूर्वाधार पनि कमजोर छ । त्यहाँको जनसाङ्ख्यिक सघनको सापेक्षमा स्वास्थ्य पूर्वाधार निकै कमजोर हुँदा पनि आज फैलिरहेको महामारीको रोकथाम गर्न राज्यलाई हम्मेहम्मे परेको छ ।
समय सबभन्दा शक्तिशाली शिक्षक हो । समयले सबैलाई धेरै कुरा सिकाएको हुन्छ । समयले सिकाएका पाठलाई गम्भीरतापूर्वक हृदयङ्गम नगर्दा समयले सजाय पनि दिने गर्छ । कोभिड–१९ को पहिलो लहरले हामीलाई कुराको शिक्षा दिएको थियो । तर, न सरकार न नागरिकले नै त्यो शिक्षालाई गम्भीरतापूर्वक लिएको देखियो । परिणाम हामी अर्को ठुलो सङ्कटको मुखमा छौँ । यो सङ्कटको सामना सबैको सहकार्य र सहभावनाले मात्र सम्भव छ । यतिबेला हामीले सिकेका शिक्षा भावी पुस्ताको लागि उपयोगी हुने ढङ्गले सच्याउन राज्यले अग्रसरता लिन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *