भर्खरै :

कर्तव्यच्युत मोदी सरकार र भारतीय जनताको कन्तबिजोग

भारतका चर्चित छाती रोग विशेषज्ञ डा. जलिल पार्करको मुख थकित देखिन्छ । मुम्बईको विख्यात लीलावती अस्पतालको कोभिड–१९ सघन उपचार कक्षमा बिरामीको उपचार गर्दै पार्करले पछिल्लो अवस्थाबारे जानकारी दिन नियमितरूपमा टेलिभिजनमा बोल्ने समय निकालिरहेका छन् । भारतमा फैलिएको महामारीको दोस्रो लहरले हजारौँ भारतीय जनताको ज्यान लिइसकेको छ । गत वर्ष पार्कर आफैको सघन उपचार कक्षमा उपचार गरिएको थियो । कोभिड–१९ का विभिन्न जटिलताको कारण उनी मृत्युको मुखमा परिसकेका थिए । आज उनी आफूले हरेक दिन देखेका दृश्यले आफ्नो धैर्य गुम्दै गएको अनुभव सुनाउँदै छन् ।
“हाम्रो स्वास्थ्य प्रणाली काम नलाग्ने भइसकेको छ । हामीले यो देशमा आफ्नै जनतालाई स्वास्थ्य सेवा दिन सकिरहेका छैनौंँ । जब बिरामी राख्ने पूर्वाधार छैन र उपचार गर्ने सामग्री छैन भने डाक्टरले मात्र गर्ने के ? अस्पतालमा न शय्या छ न अक्सिजन सिलिन्डर छ !”, उनले भने ।
गत अप्रिल २३ तारिख शुक्रबारको दिन भारतमा ३ लाख ३२ हजार ७३० जना व्यक्तिमा कोभिड–१९ सङ्क्रमित पुष्टि भयो । संसारभरमै एकैदिन त्यत्ति ठुलो सङ्ख्यामा मानिसमा कोभिड–१९ को सङ्क्रमण भएको त्यो सबभन्दा ठुलो सङ्ख्या थियो । अघिल्लो दिनको रेकर्डलाई पनि त्यसले तोडेको थियो । कोभिड–१९ महामारी सुरु भएयता भारतमा १ करोड ६० लाखभन्दा बढी मानिसलाई कोभिड–१९ सङ्क्रमण भइसकेको छ । हालसम्म १ लाख ८६ हजार मानिसको निधन भइसकेको छ । भारतमा कोभिड–१९ को कुल सङ्क्रमितको सङ्ख्या संरा अमेरिकापछि सबभन्दा ठुलो हो । भारतमा सङ्क्रमित र मर्नेको दैनिक सङ्ख्याले संरा अमेरिकाको ऊ दिनानुदिन नजिक पुगेको छ । यही अवस्था कायम रहने हो भने यति ठुलो जनसङ्ख्या भएको भारतमा सङ्क्रमित र मर्नेको सङ्ख्याले चाँडै नै संरा अमेरिकालाई पछार्नेछ । सरकारी तथ्याङ्कअनुसार दैनिक २ हजारभन्दा बढी भारतीय जनता कोभिड–१९ को कारण मरिरहेका छन् । तर, विज्ञहरू यो सङ्ख्या खास सङ्ख्याभन्दा नाटकीयरूपमा न्यून भएको बताउँछन् । आफ्नो नाम सार्वजनिक गर्न नचाहने तीन जना स्वास्थ्य अधिकारीहरू भारतमा कोभिड–१९ को कारण दैनिक मर्नेको सङ्ख्या दस हजार नाघेको बताउँछन् । उम्किने बाटो नै छैन । एक साताको अन्तरालमा कोभिड–१९ को कारण मैले चारजना आफन्त गुमाएँ । एक जना परको आफन्त, मेरो घरको पल्लो घरको छिमेकी र ३० वर्ष वरपरका मेरो दुई जना निकटतम मित्रहरू ।
मानिसहरू ठाउँको ठाउँ मर्दै गरेको दृश्य सपाट देखिँदै छ । शुक्रबार दिल्लीको ठुलो गंगाराम अस्पतालले आकस्मिक सूचना जारी गरी अस्पतालमा दुई घण्टाको लागि पुग्ने अक्सिजन बाँकी रहेको र अक्सिजनको अभावको कारण २५ जना मानिसले जीवन गुमाइसकेको जानकारी दियो । मानिसहरूले आफ्ना आफन्तको जीवन जोगाउन अक्सिजन सिलिन्डर चोरिरहेको दृश्य सार्वजनिक भएका छन् । बीबीसीको एउटा कहालीलाग्दो भिडियोमा एउटी महिलाले आफ्नो भाइको होस फर्काउन भगिरथ प्रयत्न गरिरहेको देखाएको छ । “बजाली, उठ ! उठ ! किन उठ्दैनौ ?”, तिनी रुँदै भन्छिन् । यी पङ्क्ति लेख्दै गर्दा महाराष्ट्रको एउटा अस्पतालमा अक्सिजन ट्याङ्कबाट अक्सिजन चुहिएर भेन्टिलेटरमा अक्सिजन आपूर्ति नहुँदा २२ जना गम्भीर बिरामीको ज्यान गएको समाचार प्रकाशित भयो । भारतका धेरै अस्पतालहरूले तत्काल अक्सिजन आपूर्ति गर्न उच्च अदालतमा निवेदन पेश गरेका छन् । यति महाविनाशको दृश्य कतै छ भने त्यो भारतका अस्पतालहरूमा देखिँदै छ ।

अक्सिजनको अभावलाई लिएर राज्य सरकारहरूले आज एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । हालै हरियाणाका मन्त्री अनिल भिजले ट्वीट गरेर छिमेकको दिल्ली सरकारले अक्सिजन बोकेर हरियाणातिर जाँदै गरेका ट्रकलाई दिल्ली लगेको आरोप लगाए । ‘द इकोनोमिक टाइम्स’लाई पछि मन्त्री भिजले प्रहरीलाई अक्सिजन बोकेका ट्रकहरू अरू कुनै राज्यले चोर्न नसकोस् भनेर सुरक्षाको लागि आग्रह गरे ।

यस्ता सबै आतङ्कपूर्ण अवस्थाबीच भारतमा एक थरी मानिसहरू कोभिड–१९ कुनै खतरा नै नभएजस्तो व्यवहार गरिरहेका छन् । उत्तराखण्डको हरिद्वारमा लागेको कुम्भमेलामा हरेक दिन दसौँ हजार हिन्दू धर्मावलम्बीहरू गंगा नदीमा डुबुल्की मार्न जम्मा भइरहेका छन् । मार्च ११ देखि सुरु भएको हप्तौँ लामो मेलामा लाखौँ मानिसहरू स्नान गरिरहेका छन् । त्यहाँ मेला भर्न गएका मानिसहरूलाई कोभिड सङ्क्रमण भएको थाहा हुँदाहुँदै पनि मानिसहरूले मेला भर्न छोडेका छैनन् । अप्रिल महिनाको मध्यसम्ममा १६ सत्र्न्दा बढी मेला भर्न गएका मानिसमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मार्च महिनामा भारतमा कोभिड–१९ को दोस्रो लहर उकालो लाग्दै थियो । त्यही समयमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेताहरूले राष्ट्रिय दैनिकमा पूरा पृष्ठको विज्ञापन छपाएर गंगा नदी ‘सफा’ भएको र मेलामा सहभागी बन्नु ‘सुरक्षित’ रहेको भनी भक्तजनहरूलाई आह्वान गरेका थिए । उत्तराखण्डका मुख्यमन्त्रीले मार्च २० को दिन ‘कोभिड–१९ को नाममा कोही पनि नरोकिने किनभने भगवानप्रतिको आस्थाले भाइरसको भय दूर गर्ने’ घोषणा गरेका थिए । अप्रिल महिनाको मध्यतिर हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको प्रतिरोध गर्न कुम्भमेलामा ‘साङ्केतिक’ सहभागितामा सीमित राखिनुपर्ने ट्वीट गरेका थिए । धार्मिक मेला महामारी फैलाउने घटना हुनसक्ने के त्यो कुनै चिन्ता थियो ?
थप घातक दोस्रो लहर
मार्च २०२० देखि म भारतमा कोभिड–१९ महामारीबारे रिपोर्टिङ गर्र्दै छु । त्यसअघि पनि महामारीको अवस्था खराब थियो । तर, यो दोस्रो लहरमा मैले जे देखेँ, त्यस्तो कहिल्यै पनि देखेको थिइनँ ।
स्वास्थ्यकर्मीहरू कुनै पनि अवस्थाभन्दा अहिले बढी खटिएका छन् । आइतबार म सरकारी नाभी मुम्बई नगर कर्पोरेसन अस्पतालमा जाँदा भ¥याङमा एक जना नर्स पुर्पुरोमा हात राखेर बसेकी थिइन् । उनले आफूलाई चक्कर लागेको सुनाइन् । स्नानगृह सफा थिएन । हरेक बीस जना कोभिड–१९ का बिरामीको लागि एउटामात्र शौचालय छ । शौचालय सफा गर्दागर्दै कामदारहरू हैरान भइसकेका छन् । आफ्नो नाम भन्न नचाहने एक जना नर्सले आफू स्वयम् भाइरस सङ्क्रमणबाट निको हुँदै गरेको बताइन् । उनले बिदा मागेकी थिइन् । तर, उनको निवेदन तीन पटकसम्म अस्वीकार भयो । उनलाई एक मन त राजीनामा दिउँ जस्तो लागेको थियो । तब उनको आँखाअघि आफ्नो आम्दानीमा निर्भर छ जना परिवारका सदस्यको अनुहार याद भयो । “यो नर्क हो । तपाईँ नै भन्नुहोस् त के यो नर्क होइन ?”, उनले भनिन्, “उनीहरू चिकित्सकको सद्गुणको पूजा गर्ने भन्छन् । तर, उनीहरूले हामीलाई मर्न छोडेका छन् ।”
अस्पतालमा अक्सिजनको अभावको कारण महामारीको यो दोस्रो लहर अझ भयानक भएको छ । भारतीय समाचार वेभसाइट स्क्रोल डट इनले सार्वजनिक गरेको एउटा अनुसन्धानको नतिजाअनुसार भारत सरकारले १५० वटाभन्दा बढी जिल्ला अस्पतालहरूमा अक्सिजन उत्पादन गर्ने प्रणाली जडान गर्न २ करोड ७० लाख अमेरिकी डलरको टेन्डर आह्वान गर्न सन् २०२० अक्टोबरसम्म अर्थात् महामारी सुरु भएयता आठ महिना लगायो । टेन्डर आह्वान भएको छ महिनापछि पनि अधिकांश ठाउँमा अझै अक्सिजन उत्पादन भइरहेको छैन । हरियाणा, महाराष्ट्र र गुजरात राज्यका अस्पतालहरूमा अक्सिजनको अभाव भएको भन्दै हतासिएका अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् । गत बुधबारमात्र गुजरातको एउटा अस्पतालमा अक्सिजन नपाएरै दुई जना बिरामीको निधन भयो ।
अक्सिजनको अभावलाई लिएर राज्य सरकारहरूले आज एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । हालै हरियाणाका मन्त्री अनिल भिजले ट्वीट गरेर छिमेकको दिल्ली सरकारले अक्सिजन बोकेर हरियाणातिर जाँदै गरेका ट्रकलाई दिल्ली लगेको आरोप लगाए । ‘द इकोनोमिक टाइम्स’लाई पछि मन्त्री भिजले प्रहरीलाई अक्सिजन बोकेका ट्रकहरू अरू कुनै राज्यले चोर्न नसकोस् भनेर सुरक्षाको लागि आग्रह गरे ।
सरकारलाई मर्नेको सङ्ख्या कति लुकाइयो भनी हामी सोध्न सक्छौँ । उत्तर प्रदेशमा कामदारहरूले चिहानघारीलाई कर्कट पाटाले छोपिरहेका तस्बीर छापिएको थियो । प्रमुख प्रतिपक्षी काङ्ग्रेस पार्टीकी नेतृ प्रियङ्का गान्धीले सरकारलाई सत्यतथ्य लुकाएको आरोप लगाइन् । प्रधानमन्त्रीको गृहराज्य गुजरातमा मसानघाटमा दिन–रात लास पोलिएको छ । तर, राज्य सरकारले मर्नेको सङ्ख्या सार्वजनिक गरेको छैन । गुजरातको उच्च अदालतले सरकारलाई कोभिड–१९ का सङ्क्रमित र मर्नेको सङ्ख्या सार्वजनिक गर्न आदेश दियो ।
अन्य राज्यमा कोभिड–१९ बाट मर्नेको सङ्ख्या भरपर्दो छैन । भयावह अवस्था छोप्न सरकारले वास्तविक सङ्ख्या लुकाइरहेको छ । एउटा उदाहरण हेरौँ, मध्यप्रदेश राज्यको एउटा मसानघाटमा एक दिनमा ९४ वटा लास जलाइयो । तर, टाइम्स नाउँका अनुसार सरकारले तीन वटा लासमात्र जलाइएको तथ्याङ्क सार्वजनिक भयो । चिहानघारी र मसानमा जति धेरै लास पुगिरहेका छन्, त्यत्ति नै राज्य सरकार सत्य छोप्न अथवा भारतमा सबै ठीकठाक चलिरहेको झूठो बयान दिन असफल बनिरहेको छ ।
जिम्मेवार उपल्लो तह
यो साता संसारको कुनै पनि देशको तुलनामा भारतको दैनिक सङ्क्रमण दर सबभन्दा उँचो रह्यो । तर, भारतीय जनता पार्टीले भने ट्वीटरमा प्रधानमन्त्री मोदी एउटा राजनीतिक सभामा सहभागी बनेको भिडियो पोस्ट ग¥यो । (मे महिनामा भारतका पाँच वटा राज्यमा चुनाव हुँदै छ ।) मोदीसँग उनका निकटका विश्वास पात्र तथा गृहमन्त्री अमित शाह थिए । सिद्धान्ततः अमित शाह राजधानीमा बसेर बितेका केही सातायता बढ्दो कोभिड–१९ को सङ्क्रमण नियन्त्रण र रोकथामको विषयमा काम गर्न सरकारी निकायबीच समन्वय गरिरहेको हुनुपर्ने थियो । तर, शाह पूर्वी भारतका विभिन्न सडकमा हजारौँ जनताबीच उल्लासपूर्ण प्रदर्शनहरूमा सहभागी बनिरहेका थिए । उनले ती जुलुसहरूको आफ्ना ट्वीटर र फेसबुक खातामा प्रत्यक्ष प्रसारण गरिरहेका थिए । जब कि त्यही बेला सामाजिक सञ्जाल स्वास्थ्य सामग्रीको खाँचोबारे खबरले छपक्कै छोपिएको थियो । हजारौँ जनता मृत्युसँग लडिरहेको बेला हाम्रा गृहमन्त्री र प्रधानमन्त्रीले चुनाव प्रचारलाई निरन्तरता दिइरहेका थिए । (चर्को आलोचनापछि यसै सातामात्र मोदीले पश्चिम बङ्गाल शुक्रबार गरिने सभा स्थगित गरी कोभिड–१९ को राज्यका मन्त्रीस्तरीय बैठकको लागि आह्वान गरे ।)
भारतीय समाजको विभिन्न तप्कालाई दोस्रो लहरले छिन्नभिन्न बनाइसकेपछि पनि भारत किन त्यसको निम्ति तयार भएन ? यसको तमाम जिम्मेवारी शक्तिशाली व्यक्तिको शासनको हो जसले सबै सावधानीका उपायलाई उपेक्षा ग¥यो ।
त्यसको जिम्मेवारी कोभिड–१९ नियन्त्रण गर्न मोदी सरकार सफल भएको भन्दै प्रशंसा भावमा मुख्य मन्त्रीहरू जिम्मेवार छन् । उनीहरूले कोभिड परीक्षणलाई उपेक्षा गरे र भाइरसबारे मानिसहरूको बेवास्तालाई सहजरूपमा लिए ।
त्यसको जिम्मेवारी भारतका उच्च मध्यम वर्गहरूको हो जसले गत वर्ष आफ्ना अग्ला भवनका झ्यालबाट थाल ठटाएर र मैनबत्ती बालेर मोदीको प्रशंसा गरेका थिए र योजनाविहीन लकडाउनको सफलतामा खुसियाली मनाएका थिए । त्यत्तिबेला गरिब मजदुरहरूले भने रोजगारी गुमाएका थिए भने उनीहरू सहर छोडेर भागिरहेका थिए । धनीहरूले अस्पतालका शय्याहरू आफ्नो लागि पक्का गरिरहेका थिए भने आफ्नै मजदुरहरूलाई आर्थिक सहायता दिइरहेका थिएनन् ।
राज्य तहका मन्त्रीहरू पनि यसको निम्ति कम जिम्मेवार छैनन् । उनीहरू सत्ताको खेलमै व्यस्त थिए । भाइरस फर्किरहेको बेला उनीहरू उघिरहेका थिए । महाराष्ट्रमा सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा भाजपा र त्यहाँ सत्तारुढ शिव सेना राज्य सरकारमा नियन्त्रणको लागि छिनाझम्टी गरिरहेका थिए ।
तर, सबभन्दा ठुलो जिम्मेवारी भने प्रधानमन्त्री नरेन्द्र मोदीको हो । उनी आफूलाई एक अर्ब ३० करोड भारतीय जनताको सेवक भन्न रुचाउँछन् । तर, उनी बदनियतपूर्वक आफ्नो जिम्मेवारीबाट च्युत भए ।
जनवरी महिनादेखि मोदीले विभिन्न राज्यमा राजनीतिक सभा र जुलुस आयोजना गर्दै थिए । उनले कुम्भ मेलाजस्तो धार्मिक गतिविधि गर्न छुट दिए । उनको पार्टीले भारतका अल्पसङ्ख्यक जनतालाई हमला गरिरहेको थियो । पश्चिम बङ्गालमा मोदीले चुनावी अभियानको क्रममा छिमेकी राज्यहरूबाट आएका मुसलमान समुदायले हिन्दूहरूलाई दुःख दिएको भन्दै रोष पोख्दै थिए । अमित शाहले पश्चिम बङ्गालका मुख्यमन्त्रीले मुसलमानहरूको हितलाई मात्र हेरेको आरोप लगाइरहेका थिए ।
भारतमा खोप अभियानलाई संसारभर छरिएका भारतीय मूलका मानिसहरूले मोदीको नेतृत्वको कदरको विषय बनाए । मार्चमा क्यानाडामा भारतीय मूलको समूहले मोदीले विभिन्न देशमा खोप निर्यात गरेको भन्दै आभार व्यक्त गर्दै बोर्ड राखेका थिए । भारतमा बनेको भनिएको खोपको प्रभावकारिता र अन्य प्रभावबारे धेरै भारतीयहरू नै गुनासो गर्दै थिए ।
प्रखर वक्ता (मोदी)ले देशभर खोप लिन सन्देश पठाउन अथवा खोपसँग सम्बन्धित भ्रम चिर्न केही प्रयास गरिएको देखिएन । भारतका कुल जनसङ्ख्यामध्ये ६५ प्रतिशतभन्दा बढी ग्रामीण क्षेत्रमा बस्छन् । सामाजिक सञ्जालबाट प्रसारित गलत सूचनाको कारण ती मानिसहरूले खोप लगाउन चाहेनन् । प्रधानमन्त्रीले जनस्वास्थ्यका सन्देश दिन केही गरेको देखिएन । पश्चिम बङ्गालको चुनावी सभामा भाजपाका नेताले कोभिड–१९ को उपचार गर्न गाईको गहुँत खानु उपयोगी हुने दाबी गरे । भाजपाको विदेश विभागका प्रमुख विजय चौथाइवालेले ‘मोदीविरोधी खेमा’का अर्थशास्त्री र विज्ञहरूलाई सम्बोधन गरेर एउटा लेख लेखेका थिए । उनले त्यो लेखमा रोग प्रतिरक्षा प्रणाली विकास गर्न गौमुत्र र बेसारजस्ता परम्परागत औषधि नत्याग्न भारतीय जनतालाई आग्रह गरेका थिए ।
खोप अभियान ढिला भएपछि त्यसलाई गतिशील बनाउन न केही प्रयास भयो न राज्यहरूबीच कुनै समन्वय गर्ने प्रयास नै भयो । मोदी विपक्षी दलहरूबाट आएका आरोपको प्रतिरोध गर्दै दोषारोपणको खेलमा व्यस्त भइसकेका थिए । कोभिड–१९ को सबभन्दा बढी सङ्क्रमित भएको महाराष्ट्रमा खोपको अभावको कारण जब अधिकांश खोप केन्द्रहरू बन्द गरिए, भारतले त्यसप्रति कुनै चासो देखाएन । सरुवा रोगका विज्ञ, विशेषज्ञ र विपक्षी दलका नेताहरूले मोदीलाई लामो समयदेखि विदेशी खोपलाई प्रयोगको लागि अनुमति दिन बारम्बार आग्रह गरेका थिए । रुसमा बनेको स्पुटनिक भी खोपको आकस्मिक प्रयोगको लागि निर्णय गर्न गरेको आग्रह अप्रिलको दोस्रो सातामा मात्र सफल भयो ।
यो समय देशले उत्तर खोजिरहेको समय हो । अप्रिल २० मा जब मोदीले बढ्दो सङ्कटको विषयमा देशवासीको नाममा सम्बोधन गर्ने क्रममा लकडाउनलाई अन्तिम विकल्पमात्र मान्न भनी राज्यहरूलाई चेतावनी दिएका छन् । उनले युवाहरूलाई कोभिड–१९ का सावधानीका नियम पालना सुनिश्चित गर्न समितिहरू गठन गर्न आग्रह गरे । राम नवमीको दिन उनले हिन्दू देवता भगवान रामको सन्देश पालना गर्न र ‘आदर्श व्यवहार’ पालना गर्न भनी ट्वीट गरे ।
प्रधानमन्त्रीले देशवासीको नाममा गरेको सम्बोधनको क्रममा गरिएका आह्वानप्रति जनताको कुनै उत्साहप्रद प्रतिक्रिया देखिएन किनभने उनले देशलाई कुनै राहत दिन सकेका थिएनन् । धेरै भारतीय जनता प्रधानमन्त्री आफ्नो जिम्मेवारीबाट च्युत भएको धारणा बनाएका छन् । भारतीय ट्वीटरमा यतिबेला #WeCannotBreathe निकै चर्चित बनेको छ ।
इतिहासको यो गम्भीर समयमा भारतीयहरूसँग आफ्नो रक्षा गर्नुको अर्को बाटो नै छैन ।

(लेखिका भारतका पत्रकार हुनुहुन्छ ।)
स्रोत:: टाइम्स
नेपाली अनुवाद: सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *