भर्खरै :

अक्टोबर क्रान्तिपछि जनताको नाममा लेनिनको पहिलो सम्बोधन

मजदुर साथी, सैनिक, किसान र सम्पूर्ण श्रमिकहरू !
पेत्रोग्रादमा मजदुर एवम् किसानहरूको क्रान्तिले विजय प्राप्त गरेको छ । करेन्स्कीद्वारा ठगिएका कजाकहरूको नगण्य सङ्ख्यामध्ये बचेखुचेको अन्तिम अंश समेत तितरबितर पारिएका छन् र गिरफ्तार गरिएका छन् । मस्कोमा पनि क्रान्तिले विजय प्राप्त गरेको छ । पेत्रोग्रादबाट पठाइएका सशस्त्र सेनासहित रेल पुग्नुभन्दा अगावै मस्कोमा युन्केर (सेना) र जारका सेनापति कोर्निलोभको फौजका अफिसरहरूले शान्तिसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरिसकेका छन्, जसअनुसार युन्केरहरू निःशस्त्र गरिएका छन् र सुरक्षा समिति विघटित गरिएको छ ।
ट्रेन्चमा रहेका बहुसङ्ख्यक सिपाही र उयेज्दहरूमा किसानहरूले नयाँ सरकारको साथै शान्तिको सुझाउबारे तथा किसानहरूलाई तुरुन्तै जग्गा प्रदान गर्नेबारेमा जारी गरेका कानुनहरूको समर्थन जनाइरहेका छन् भन्नेबारेमा मोर्चा र गाउँघरबाट दिनहुँ वा हरघडी सूचना प्राप्त भइरहेका छन् । मजदुर तथा किसानहरूको क्रान्तिको विजय अवश्यम्भावी छ किनभने बहुसङ्ख्यक जनता त्यसको पक्षमा खडा भइसकेका छन् ।
भूमिपति र पुँजीपतिहरू, पुँजीपति वर्गसित घनिष्टरूपले सम्बन्धित भएका उच्च ओहदामा रहेका कर्मचारी र सरकारी पदाधिकारीहरू, छोटकरीमा भन्ने हो भने सारा धनीमानीहरू र धनीहरूबाट मद्दत पाइरहेका मानिसहरू नयाँ क्रान्तिप्रति दुश्मनीपूर्ण व्यवहार गर्दछन्, क्रान्तिको विजयमा प्रतिरोध गर्दछन्, बैङ्कहरूको काम रोक्ने धम्की दिन्छन्, विभिन्न संस्थाहरूको काम बिगार्दछन् अथवा रोक्दछन्, हरेक प्रकारले क्रान्तिलाई बाधा पु¥याउँछन्, प्रत्यक्ष वा परोक्षरूपले क्रान्तिलाई अवरुद्ध गर्दछन् भन्ने कुरा सहजै बुझ्न सकिन्छ । हामीले यस किसिमका प्रतिरोधहरूको अवश्यम्भावीरूपले सामना गर्नुपर्नेछ भन्ने कुरा जुनसुकै सचेत मजदुरले राम्रोसित बुझेका छन् । बोल्शेभिकहरूको सम्पूर्ण पार्टी पङ्क्तिले कैयौँ पटक यस कुरालाई औँल्याएको छ । श्रमिक वर्गलाई यस प्रतिरोधले एकछिनको निम्ति पनि तर्साउन सक्दैन । उनीहरू पुँजीपति वर्गका समर्थकहरूका धम्की र हडतालहरूबाट अलिकति पनि डराउँदैनन् ।
बहुसङ्ख्यक जनता हाम्रो पक्षमा छन् । संसारका बहुसङ्ख्यक श्रमिक र पददलितहरू हाम्रो पक्षमा छन् । न्यायको कार्य नै हाम्रो पक्षमा छ । हाम्रो विजय अवश्यम्भावी छ ।
पुँजीपतिहरू र ठूल्ठूला ओहदामा रहेका कर्मचारीहरूको प्रतिरोधलाई निस्तेज पारिनेछ । बैङ्कहरूको ‘राष्ट्रियकरण सम्बन्धमा विशेष राजकीय ऐन कानुनविना कुनै पनि मानिसलाई सम्पत्तिबाट वञ्चित गरिने छैन । यो कानुन तयार पारिँदै छ । कुनै पनि श्रमिक र कामदारले एक कोपेक (पैसा) पनि गुमाउने छैन । यसको उल्टो, उसलाई सहायता प्रदान गरिनेछ । हिसाब–किताब पूर्ण पारदर्शी राख्नु र नियन्त्रण गर्नु, अनि पहिले निर्धारित गरिएका करहरूको हिनामिना रहित असूलउपर गर्नु सिवाय सरकारले कुनै पनि अरू कदम चाल्न खोजेको छैन ।
यी न्यायोचित मागहरूको समर्थनमा मजदुर तथा किसानको सरकारको वरिपरि जनताको अत्यधिक बहुमत एकबद्ध भएको छ ।
श्रमिक साथीहरू !
अब तपार्इँहरू आफैले राज्यको सञ्चालन गर्नुहुनेछ भन्ने कुरा याद राख्नोस् ! यदि तपार्इँहरू स्वयम् एकजुट भएर राज्यको सारा कार्यभार आफ्नो हातमा लिनु हुन्न भने अरू कसैले पनि तपार्इँहरूलाई मद्दत गर्ने छैन । अब तपार्इँहरूकै सोभियत (स्थानीय क्रान्तिकारी सरकार)हरू नै राज्यका शासन–अङ्गहरू हुन्, सर्वाधिकारसम्पन्न र निर्णायक अङ्गहरू हुन् ।
आफ्ना सोभियतहरूको वरिपरि एकजुट हुनुहोस् ! सोभियतहरूलाई दरिलो तुल्याउनुहोस् ¤ कसैलाई नपर्खिकन आफूले नै काम गर्न थाल्नुहोस् ! कठोर क्रान्तिकारी सुव्यवस्था कायम गर्नुहोस् ¤ जँड्याहा, बदमास, प्रतिक्रान्तिकारी युन्केरहरू, कोर्निलोभका समर्थकहरू इत्यादिको तर्फबाट हुने अराजकताको प्रयासलाई निर्ममतापूर्वक दमन गर्नुहोस् !
उत्पादनमा र उत्पादित वस्तुहरूको लेखाजोखामा कडा नियन्त्रण कायम गर्नुहोस् ! जनताको कार्यमा क्षति पु¥याउन खोज्ने जोसुकैलाई पनि गिरफ्तार गरेर जनताको क्रान्तिकारी न्यायालयमा सुम्पिदिनुहोस्, चाहे उत्पादनको अन्तध्र्वंस (विनाश, बिघ्नवाधा, हानिनोक्सानी) मा अथवा खाद्यान्न र सामग्रीहरूको जगेडा लुकाउने या अन्नका भारीहरू रोक्ने कार्यमा अथवा रेलमार्ग, हुलाक, टेलिग्राफ, टेलिफोनको काम नै ठप्प गर्ने कुरामा र सामान्यतया शान्तिको महान् कार्य, किसानलाई जग्गा दिलाउने कार्य, वस्तुहरूको उत्पादन तथा वितरणमा मजदुरहरूको नियन्त्रण कायम गर्ने कार्यको विरुद्ध लक्षित जुनुसुकै किसिमको प्रतिरोधमा यस्तो क्षतिको अभिव्यक्ति होस् !
मजदुर साथीहरू, सैनिक, किसान र सम्पूर्ण श्रमजीवीहरू !
सारा सत्ता आफ्ना सोभियतहरूमा कायम राख्नुहोस् ! आँखाको नानीलाई जस्तै गरी जग्गा जमिन, खाद्यान्न, कलकारखाना, यन्त्र–औजार, सरसामान, यातायातको बचाउ र सुरक्षा गर्नुहोस् ! यी सबै कुराहरू अब पूर्णरूपमा तपार्इँहरूकै, आम जनताकै सम्पत्ति हुनेछ ! बिस्तारै बहुसङ्ख्यक किसानको सहमति र समर्थन प्राप्त गर्दै, किसान र मजदुरको व्यावहारिक अनुभवका निर्देशनअनुसार हामी दृढतापूर्वक र अनवरतरूपले समाजवादको विजयतर्फ लम्किरहनेछौँ । यस विजयलाई अति उन्नत सभ्य मुलुकहरूका प्रगतिशील मजदुरहरूले दरिलो पार्नेछन् र त्यसले जनतालाई अटल शान्ति प्रदान गर्नेछ, हरेक प्रकारको उत्पीडन तथा हरेक प्रकारको शोषणबाट मुक्त तुल्याउनेछ ।
५ नोभेम्बर, १९१७, पेत्रोग्राद ।
अध्यक्ष, जन–कमिसार परिषद्
भ्ला. उल्यानोभ (लेनिन)
(‘लेनिन सङ्कलित रचना खण्ड ३५, पृ. ६५–६७’ मा रहेको रूसी क्रान्तिका महानायक क. लेनिनले अक्टोबर क्रान्तिपश्चात् जनताको नाममा गर्नुभएको यो सम्बोधन ‘सोभियत सत्ता के हो ?’ शीर्षकको नेपाली अनुवादबाट लिइएको हो । अनुवाद ः कृष्णप्रकाश श्रेष्ठ । – सम्पादक ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *