भर्खरै :

पाटन र वीर अस्पतालमा राज्य व्यवस्था समितिको स्थलगत अध्ययन

काठमाडौँ १५, वैशाख । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूले स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताल र वीर अस्पतालको स्थलगत अध्ययन गरी कोभिड–१९ सङ्क्रमित र अन्य बिरामीको उपचारसम्बन्धी जानकारी लिनुभयो ।
अनुगमन टोलीलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालका निर्देशक मनोचिकित्सक डा. रवि शाक्यले कोभिड सङ्क्रमित बिरामीको उपचारको तयारीबारे जानकारी गराउँदै बिग्रेको अक्सिजन प्लान्टको पार्टस नेपालमा नपाइने हुँदा नयाँ प्लान्ट खरिद गर्ने प्रक्रिया यही असारसम्म पूरा गर्ने र हाललाई सिलिन्डरहरू भण्डारण गरी अक्सिजन आपूर्ति भइरहेको बताउनुभयो ।
उहाँले अस्पतालमा २५० बेड कोभिड–१९ बिरामीको लागि र अन्य बेडमा ननकोभिड बिरामी उपचारको लागि तयारी अवस्थामा राखेको जानकारी दिँदै गत साउनदेखि हालसम्म करिब २५÷२६ हजारलाई कोभिड रोकथाम खोप लगाइसकेको जानकारी दिनुभयो । उहाँले निषेधाज्ञाको समयमा पनि कोभिड रोकथाम खोप दिने काम रोक्न नहुनेतर्फ सांसदहरूको ध्यानाकर्षण गराउनुभयो ।
वीर अस्पतालमा पुगेका सांसदहरूको अध्ययन टोलीलाई राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति देवनारायण साहले स्वास्थ्य सुरक्षा सामग्री अभावका कारण कोभिड–१९ को पहिलो लहरको समयमा जनआकाङ्क्षाअनुसार काम गर्न नसकेको बताउनुभयो र यो दोस्रो लहरमा बिरामीको उपचार गर्न सरकारले आवश्यक स्वास्थ्य सामग्री र जनशक्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
उहाँले अस्पतालमा चालू भेन्टिलेटर २३ वटामात्र भएको हुँदा पर्याप्त नभएकोले थप्नुपर्ने र कोभिड बिरामी उपचारमा संलग्न कर्मचारीलाई गत वर्षको २ महिनाको मात्र भत्ता उपलब्ध गराउन सकेको कारण कर्मचारीको मनोबल उच्च नभएको बताउनुभयो ।
हाल वीर अस्पतालमा ४५७ बेड रहेकोमा १०७ बेड कोभिड उपचारको लागि तयारी अवस्थामा राखेको जानकारी दिँदै अस्पतालको लगभग तयारी अवस्थामा रहेको अस्पतालको सर्जिकल भवनमा तत्काललाई २०० बेड कोभिड बिरामी उपचारको लागि तयार गर्न सकिने बताउनुभयो ।
उहाँले अस्पतालको प्लान्टले १८० देखि २०० सिलिन्डर अक्सिजन उपलब्ध भइरहेको जानकारी दिँदै लिक्विड अक्सिजनको टैङ्क नै खरिद गरी राख्नेबारे छलफल भइरहेको जानकारी दिनुभयो ।
अध्ययन टोलीमा समितिका सभापति शशी श्रेष्ठ, सांसदहरू प्रेम सुवाल, तीर्थ गौतम, महेश्वर गहतराज, लालबाबु पण्डित, देवेन्द्र कँडेल र कर्मचारीहरू बबिता मिश्र, जयराम खड्कालगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *