भर्खरै :

महामारी प्रतिरोधमा भारतलाई अन्तर्राष्ट्रिय सहायता

नयाँ दिल्ली, २८ अप्रिल । पछिल्लो सातामा भारतमा हरेक दिन तीन लाखभन्दा बढी दरमा कोभिड–१९ का नयाँ बिरामी थपिए । अक्सिजनको चर्को अभाव भयो भने अस्पतालमा बिरामीलाई शय्या पाउन हम्मेहम्मे भयो ।
यस्तो विषम परिस्थितिबाट भारतलाई निकाल्न अन्तर्राष्ट्रिय समुदायले सहायताको हात अघि बढायो । विभिन्न देशले भारतलाई अक्सिजन, व्यक्तिगत सुरक्षा वस्त्र (पीपीई) र अन्य स्वास्थ्य सामग्री पठाएर सहयोग गरेका छन् ।
प्राणघातक भाइरसको भयावह
भारतमा गत मङ्गलबारसम्ममा कोभिड–१९ सङ्क्रमितको जम्मा सङ्ख्या १ करोड ७६ लाख ३६ हजार ३०७ पुग्यो । त्यही दिनमात्र ३ लाख २३ हजार १ सय ४४ जना नयाँ बिरामी थपिए । हरेक दिन लगातार तीन लाखभन्दा बढी सङ्क्रमित बढेको त्यो छैटौँ दिन थियो ।
सोमबार भारतमा एकै दिन संसारमै हालसम्मको सबभन्दा बढी सङ्क्रमित बढेको थियो–३ लाख ५२ हजार ९९१ जना ।
विश्व स्वास्थ्य सङ्गठनले भारतमा प्राणघातक दोस्रो लहर फैलिनुको मूल कारण व्यक्तिगत सुरक्षा सावधानीका उपाय पालनामा खुकुलो गर्नु, ठुल्ठुला भेला, खोप लगाउने दर कम गर्नु र भाइरस थप सङ्क्रामक हुनु भएको बताएको छ ।
चालू सङ्क्रमण लहर मे महिनाको मध्यमा मात्र उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबभन्दा बढी महामारी प्रभावित क्षेत्रका अधिकारीहरूको बैठकमा यस्तो पूर्वानुमान पेश गरिएको थियो ।
उच्च बिन्दुमा भारतमा दैनिक कोभिड–१९ बिरामीको सङ्ख्या ५ लाखसम्म पुग्ने र जून–जुलाईमा क्रमशः कम हुँदै जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चालू बढ्दो सङ्क्रमणबीच भारतभरिका अस्पतालमा चिकित्सकीय प्रयोगको अक्सिजनको अभाव भएको छ । अस्पतालहरूले भारत सरकारलाई सख्त अभावको समस्या समाधान गर्न आग्रह गरेका छन् ।
भारत सरकारले मङ्गलबार दिएको जानकारीअनुसार अक्सिजनको अभाव पूर्ति गर्न २० कार्योजेनिक ट्याङ्कर अक्सिजन आयात गरेको बताएको छ । त्यसका साथै भारतभरि ५५१ वटा अक्सिजन उत्पादन गर्ने परियोजना पनि स्थापना गरेको प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।
भारतले बिरामीको उपचारको लागि आवश्यक शय्याको अभाव पूरा गर्न देशभरका होटेल र रेलहरूमा समेत सघन उपचारको लागि बन्दोबस्त गर्न थालेको छ । तर, विज्ञहरूले भारतमा अब स्वास्थ्यकर्मीहरूको अभाव हुने चेतावनी दिएका छन् ।
‘दोहोरो उत्परिवर्तित’ प्रजाति
कोरोना भाइरसको नयाँ प्रजाति बी.१.६१७ भारतमा पहिलो पटक भेटिएको थियो ।
दोहोरो उत्परिवर्तन भएको यो प्रजाति निकै सङ्क्रामक भएको केही विज्ञहरूले बताएका छन् । तर, विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता तरिक जसारेविचले ‘भाइरसमा आएको परिवर्तन भारतमा तीव्रगतिमा सङ्क्रमण फैलिनुमा कति जिम्मेवार छ भन्ने कुरा अझै प्रस्ट भइनसकेको’ बताएका छन् ।
बीबीसी समाचारअनुसार भाइरसको नयाँ प्रजातिको प्रतिकार गर्न शरीरभित्रको एन्टीबडीलाई गाह«ो हुनसक्ने प्रयोगशाला परीक्षणले देखाएको छ । तर, वैज्ञानिकहरूले नयाँ प्रजातिले मानिसको प्रतिरोध क्षमता कति नष्ट गर्छ भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।
“मलाई यो नयाँ प्रजाति मूलभूतरूपमा खोपले रोक्न नसक्ने उत्परिवर्तित भाइरस भएको कुनै प्रमाण भएजस्तो लाग्दैन… हामीले पक्कै पनि सजगतापूर्वक अध्ययन गर्न जरुरी छ । तर, अहिले आत्तिहाल्ने अवस्था होइन”, बेलायतको वेलकम साङगर प्रतिष्ठानका कोभिड–१९ जिओनोमिक कार्यक्रमका निर्देशक जेफ्री ब्यारेटलाई उद्धृत गर्दै बीबीसीले लेख्यो ।
हालसम्म संसारका २० देश र क्षेत्रमा यस्तो प्रजातिको भाइरस फेला परिसकेको छ । ‘दोहोरो उत्परिवर्तित’ भाइरसको डरले केही देशहरूले भारतसँग हवाई सम्बन्ध बन्द गरेका छन् ।
उदाहरणको लागि अप्रिल १९ मा बेलायतका स्वास्थ्य मन्त्री म्याट हेनकले गैर बेलायती र गैर आइरिस नागरिकलाई भारतबाट बेलायत आउन निषेध गरेको घोषणा गरे । बेलायतले भारतलाई यात्राको लागि रातो सूचीमा दर्ता गरेको छ ।
बिहीबार क्यानाडाले पनि तीस दिनको लागि भारतबाट आउने सबै उडान निषेध गरेको छ ।
शुक्रबार न्युजिल्यान्डले भारतलाई ‘निकै जोखिमपूर्ण देश’मा वर्गीकरण गरेको छ । न्युजिल्यान्डमा उल्लेखनीयरूपमा सङ्क्रामकको सङ्ख्या घटाउन यस्तो कदम चालेको त्यहाँका कोभिड–१९ प्रतिरोध मन्त्री क्रिस हिपकिन्सले बताए ।
अन्तर्राष्ट्रिय सहायता
भारत बढ्दो नयाँ सङ्क्रमणसँग जुझ्दै गर्दा विभिन्न देश र अन्तर्राष्ट्रिय सङ्गठनहरूले महामारीविरुद्ध भारतको लडाइँमा सहयोगको हात बढाएका छन् ।
संयुक्त राष्ट्र सङ्घीय महासभाको ७५ औं अधिवेशनका सभापति भोल्कन बोज्किरले मङ्गलबार भारतलाई अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गर्दै भारतलाई सहायता र समर्थन गर्ने समय आएको बताए । उनले सबै जना सुरक्षित नहुञ्जेल कसैको पनि सुरक्षा नहुने बताए ।
सोमबार विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानम घिब्रिएससले भारतको अवस्था ‘हृदयविदारकभन्दा पनि पर’ पुगेको बताए । उनले महामारीलाई पराजित गर्न सहायताको लागि विश्व स्वास्थ्य सङ्गठनले थप कर्मचारी र सामग्री भारतमा पठाउन लागेको जानकारी दिए ।
“चीन भारतलाई आवश्यक सहायता र समर्थन गर्न तयार छ । अक्सिजन कन्सनटे«टरलगायत महामारीको प्रतिरोध गर्न आवश्यक चिकित्सकीय सामग्रीको लागि भारतले गरेको माग पुरा गर्न चिनियाँ उद्योगहरूसँग सहकार्य गरिरहेका छौँ”, चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबारको नियमित पत्रकार भेटघाटमा भने ।
“हामी महामारीको प्रतिरोधको लागि विभिन्न तरिकाबाट भारतसँगको सहकार्यलाई निरन्तरता दिनेछौँ । भारत यो कठिन परिस्थितिबाट बाहिर निस्कनेमा हामी विश्वस्त छौँ”, वाङले भने ।
युरोपेली आयोगका सभापति उरुसुला भोन डेर लेएनले आइतबार ट्वीट गरेर भारतले सहायताको लागि गरेको आग्रह पूरा गर्न आफ्नो नागरिक सुरक्षा संयन्त्रमार्फत युरोपेली सङ्घले सामग्रीको जोहो गरिरहेको बताइन् ।
भारतीय अधिकारीहरूको आग्रहप्रति प्रतिक्रिया जनाउँदै फ्रान्सको विदेश मन्त्रालयले फ्रान्सले आठ वटा अक्सिजन उत्पादक मेसिन भारत पठाएको छ । सो उपकरणले वर्षौँ वर्षसम्म अस्पतालहरूलाई अक्सिजनमा आत्मनिर्भर बनाउन सक्ने र दैनिक दस हजार बिरामीको लागि अक्सिजन उपलब्ध गराउन सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *