भर्खरै :

खाद्यान्न जोहो गर्दै हिमाली बस्ती

फुङ्लिङ, १५ वैशाख । ताप्लेजुङको हिमाली बस्तीका समुदाय अहिले वर्षायामका लागि खाद्यान्न जोहो गर्नेतिर लागेका छन् । वर्खायाम सुरुभएसँगै बाढी पहिरो, खोला नाला साथै झरी वर्षा हुने भएकाले ताप्लेजुङको हिमाली वस्तीका समूदायका नागरिकले प्रत्येक वर्ष वैशाख महिनादेखि मङ्सिरसम्म पुग्ने खाद्यान्न जोहो गर्ने गरेको फक्ताङलुङ गाउँपालिका–७ घुन्साका स्थानीयबासी केल्शाङ शेर्पाले बताउनुभयो । वर्षायाममा बाढी पहिरोका साथै खोला नालाले बोटो बन्द गर्ने भएकाले आठ महिनासम्म पुग्ने प्रत्येक परिवारले खाद्यान्न भण्डारण गर्नुपरेको शेर्पाले बताउनुभयो ।
विगतका वर्षमा टिप्ताला नाका हुँदै चीनदेखि खाद्यान्न ल्याउने गरेको शेर्पाले बताउनुभयो । यो वर्ष कोरोनाको कारणले नाका बन्द भएपछि महङ्गो ढुवानी गरेर ताप्लेजुङको सदरमुकाम फुङलिङबाट लानुपरेको शेर्पाले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “नाका बन्द छ । त्यसैले सदरमुकामबाट सामान घुन्सा पु¥याउँदा सामान किनेकोभन्दा बढी ढुवानीमा खर्च गर्नु बाध्य भएका छौँ ।” स्थानीय सरकार आएपछि गाउँगाउँमा सडक पुगेको छ । तर फक्ताङलुङ गाउँपालिका–६ घुन्सा, फले, ग्याप्ला, खम्बाजेन अम्जीलेसा र फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला र याङमाजस्त हिमाली तथा पर्यटकीय वस्तीमा यातायातको साधन पुग्न सकेको छैन । यी क्षेत्रका समुदायका नागरिकले यातायातको साधनको रूपमा खच्चड्, चौँरी र याक नै अहिलेसम्म भरपर्दो यातायातको रूपमा प्रयोग गर्दै आएका छन् । एउटा याकले १०० केजीसम्म सामान ढुवानी गर्न सक्दछ भने खच्चड्ले ७० केजीसम्म सजिलै ढुवाँनी गर्दछ । विगतमा सदरमुकामदेखि ढुवानी गर्नुपर्दथ्यो भने अहिले सदरमुकाम फुङ्लिङदेखि २४ किलोमिटरसम्म गाडीले पु¥याउँदछ ।
लेलेपदेखि खच्चड्, चौँरी र याकमार्फत ढुवानी गरेर समुन्द्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित याङमासम्म खाद्यान्न सामग्री पु¥याउँदै आएको छ । वर्षाको समयमा बाढी पहिरोको जोखिम हुन्छ । बाढी पहिरोले बाटो नै बन्द गरिदिन्छ । बाटो बन्द भएपछि एक गाउँ अर्को गाउँ आवतजावत नै बन्द हुने गर्दछ ।
त्यसैले हिमाली वस्तीमा समयमै खाद्यान्नको जोहो गर्नुपरेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला निवासी तेन्जीङ शेर्पाले बताउनुभयो । वैशाख महिनादेखि कार्तिक र मङ्सिरसम्म पुग्ने चामल, नुन, तेल, दाल, मैदा अन्य आवश्यक सामग्री जोहो गर्ने गरेको शेर्पाले बताउनुभयो । समुन्द्रसतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ओलाङचुङगोलामा ६५ घर परिवार शेर्पा समुदाय बसोबास गर्दै आएको छन् । समुद्रसतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा ११ घर परिवार बसोबास गर्दै आएका छन् । समुद्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा अवस्थित घुन्सा क्षेत्रमा ७३ घर परिवार बसोबास गर्दै आएका छन् । यी क्षेत्रका समुदायले प्रत्येक घर परिवारले वर्षायामको समयमा खाद्यान्न जोहो गर्दै आएको शेर्पाले बताउनुभयो । वैशाख दोस्रो हप्तासम्ममा धेरै परिवारले खाद्यान्न भण्डारण गरिसकेको शेर्पाले बताउनुभयो । वैशाखदेखि मङ्सिरसम्म नौ महिनासम्म खान पुग्नेगरी खाद्यान्न जोहो गर्नुपरेको शेपाले बताउनुभयो ।
मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा १८ घर परिवार बसोबास गर्दै आएको स्थानीय बासी पासाङ शेर्पाले बताउनुभयो । तर, अहिले वस्तीमा केही नभएको शेर्पाले बताउनुभयो । शेर्पाले भन्नुभयो “चीनको नाका बन्द छ । व्यापार छैन । हिउँ छल्न विभिन्न क्षेत्रमा गाएका अहिले तोक्पेकोला जाने तयारीमा छ ।” तोक्पेगोला बस्नको लागि जाँदा छ महिनासम्म पुग्ने खाद्यान्न लिएर जानुपर्ने शेर्पाले बताउनुभयो । तोक्पेगोला क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्नको लागि पनि जाने तयारी रहेको शेर्पाले बताउनुभयो ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *