भर्खरै :

कोभिडको दावानलमा उत्तर प्रदेश

अप्रिल २३ को साँझपख । भारतको उत्तर प्रदेशको पूर्वमा अवस्थित बालिया जिल्लाको सिकन्डरपुर सामुदायिक स्वास्थ्य केन्द्रमा ४० वर्षका नेत्रहीन धनराज सिंह आफूलाई श्वास फेर्न गा¥हो भएको भन्दै आइपुगे । नजिकैको वंशीबजार गाउँका बासिन्दा उनलाई हनहनी ज्वरो पनि आइरहेको थियो । उनको उपचार गर्ने चिकित्सकले स्वास्थ्य चौकी पुगेको मुस्किलले ५७ मिनेटमै सिंहको निधन भएको बताए । उनको लास परिवारलाई बुझाइयो ।
चिकित्सकका अनुसार स्वास्थ्य चौकीमा पुग्दा अक्सिजन भएको भए उनको जीवन जोगाउन सकिन्थ्यो । त्यहाँ आकस्मिक प्रयोजनको लागि अक्सिजनको व्यवस्था थिएन ।
चिकित्सकहरूले सिंह ‘कोभिडको सङ्क्रमित बिरामी’ हुनसक्ने बताए । तर, निश्चित भने थिएन । स्वास्थ्य चौकीमा गत एक महिनाबाट कोभिड–१९ को परीक्षण रोकिएको थियो ।
“हामीले के नै भन्न सक्छौँ र ? हामी परीक्षण गर्न चाहन्छौँ । तर, हामी गर्न सक्दैनौँ किनभने यो प्रशासनको निर्णय हो”, आफ्नो परिचय खोल्न नचाहने चिकित्सकले भने । “हामीले बिरामीलाई यहाँबाट ५–६ किलोमिटर टाढा पर्ने स्वास्थ्य केन्द्रमा पीसीआर परीक्षणको लागि पठाउने गरेका छौँ । त्यहाँ अझै पनि पीसीआर परीक्षण चलिरहेको छ । यति ठुलो स्वास्थ्य संस्था भएर पनि हामीले परीक्षण रोक्नुपर्नु निकै दुःखद कुरा हो”, उनले बताए ।
सिकन्डरपुर सामुदायिक स्वास्थ्य चौकीले वरपरका झन्डै २ सय वटा गाउँका बिरामी हेर्दै आएको छ ।
परीक्षणको अभावबीच बिहार राज्यसँग सिमाना जोडिएको बालिया जिल्लाका गाउँ र सहरमा कोभिड–१९ को बढ्दो सङ्क्रमण प्रस्ट देखिएको थियो । बालिया जिल्लाका स्वास्थ्य अधिकृत राजेन्द्र प्रसादले पनि यो कुरा स्वीकारेका छन् । यो पटक सङ्क्रमण अलि बढी नै फैलिएको छ । उनले भने, “गाउँ–गाउँँसमेत सङ्क्रमणबाट जोगिएका छैनन् ।”
उत्तर प्रदेशमा अप्रिल महिनाको पहिलो सातादेखि सङ्क्रमण बढ्न थालेको थियो । दोस्रो सातासम्म आइपुग्दा त सङ्क्रमणले विस्फोटक रूप लिइसकेको थियो । अप्रिल ८ को तथ्याङ्कअनुसार उत्तर प्रदेशमा ८ हजार ४९० जना सङ्क्रमित थपिएका थिए । त्यसअघि सबभन्दा बढी सङ्क्रमित सन् २०२० को सेप्टेम्बरमा भेटिएको थियो । त्यतिबेला ७ हजार १६ जना नयाँ सङ्क्रमित थपिएका थिए । थपिएका ८ हजार ४९० जना सङ्क्रमितमध्ये आधा त लखनउ, प्रयागराज, कानपुर र बारणसीमा सीमित थिए ।
अप्रिलको दोस्रो सातादेखि अवस्था दिनानुदिन भयावह बन्दै गयो । अप्रिल २५ मा उत्तर प्रदेशमा एक दिन थप सङ्क्रमितको सङ्ख्या झन्डै ३८ हजार पुगेको थियो । अप्रिल २७ को बिहानसम्म त्यहाँ ३ लाखभन्दा बढी सक्रिय सङ्क्रमित थिए । विज्ञहरूका अनुुसार सङ्क्रमितको वास्तविक तथ्याङ्क सरकारी तथ्याङ्कभन्दा बढी हुन सक्छ ।
सबभन्दा चिन्ताजनक अवस्था त भाइरस अब सहरमा मात्र सीमित छैन । उत्तर प्रदेशका ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधार त्यसै त अपुग छ । त्यसमाथि हालै सम्पन्न पञ्चायतको चुनावमा मतदानका लागि सङ्क्रमणको केन्द्र बनेका सहरबाट फर्केका मानिसहरूले अवस्थालाई अझ जोखिमपूर्ण बनाएको छ । उत्तर प्रदेशका विभिन्न जिल्लाका जनता, चिकित्सक र प्रशासनसँगको कुराकानीले त्यही सङ्केत गरेको छ ।
‘श्वास फेर्न सङ्कष्ट’
“मानिसहरू झिङ्गाजस्तै मरिरहेका छन्”, इमरान अहमेदले भने ।
बालिया सिकन्डरपुरका स्थानीय अभियन्ता अहमेदले मानिसहरूलाई अक्सिजन उपलब्ध गराउन भरपुर प्रयास गरिरहेका छन् । तर, उनले मुस्किलले मात्र सफलता पाएका छन् । “परिवारका सबै सदस्यहरूको उस्तै कथा छः अचानक ज्वरो आयो अनि तुरून्तै श्वास फेर्न गा¥हो भयो । तर, अक्सिजन भने कहीँ पनि छैन ।”
सिकन्डरपुर सामुदायिक स्वास्थ्य केन्द्रका चिकित्सकले यसबारे अझ प्रस्ट बनाए । “हाम्रो दैनिक बिरामी सङ्ख्या २ सयदेखि २५० जना हो । तीमध्ये ९० प्रतिशतमा खोकी, ज्वरो र श्वास फेर्न गा¥हो हुने समस्या लिएर आउने गरेका छन्”, उनले भने । अक्सिजनको सख्त खाँचो परेका बिरामीहरू दैनिक आठ–दस जना आउँछन् । हामीले उनीहरूलाई जिल्ला अस्पताल पठाउने गरेका छौँ ।
तर, उत्तर प्रदेशका जिल्ला अस्पतालहरूमा पनि अक्सिजनको कुनै सुनिश्चितता छैन । सीतापुरको बाबुपुरूवा गाउँमा शिवकान्त पाल अप्रिल २४ को दिन जिल्ला अस्पताल पुग्दा उनले अक्सिजन पाएनन् ।
पालकी ४२ वर्षकी आमा रामदेवी पाललाई अप्रिल २० देखि ज्वरो आइरहेको थियो । तर, अप्रिल २४ को बिहान उनलाई श्वास फेर्न पनि गा¥हो भयो ।
परिवारका सदस्यले तत्कालै अटोरिक्सा बोलाएर उनलाई नजिकको निजी अस्पतालमा पु¥याए । त्यहाँको चिकित्सकले झन्डै ३० किलोमिटर परको जिल्ला अस्पतालमा लैजान भने । रामदेवी पालको अक्सिजन मात्रा ३५ प्रतिशतमा झरेको थियो । सामान्यतः अक्सिजन लेभल ९५ प्रतिशतभन्दा माथि हुनुपर्छ ।
शिवकान्त पालले त्यहाँ बल्लबल्ल ७२ नम्बरको शय्या र एउटा अक्सिजन सिलिन्डर पाए । तर, सिलिन्डरमा अक्सिजन थिएन । साँझ त्यस्तै ६ः३० बजे रामदेवी पालको निस्सासिएरै निधन भयो । “हामी त्यहाँ बस्दा बस्दै मेरी आमाबाहेक अरू पाँच जना बिरामीको निधन भयो । सबै जना अक्सिजनकै खोजीमा थिए । ती सबै दृश्य मेरै आँखाले देखेको थिएँ”, २० वर्षका शिवकान्त पालले भने । विडम्बना ! सरकारी कार्यालयले त्यो दिन कोभिड–१९ को कारण एक जनाको पनि निधन नभएको तथ्याङ्क दियो ।
त्यसो हुनुको कारण बलियाका धनराज सिंहको जस्तै रामदेवी पालको पनि कोभिड–१९ को परीक्षण नै गरिएको थिएन ।
त्यस विषयमा प्रतिक्रिया सोध्न खोज्दा सीतापुरका प्रमुख मेडिकल अफिसरसँग सम्पर्क हुन सकेन । कार्यालयका उनका सहयोगीले उनी बैठकमा रहेको र जिल्लामा त्यस्तो खालको ‘कुनै समस्या नभएको’ बताए ।
अक्सिजनको खोजी
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले पटक–पटक आफ्नो राज्यमा अक्सिजनको कुनै अभाव नभएको मात्र दाबी गरेका होइनन्, बरू त्यस्ता ‘हल्ला’ फैलाएर ‘वातावरण बिथोल्ने’ को सम्पत्ति जफत गर्नेलगायतका कारबाही गर्न धम्की दिएका छन् ।
तर, उत्तर प्रदेशका विभिन्न ठाउँबाट प्राप्त खबरले त्यहाँ अक्सिजनको ठुलो अभाव भइरहेको देखाउँछ ।
उदाहरणको लागि नेपालसँगको सीमा जोडिएको एउटा गाउँका बासिन्दा सञ्जय कुसवाहाले श्वास फेर्न गा¥हो भएको आफ्ना ३५ वर्षका दाइ मनोज कुसवाहालाई अप्रिल १८ मा कुसीनगर जिल्लाको अस्पतालमा पु¥याए । त्यहाँ चिकित्सकहरूले उनलाई सुई दिए, तर अक्सिजन दिएनन् । आइतबार (साप्ताहिक बिदा) भन्दै दाइको कोभिड–१९ परीक्षण पनि गरिएन । “दाइको अवस्थामा कुनै परिवर्तन भएन । बाध्य भएर हामी निजी अस्पतालमा गयौँ”, उनले थपे ।
निजी अस्पतालमा पुगेलगत्तै कुसवाहाका दाजुलाई अक्सिजन दिइयो । तर, सञ्जयका अनुसार कोभिड–१९ को परीक्षण भने गरिएन ।
मनोज कुसवाहा निजी अस्पतालमा अक्सिजनको सहायतामा चार दिन बसे । तर, त्यसपछि भने त्यहाँ पनि अक्सिजनको अभाव भयो । “हामीलाई सिलिन्डरको व्यवस्था आफैले गर्न भने किनभने अस्पतालमा अक्सिजन सकिएको थियो”, सञ्जयले भने ।
अप्रिल २४ मा निजी अस्पतालले मनोज कुसवाहालाई गोरखपुरको अझ सुविधासम्पन्न बीआरडी मेडिकल कलेजमा लान भने । सञ्जयका अनुसार बीआरडी मेडिकल कलेजले मनोजलाई भर्ना गर्न मानेन । “उनीहरूले निजी अस्पतालबाट आएका बिरामीलाई नलिने बताए”, उनले भने ।
मनोजलाई कुशीनगर जिल्ला अस्पतालमा फिर्ता ल्याइयो । अक्सिजनको अभावकै कारण अप्रिल २५ मा उनको निधन भयो ।
कुशीनगरका प्रमुख मेडिकल अफिसरलाई यस विषयमा प्रतिक्रिया माग्न पटक–पटक फोन सम्पर्क गर्दा कुनै प्रतिक्रिया दिएनन् ।
‘सिलिन्डर आफै व्यवस्था गर’
अरू जिल्लाहरूमा पनि अवस्था उस्तै छ ः अस्पतालले बिरामीका आफन्तलाई आफै अक्सिजन सिलिन्डर व्यवस्था गर्न आग्रह गरिरहेका छन् ।
बहराइचमा अक्षय श्रीवास्तवकी आमाको अक्सिजन लेभल घट्दै गर्दा उनको परिवारले जसोतसो सिलिन्डरको व्यवस्था गरे । तर, उनीहरूले निकै दुःखद अवस्थामा सिलिन्डरको व्यवस्था गर्न सके । जसको लागि सिलिन्डर ल्याइएको थियो, त्यो आफन्तको अघिल्लो रात निधन भएकोले मात्र उनीहरूले अक्सिजन सिलिन्डर व्यवस्था गर्न सकेका थिए । “अक्सिजनको अभाव भएको हो वा होइन, मलाई थाहा छैन । तर, हामी जिल्ला अस्पतालमा आफ्नै अक्सिजन सिलिन्डर बोकेर पसेका थियौं”, श्रीवास्तवले भने ।
आइतबार बिहान श्रीवास्तव परिवारलाई अक्सिजन सिलिन्डर भर्न हम्मेहम्मे भइरहेको थियो । जिल्ला अस्पतालका अधिकारीहरूले सबै अक्सिजन कोभिड वार्डको लागि लगिसकेको र श्रीवास्तवकी आमाको अझै पनि कोभिड पुष्टि नभएकोले अक्सिजन दिन नमिल्ने बताएका थिए ।
त्यसयता श्रीवास्तवकी आमालाई कोभिड वार्डमा सारिएको छ । त्यहाँ अस्पताल आफैले अक्सिजनको व्यवस्था गरिरहेको छ ।
बहराइचका प्रमुख मेडिकल अफिसर राजेश मोहन श्रीवास्तवले जिल्लामा प्रशस्त सघन उपचार शय्या भएको बताए । कोभिड पोजिटिभ हुनेको दर १.५ प्रतिशत छ । उनले भने, “मानिसहरूलाई जे चाहिएको हो सबै पाइरहेका छन् ।”
तर, उत्तर प्रदेशमा अन्य थोरै स्वास्थ्य अधिकारी र चिकित्सकहरू मात्र उनीजस्तै अवस्थाप्रति उत्साहित छन् । उत्तर प्रदेश सरकारअन्तर्गत पूर्वी क्षेत्र हेर्ने स्वास्थ्य विभागका एक जना वरिष्ठ सरकारी अधिकारीको परिवार नै अहिले कोभिड सङ्क्रमित भएका छन् । परिवारका कसैलाई पनि अहिलेसम्म अक्सिजन दिन नपरेको भन्दै उनी आफ्नो भाग्यप्रति मख्ख थिए ।
गाउँ–गाउँमा निधन
बनारस हिन्दू विश्वविद्यालयअन्तर्गत चिकित्सा विज्ञान प्रतिष्ठानका भाइरस अनुसन्धान तथा उपचार प्रयोगशालाका प्रमुख प्राध्यापक गोपालनाथले अवस्था ज्यादै निराशाजनक भएको बताए । “गाउँ–गाउँमा भाइरस यसरी सामुदायिक स्तरमा फैलिरहेको छ कि मानिसहरूलाई के गर्ने र कहाँ जाने केही थाहा निधो गर्न सकेका छैनन्”, उनले भने । ठुलो सङ्ख्यामा परीक्षण गर्न पनि गा¥हो छ किनभने यति धेरै नमुना सङ्कलन गर्न स्वास्थ्यकर्मी नै कहाँ छन् र ? अहिलेको खाँचो पूरा गर्न हामीसँग भएको भन्दा दस गुणा बढी स्वास्थ्यकर्मी चाहिन्छ ।
जौनपुर–बराणसी सीमा क्षेत्रको एउटा गाउँका निवासी प्राध्यापक नाथले आफ्नो गाउँमा तत्कालै जान आफूलाई डर लागिरहेको बताए । उनले भने, “ग्राम पञ्चायतको चुनाव स्थगित गर्नुपथ्र्यो किनभने त्यतिबेला ठुल्ठुला सभाहरूमात्र भएनन् बरू चुनावमा मत हाल्न सहरमा बसेका मानिसहरू भाइरस बोकेर गाउँ गाउँ पुगे ।”
चार चरणमा हुँदै गरेको पञ्चायतको चुनाव अप्रिल १५ बाट सुरू भएको थियो । उत्तर प्रदेशमा व्यापक स्तरमा कोभिड–१९ को सङ्क्रमण फैलिए तापनि अलाहावाद उच्च अदालतले चुनाव स्थगित गर्न मानेन ।
चुनावको सुरूमा कोभिड–१९ को सङ्क्रमण बढ्नेबारे नाथको भय तर्कसङ्गत छ । बराणसी सहरको नजिकै अवस्थित रामनामा हरेक दिन चार–पाँच जना मानिसको निधन भइरहेको छ । उनीहरूमा कोभिड–१९ का लक्षण देखिएको अमित पटेलले भने । उनकी श्रीमती गाउँका निर्वाचित प्रमुख छिन् ।
“गए राति मात्र मेरो गाउँमा तीन जना मानिसको निधन भयो”, उनले भने, “तर उनीहरूमध्ये कसैको पनि कोभिड परीक्षण गरिएन ।”
रामनाको प्राथमिक स्वास्थ्य चौकीमा न भाइरसको परीक्षण गरिएको छ न त्यसका लक्षण भएका बिरामीको उपचार नै भइरहेको छ । यतिबेला त्यहाँ कोभिडको खोपमात्र दिइरहेको छ ।
वराणसीका प्रमुख मेडिकल अफिसर प्रतिक्रियाको लागि उपलब्ध भएनन् । उनको कार्यालयका प्रतिनिधिले बताएअनुसार मेडिकल अफिसर सोमबार राति निधन भएका आफ्ना पिताको अन्तिम संस्कारमा व्यस्त छन् । यद्यपि, कार्यालयका प्रतिनिधिले जिल्लाको अवस्था निकै खराब भएको बताए ।
“सम्भवतः उत्तर प्रदेशकै सबभन्दा खराब अवस्था यहाँ छ”, उनले भने ।
जोडिएको चाण्डौलीको चकाईस्थित जिल्लाको संयुक्त अस्पतालले ठुलो सङ्ख्यामा ग्रामीण जनसङ्ख्याको उपचार गर्दै आएको छ । त्यहाँको अवस्था पनि भद्रगोल छ । अस्पतालमा पचास शय्या कोभिड बिरामीको लागि अलग राखिएको छ । “गत वर्ष यही समयमा अधिकतम १३ देखि १४ वटा शय्या भरिएका थिए”, कोभिड वार्डको जिम्मेवारी लिएका उषा यादवले भनिन्, “अहिले कोभिड वार्डमा एक सय बिरामी छन् । जताततै अस्थायी शय्याहरूमा बिरामी छन् । अब कस्तो भयो होला त्यहाँको दुरवस्था !”
मोफसलका जिल्लाहरूमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्याको वृद्धिले त्यसै पनि अपुग बनेका लखनउजस्ता सहरका स्वास्थ्य पूर्वाधारमाथि थप बोझ थपिएको छ ।
“लखनउबाट आएका बिरामीको मात्र हामी उपचार गरिरहेका छैनौँ । गाउँ–गाउँबाट हाम्रो अस्पतालमा बिरामीको ओइरो लागिरहेको छ”, लखनउमा निजी अस्पताल र मेडिकल कलेज चलाइरहेका मधुलिका सिंहले भनिन्, “फैजावाद, गोन्डा, रैबराली, विस्टा, अम्बेदकर नगर सबैतिरबाट मानिसहरू लखनउमै ओइरिरहेका छन् । त्यहाँ कहीँ पनि मनग्य अस्पताल छैन ।”
स्रोत : स्क्रोल डट आइएन
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *