भर्खरै :

सङ्क्रमण र निषेधित क्षेत्र बढ्दै

काठमाडौँ, १६ वैशाख । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले बिहीबारबाट लागु गरेको निषेधाज्ञाको क्रममा तीन सहरका अधिकांश सहर बजारहरू सुनसान रहे । बिहान केही घण्टामा बजारमा मानिसको आवतजावत र किनमेल भए पनि दिउँसो बजार बन्द थियो । आकस्मिक र अनुमति प्राप्त सवारी साधनबाहेक कुनै पनि सवारी साधन सडकमा चलेको देखिएन । ट्राफिक प्रहरीले सडकमा कडाइका साथ सवारी साधनको चेक जाँच गरेका थिए ।
मास्क नलगाई अथवा बिनाप्रयोजन सडकमा आवतजावत गरेका सर्वसाधारणले सुरक्षाकर्मीले केही बेर नियन्त्रणमा लिई सचेत बनाउने काम गरेका थिए ।
बिहीबार बिहानदेखि निषेधाज्ञा लागू हुने भएपछि बुधबार दिन र रातभर उपत्यकाबाट बाहिरिने सवारी साधनहरू व्यस्त थिए । एक साताको भने पनि अघिल्लो पटकजस्तै लकडाउन लम्बिने सम्भावनालाई ध्यानमा राखी लाखौँको सङ्ख्यामा मानिसहरू उपत्यकाबाट बाहिरिएका थिए ।
हटस्पट बाँके जिल्ला
नेपाल – भारत सीमा जोडिएको बाँके जिल्ला सुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो । प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भुइँमा राखेर उपचार गराइएको छ भने बिरामीले सघन उपचार कक्ष पाउन नसक्दा जनजीवन थप प्रभावित बन्दै गएको छ ।
भारतबाट आएका व्यक्तिको परीक्षण गरी उचित व्यवस्थापन नभई खुलमखुला नेपाल प्रवेश गर्दा समस्या जटिल भएको जनस्वास्थ्य विज्ञको अनुमान छ ।
हुन पनि विगत वर्षमा भारतमा भयावह स्थिति भएकोमा त्यहाँबाट आएका व्यक्तिका कारण त्यसको केही हप्तामै नेपालमा पनि महामारी फैलिएको थियो । यसपालि पनि भारतमा विश्वमै उच्च गतिमा महामारी फैलिएको केही हप्तामै नेपाल प्रभावित हुन पुगेको तथ्य स्पष्ट छ । यसको मुख्य समस्या भनेको खुला सिमाना हो । भारतमा अक्सिजन नपाएर कोरोना सङ्क्रमितको मृत्यु भएको समाचार बाहिर आइरहेकै छ ।
भारतकै अवस्था नेपालमा हुने हो कि भन्ने चिन्ताका बीच सरकारको निर्देशनबमोजिम प्रभावित जिल्लामा अहिले निषेधको आदेश जारी गरेर सङ्क्रमण नियन्त्रणको प्रयास भइरहेको छ ।
पन्ध्र जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा
गृहमन्त्रालयबाट प्राप्त विवरणमा आजसम्म १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको घोषणा भएको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको थियो ।
सोही अधिकार प्रयोग गर्दै बाँकेलगायतका केही जिल्लाले यसअघि नै आदेश जारी गरेका थिए भने धेरै जिल्लाले आजबाट लागू हुनेगरी एक हप्ताका लागि अत्याश्यक बाहेकका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका छन् । सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख
१३ गतेबाट निषेधको आदेश जारी गरेको थियो । उक्त आदेश २० गतेसम्म जारी रहनेछ । त्यसपछि थप्ने अधिकारसमेत प्रजिअलाई नै रहेको छ । सुर्खेत जिल्लाले वैशाख १४ गतेबाट लागू हुनेगरी आदेश जारी गरेको थियो । आदेश वैशाख २१ गते राति १२ बजेसम्म जारी रहनेछ ।
काठमाडौँ उपत्यकालगायतका ११ जिल्लाले बिहीबार बिहानदेखि लागू हुनेगरी आदेश जारी गरेको छ । कुनै जिल्लाले बिहान ६ बजेदेखि नै लागू गरेको छ भने कुनै जिल्लाले राति १२ बजे शुक्रबार बिहानबाट आदेश कार्यान्वयनमा लैजाँदै छ ।
यसरी आदेश जारी गर्ने अन्य जिल्लामा कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरी रहेका छन् । त्यसमध्ये पाल्पा र चितवनमा आज राति १२ बजेबाट र सल्यानमा १९ गते बिहान ६ बजेबाट आदेश कार्यान्वयनमा जाँदै छ । अन्य जिल्लामा भने आज बिहानैदेखि लागू भएको छ ।
यस्तै तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक आदेश जारी भएको छ । कालिकोटमा १० गतेबाट, बाग्लुङमा ७ गतेबाट र बर्दियामा १३ गतेबाटै लागू गरिएको हो ।
बाग्लुङको बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान क्षेत्रमा लागू गरिएको छ । उक्त क्षेत्रमा यसअघि नै लागू गरिएको थियो । त्यस्तै कालिकोटमा खाँडाचक्र नगरपालिका ११ को रेङ्गिलमा लागू गरिएको छ ।
बर्दियाको गुलरिया नगरपालिका–५ र ६ को सम्पूर्ण क्षेत्र, बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर, कतर्निया बजार, मधुवन नगरपालिकाको लाली बजार ओराली बजार, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरी गाउँ र ठाकुरद्वारा बजार, राजपुर नगरपालिकाको बजार क्षेत्र, बढैयाताल गाउँपालिकाका बजार क्षेत्र तथा गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको मन्त्रालयले जनाएको छ ।
बढ्दै सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सार्वजनिक तथ्याङ्कअनुसार थप चार हजार ९२८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ५६० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ््ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसमा १२ हजार ५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः चार हजार ८३१ र ९७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ८८८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८७ हजार १६७ रहेको छ । निको हुने दर भने ८८ दशमलव दुई प्रतिशत रहेको छ ।
अहिले देशभर ३४ हजार ११७ सक्रिय सङ्क्रमित छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ को पीसीआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार २४६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
उपत्यकामा सङ्क्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ५६१ सङ्क्रमित थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा एक हजार १२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ सङ्क्रमित थपिएका हुन् । उपत्यका बाहिर ५२८ र बाँकेमा ४८९ सङ्क्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ सङ्क्रमित थपिएका छन् ।
(विभिन्न सञ्चारस्रोतको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *