भर्खरै :

पुँजीवादी व्यवस्थामा सत्ताको चलखेल स्वाभाविक

पुँजीवादी व्यवस्थामा सत्ताको चलखेल भइरहन्छ । सरकार टिकाउने र ढाल्ने खेल पनि बेलाबखत भइरहेकै हो । सत्ता टिकाउनकै निम्ति सत्तारूढ दलका नेताहरू कहिले सांसद किनबेचमा त कहिले सांसद अपहरणमा लागेको घटना पनि नेपालको राजनीतिमा देखिरहेकै हो । कहिलेकाहीँ त पार्टी फुटाउने प्रयाससमेत हुन्छ । अहिले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीको चर्चाको विषय बनेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङविरूद्धको अविश्वास प्रस्तावमाथि छलफल भइरहेकै बेला सांसद शाही बैठकमा अनुपस्थित भएपछि या एकाएक कहाँ गएको भन्ने थाहा नभएपछि चर्चा उचाइमा पुगेको हो ।
सांसद शाहीको अत्तोपत्तो नभएकै कारण गण्डकी प्रदेशको सदन स्थगित भयो । पछि उनी अस्पतालमा भर्ना भएको ज्ञात भयो । अस्पताल भर्ना हुन्नैपर्ने व्यथा हो या त्यसभित्र अन्य कुनै राजनीतिक रहस्य छ, त्यो पछि थाहा हुनेछ । राष्ट्रिय जनमोर्चाले पनि खोजीनीति र अनुसन्धानको विषय भएको जनाएको छ । त्यो घटना संयोग हो या नियोजित समयले बताउनेछ । घटना संयोगले भएको हो भने कसैलाई केही भन्नु छैन । तर, त्यो नियोजित हो, त्यसमा सांसद किनबेचको गन्ध छ भने त्यो निन्दनीय कदम हो ।
सांसद किनबेच र अपहरणमा नेका र एमालेका नेताहरू लागेको विगतको अनुभव छ । जिन्दगीभर कमाउन नसक्ने पैसा एकै दिन एकै रात जोड्न पाएपछि कति नेता र सांसदहरू फसेका बग्रेल्ती उदाहरणहरू छन् । सत्ता समीकरण र सत्ता हेरफेरको निम्ति हुने यस्ता घटनाहरू पुँजीवादी व्यवस्थामा भइरहेको हामीले देख्दै र भोग्दै आएका हौँ । राष्ट्रिय जनमोर्चाका सांसद यस्तो गोटीमा नफसून् भन्ने चाहना हरेक राजनीतिक नेता, सांसद र कार्यकर्ताले राख्नु स्वाभाविक हो ।
सांसद किनबेच गर्ने र अपहरण गर्ने काम राजनीतिक बेइमानी हो । सांसदजस्तो गरिमामय पदलाई वस्तुसँग तुलना गरेर किनबेचमा लाग्ने र बिक्ने दुवै काम गलत हो । कम्युनिस्ट भनिने नेता, मन्त्री र सांसदहरूले यस्तो काम झनै गर्नुहुँदैन । तर, नेपालका सत्तारूढ कम्युनिस्ट नेताहरू यस्तो फोहर राजनीतिमा फसेका छन् । फोहर राजनीतिमा हामफाल्ने यस्तै नेताहरूको कारण कम्युनिस्ट पार्टीको बदनाम भइरहेको हो । एमाले बदनाम हुनुको कारण पनि यस्तै फोहरी राजनीतिले गर्दा हो । सिद्धान्त, दर्शन, विचार बन्धक राखेर, इज्जत, प्रतिष्ठा, चरित्र, नैतिकता छोडेर पद र पैसामा भुल्ने राजनीति भइरहेसम्म देशमा सुशासन हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *