जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
मध्य र सुदूरपश्चिम नेपालको नाका मानिने बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डका अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर पनि उपचारमा खटिएको समाचारले सबैलाई गम्भीर बनाएको हुनुपर्छ । यसबाट मानवता, कर्तव्य तथा जिम्मेवारी अझै पनि जिउँदै छ भन्ने प्रस्ट पार्छ । दिलोज्यान खटिएका ती सबै स्वास्थ्यकर्मीको सक्रियता, समर्पण तथा मनोबलको निम्ति सलाम ¤ सङ्क्रमित चिकित्साकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना !
कोभिडको सबैभन्दा ठुलो औषधि नै उच्च मनोबल मानिएको छ । यसको निम्ति चिकित्साकर्मीको मनोबल पनि उत्तिकै उच्च हुनुपर्नेमा विवाद छैन । सेतो कोट लगाउने सेतो मनका चिकित्साकर्मीले सायद आफ्नो ‘हिपोक्रेटिक ओथ’ लाई स्मरण गर्दै काम गरिरहेका छन् । ‘तोकिएको काम मेरो ज्ञान, विवेकले जाने बुझेसम्म इमान, धर्म तथा कर्तव्य सम्झी, देश र सरकारप्रति बफादार रही भय, पक्षपात वा द्वेष नराखी, लोभ, लालच, मोलाहिजा नगरी अनुशासनमा रही’ सेवा दिने प्रण गरेका हुन्छन् प्रत्येक चिकित्साकर्मीले । यो शपथको सम्मान गरी प्रत्येक चिकित्साकर्मीले अविचलित भई कर्तव्यपथमा लम्किनु नेपालीको गर्वको विषय हो ।
फ्लोरेन्स नाइटिङ्गेलको जीवनी पढेर प्रेरित हुने आज देशमा हजारौँ नर्स छन् । चिनियाँ जनताको मुक्तिमा खटिने क्यानेडेली चिकित्सक नर्मन वेथुन र भारतीय चिकित्सक कोटनिसको समर्पणबाट उत्साहित चिकित्सक पनि धेरै होलान् । क्युवाका सयौँ चिकित्साकर्मीले विभिन्न देशमा खटिई कोभिड महामारी नियन्त्रण प्रयास गरिरहेका छन् । गत वर्ष चीनको उहान कोभिड–१९ महामारीको को पहिलो हटस्पट बन्दा रातदिन भोकप्यास र निद्रा नभनी र सङ्क्रमणको जोखिम मोलेर चिकित्साकर्मी खटिएका कथाहरूले पनि नेपाली चिकित्साकर्मीलाई काम गर्न मलजल गरेको हुनुपर्छ ।
अग्रपङ्क्तिमा खटिएर सङ्क्रमितको सेवा गर्ने स्वास्थ्यकर्मीले नेपाल सरकारबाट घोषित जोखिम भत्तासमेत पाएका छैनन् भन्ने समाचार धेरै सुनिएको हो । स्वास्थ्यकर्मीमध्ये धेरैको बीमा भएको छैन । कतिपय अस्पतालमा त नियमित तलबसमेत रोकिएको सुनिन्छ । यस्तो कुरा दोहोरिरहनु राम्रो होइन । चिकित्सकको निम्ति आवश्यक उपयुक्त पीपीईलगायत सुरक्षाका साधनको बन्दोवस्त हुनु आवश्यक छ । दुर्गम क्षेत्रमा खटिएका चिकित्साकर्मीको ज्यान जोखिममा नपरोस् भन्नेमा पनि उत्तिकै ख्याल गर्नु आवश्यक छ ।
स्वास्थ्यकर्मी स्वयम् पनि सुरक्षित रही उपचार कार्यमा खटिनु आवश्यक छ । चिकित्साकर्मीको थोरै लापरबाहीले पनि बिरामीको ज्यान जाने वा आफ्नो स्वास्थ्य जोखिममा पर्ने सम्भावना हुन्छ । तिनले पनि उचित मास्क उचित तरिकाले लगाउने, निर्धारित पीपीई लगाउने र स्वास्थ्यका सबै मापदण्ड पालना गर्नु आवश्यक छ ।
नेपाली समाजमा डाक्टरप्रतिको सम्मान आजसम्म पनि उच्च पाइन्छ । केटाकेटीलाई शुभाषित दिँदा डाक्टर बनोस् भन्ने चलन व्यापक छ । महामारीको बेला डाक्टरको महत्व अझै बढ्ने स्वाभाविकै हो । प्रत्येक स्वास्थ्यकर्मीको त्याग र समर्पणले कैयौँ नेपालीको ज्यान जोगिने सबैको आशा छ । स्वास्थ्यकर्मीको उत्साह र समर्पण विजयी हुने सुनिश्चित छ । बिरामीको रोदन, आफन्तजनको चिच्याहटबाट ती कहिल्यै विचलित नहोऊन् । सबै स्वास्थ्यकर्मीलाई सलाम !
Leave a Reply