भर्खरै :

सक्वको म राजदास – ८२ / समाजवादी साहित्यका प्रवर्तक म्याक्सिम गोर्की

विश्व विख्यात रुसी तथा सोभियत साहित्यकार गोर्कीको खास नाम अलेक्सी म्याक्सिमोभिच पेस्कोभ हो । गोर्कीका पिताको नाम म्याक्सिम पेस्कोभ हो । पिताको पहिलो नाम म्याक्सिमबाट गोर्कीको नामको बीचमा ‘म्याक्सिमोभिच’ आएको हो । रुसमा कुनै व्यक्तिको नामको बीचको अथवा दोस्रो नामबाट उनको नाम के हो भन्ने जनाउँछ । ‘पेस्कोभ’ बुबाको जस्तै गोर्कीको थर हो । गोर्कीको पहिलो नाम अलेक्सि हो । तर, विश्व साहित्य जगतमा उनी म्याक्सिम गोर्की भनेर चिनिन्छन् ।
‘गोर्की’ म्याक्सिमको उपनाम अथवा साहित्यिक नाम हो । रुसी भाषामा ‘गोर्की’ को अर्थ ‘पिरो’ हो । तर, यसको भावनात्मक अर्थ ‘ठुलो पीडा’ भन्ने बुझिन्छ । धेरै दुःखी जीवनलाई ‘गोर्की’ को जस्तो जीवन भनेर बुझिन्छ । यही भावनात्मक अर्थ बोकेको शब्द हो, ‘गोर्की’ ।
सन् १८६८ मार्च २८ मा रुसको ‘निझ्नी नोभ्गोरोड’ सहरमा जन्मेका गोर्कीको परिवार एक साधारण गरिब परिवार थियो । उनको बाल्यकाल धेरै दुःखदायी थियो । एघार वर्ष हुँदा गोर्कीका मातापिता बितेका कारण उनलाई आफ्नी हजुरआमाले हुर्काएकी थिइन् । सन् १८८० मा बा¥ह वर्षको हुँदा उनी घरबाट भागे । दुःख कष्टबाट पीडित गोर्कीले सन् १८८७ मा आत्महत्याको असफल प्रयास गरे । पछि उनी पाँच वर्षसम्म विशाल रुसी भूमिमा पैदल यात्रामा हिँडे । पैदल यात्रामा रहँदा उनले विभिन्न क्षेत्रमा काम गरे र यही अनुभव पछि उनको बृहत् साहित्य लेखनको खजाना भयो । उनले आफ्नो पीडाले भरिएको जीवनको याद भइरहोस् भन्ने हिसाबमा आफ्नो नाम पछाडि ‘गोर्की’ लेखे । यही नामबाट उनी आज विश्व विख्यात छन् । संसारभरि उनका कृतिहरू छरिएका छन् ।
गोर्कीका सहयात्रीहरूमध्ये विश्व विख्यात लेखक तथा उपन्यासकार लेभ टल्सटोई पनि हुन् । लेभ टलस्टोई गोर्कीका शुभचिन्तक पनि हुन् । एकचोटि टल्स्टोईले गोर्कीलाई भनेका थिए, “गोर्की, तिमी लेख्नुभन्दा पहिले पढ्ने गर्नू । धेरै पढ्नू र अनि लेख्नू । यदि मैले नपढेको भए मेरो ‘युद्ध र शान्ति’ ले प्रसिद्धि पाउने थिएन ।”
लेभ टल्स्टोई विश्वका एक महान् लेखक एवम् उपन्यासकार हुन् । उनलाई उनको ‘युद्ध र शान्ति’ उपन्यास पुस्तकले साहित्य जगतको सर्वोच्च शिखरमा पु¥यायो । १९ औँ शताब्दीको विश्वमा उनी सर्वोत्कृष्ट उपन्यासकार भए ।
लेभ टल्स्टोईलाई धेरैले लिओ टल्स्टोई लेख्छन्, यो ठीक पनि हो । रुसी भाषामा सिंहलाई लेभ भनिन्छ र अङ्ग्रेजीमा लिओ भनिन्छ । त्यसकारण ‘लेभ टल्स्टोई’ र ‘लिओ टल्स्टोई’ रुसी र अङ्ग्रेजी भाषा दुवैमा ठीक छ ।
टल्सटोईका सर्वोत्कृष्ट उपन्यास ‘युद्ध र शान्ति’ लाई अङ्ग्रेजीमा ‘वार एन्ड पीस’ भनिन्छ भने रुसी भाषामा ‘ब्वाइना र मीर’ भनिन्छ । रुसी भाषामा ‘ब्वाइना’ भनेको युद्ध र ‘मीर’ भनेको शान्ति हो ।
गोर्की एक लोकप्रिय साहित्यकार बन्नुभन्दा पहिले उनी विभिन्न पत्रिकाहरूमा लेख्थे । सन् १८९२ मा जर्जियाको राजधानी तिफिलिसमा ‘काफकाज’ भन्ने पत्रिकामा उनको पहिलो कथा ‘माका र छुद्रा’ प्रकाशित भयो । त्यसबेलादेखि उनले आफ्नो नाम पछाडि ‘गोर्की’ लेख्न थाले । जर्जियामा बस्दा उनी रेलको लागि निर्माण गर्ने एक मेटल कम्पनीमा काम गर्दथे ।
गोर्कीको पहिलो प्रकाशित पुस्तक ‘निबन्ध र कथाहरू’ ले धेरै प्रशंसा पायो । सन् १८९८ मा प्रकाशित यस पुस्तकले गोर्कीलाई एक सफल साहित्यकारको दर्जा दियो । त्यसबेला उनी ३० वर्षका थिए ।
रुसका अर्का चर्चित कथाकार (हास्यव्यङ्ग्य कथाकार) आन्टोन चेखोभ पनि गोर्कीका सुपरिचित सहयात्री थिए । तत्कालीन रुसी समाजका हास्यव्यङ्ग्य लघु कथाका प्रखर साहित्यकार आन्टोन चेखोभ पनि एक रुसी महान् साहित्यकार हुन् ।
साहित्यको उद्देश्य मूलरूपमा नैतिक र राजनैतिक परिवर्तनको लागि हुनुपर्छ भन्ने धारणा गोर्कीको थियो । यसले विश्वमा ठुलो सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने उनको बुझाइ थियो । त्यसैकारण उनले आफ्ना साहित्यिक कृतिहरूमा धेरैजसो सर्वसाधारण दुःखी गरिब, मजदुरहरूको पीडा, सङ्घर्ष र उत्पीडनको बारेमा लेख्न थाले । निम्न स्तरका श्रमिकहरूमा ठुलो मानव ह्दय लुकेको हुन्छ भन्ने कुरा दर्शाउन उनी प्रयास गर्थे । यही कुराले उनको मनभित्र स्वतस्फुर्तरूपमा समाजवादको भावना जागृत भयो । यसले गर्दा गोर्की एक साहित्यकारमात्र नभई एक राजनीतिक व्यक्तिको रूपमा पनि प्रकट भए । उनले रुसको सामाजिक, न्यायिक र राजनीतिक परिवर्तनको लागि रचना लेख्न थाले । यसले गर्दा गोर्कीको लोकप्रियता साहित्यिक जगतमा मात्र सीमित नभई विशाल रुसी काफकाज क्षेत्रका श्रमिक र मजदुरहरूबीच पनि बढ्न थाल्यो । गोर्कीको प्रशंसा यत्रतत्र हुनथाल्यो । सन् १८९९ सम्ममा राजनीतिक धारणाले गर्दा उनी माक्र्सवादी राजनीतिक गतिविधिमा संलग्न हुन थाले । तत्कालीन जार शासनको विरुद्धमा उत्रिन थाले । यसैकारण उनी पटकपटक पक्राउमा परे । यसले गर्दा उनका धेरै क्रान्तिकारी सहयोगीहरू बढ्न थाले ।
सन् १९०२ मा उनले पहिलो पटक विश्व कम्युनिस्ट नेता महान् अक्टोबर समाजवादी क्रान्तिका प्रवर्तक भ्लादिमीर इलिच लेनिनसँग भेट गरे । दुवै असल मित्रहरू बने । सन् १९०२ मा गोर्की रुसी साहित्यिक प्रतिष्ठानको सदस्यमा नियुक्त भए तर तत्कालीन जार शासक निकोलास द्वितीयलाई यो कुरा मान्य भएन र गोर्कीको सो पद खोसियो । जार निकोलास द्वितीयको यो कदमको विरोध गर्दै विख्यात साहित्यकारद्वय आन्टोन चेखोभ र भ्लादिमीर कारोलेन्कोले उक्त साहित्यिक प्रतिष्ठान त्यागे ।
सन् १९७० देखि १९७५ सम्म सोभियत सङ्घमा अध्ययनरत छँदा मैले म्याक्सिम गोर्कीका उपन्यासहरूमा आधारित सोभियत फिल्म र लोकप्रिय उपन्यास ‘आमा’ मा आधारित फिल्म धेरै पटक हेरेको थिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *