भर्खरै :

प्रजग कोरियासँग ‘व्यवहारिक अवधारणा’ अन्तर्गत सम्पर्कमा संरा अमेरिका

वाशिङ्टन, १ मे । संरा अमेरिकाले प्रजग कोरियासँगको कूटनीतिबारे थप अध्ययन गर्ने र ‘व्यवहारिक अवधारणा’ अवलम्बन गर्ने संरा अमेरिकी राष्ट्रपति कार्यालयले शुक्रबार बताएको छ ।
राष्ट्रपति कार्यालयका सञ्चार सचिव जेन पीसाकीले सञ्चारकर्मीहरूलाई बाइडेन सरकारले प्रजग कोरियाबारे संरा अमेरिकी नीतिको पुनरावलोकन पुरा गरेको बताइन् ।
“हाम्रो नीति कुनै ठुलो लेनदेनको हुनेछैन न त यसले कुनै रणनीतिक धैर्यतामा भर पर्छ”, उनले भनिन् । “हाम्रो नीति गतिशील व्यवहारिक अवधारणामा आधारित हुनेछ । त्यसले प्रजग कोरियासँग कुटनीतिको लागि ढोका खोल्नेछ । साथै संरा अमेरिका, उसका साझेदार अनि परिचालित सेनाको सुरक्षामा व्यवहारिक प्रगति गर्नेछ”, उनले भनिन् ।
‘रणनीतिक धैर्यता’ र ‘ठुलो लेनदेन’ शब्दले ओबामा र डोनाल्ड ट्रम्प सरकारअन्तर्गत प्रजग कोरियाप्रति संरा अमेरिकी नीतिलाई सङ्केत गर्छ ।
पीसाकीले कोरियाली प्रायःद्वीपको पूर्ण आणविक निःशस्त्रीकरण नीतिगत लक्ष्य कायम रहने बताउँदै भनिन्,“यो लक्ष्य हासिल गर्ने विगतका चार सरकारका प्रयास सफल भएनन् ।”
उनले संरा अमेरिकाले यी विषयमा दक्षिण कोरिया, जापान र अन्य आफ्ना साझेदारहरूसँग कुराकानी अघि बढाउने बताइन् ।
गत महिना राष्ट्रपति जो बाइडेनले पत्रकारहरूलाई प्रजग कोरिया आफ्नो सरकारको प्राथमिक विदेश नीतिमा पर्ने बताएका थिए । राष्ट्रपति कार्यालयले विभिन्न माध्यमबाट बाइडेन सरकारले प्रजग कोरियासँग सम्पर्क गरिरहेको तर कुनै प्रतिक्रिया भने आइनसकेको बताएको छ ।
प्रजग कोरियाका उपविदेशमन्त्री छोई सोन हुईले मार्च महिनामा संरा अमेरिकाले ‘आफ्नो आक्रामक नीति फिर्ता नगर्दासम्म’ प्रजग कोरिया सरकार संरा अमेरिकी सरकारको सम्पर्कमा नजाने बताएका थिए ।
सन् २०१९ को फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा प्रजग कोरियाका नेता किम जङ उन र संरा अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको शिखर सम्मेलन बिनानिष्कर्ष टुङ्गिएपछि आणविक निःशस्त्रीकरणसम्बन्धी दुईपक्षीय वार्ता रोकिएको थियो ।

One response to “प्रजग कोरियासँग ‘व्यवहारिक अवधारणा’ अन्तर्गत सम्पर्कमा संरा अमेरिका”

  1. प्रमोद न्यौपाने (दैलेख) says:

    सिङापुर मा भयको थियो नि!!्् दुई रास्ट्रपति बिचको भेटबार्ता!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *