भर्खरै :

‘संस्कृति शिरोमणि’ जोशीलाई पत्नीशोक

 
ललितपुर, १८ वैशाख । ‘संस्कृति शिरोमणि’ हरिराम जोशीलाई पत्नीशोक परेको छ । जोशीकी श्रीमती कदमकेशरी जोशीको निधन वैशाख १४ गते राति मानभवन, ललितपुरस्थित आफ्नै घरमा भएको थियो ।
‘जोशी रिसर्च इन्स्टिच्युट’ की प्रोपाइटरसमेत रहेकी श्रीमती जोशीको दाहसंस्कार पशुपति आर्यघाटमा गरिएको थियो । उहाँलाई माइला पुत्र दीपकरामले दागबत्ती दिनुभएको थियो ।
मृतक जोशी केही वर्षदेखि डिमेन्सिया (विस्मरण) रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समयमा मधुमेह र पिसाबसम्बन्धी रोग थपिएको पारिवारिक स्रोतले बताएको छ ।
मृतक जोशीको जन्म विसं १९९४ असार १२ गते काठमाडौँ थायँमरूमा भएको थियो । मिरमान र ज्वालादेवी मास्केकी सुपुत्री श्रीमती जोशीका तीन छोरामध्ये जेठा प्रदीपरामको निधन २०७० वैशाख १ गते भएको थियो । उहाँकी एक छोरी हुनुहुन्छ ।
श्रीमती जोशीकै सक्रिय सहयोगमा सन् १९८० मा स्थापित जोशी रिसर्च इन्स्टिच्युटले सन् १९८१ देखि ‘रोलम्ब’ नामको अनुसन्धानात्मक वार्षिक जर्नल प्रकाशित गर्न थालेको थियो । रोलम्बका ३१ वटा अङ्कहरू प्रकाशित छन् ।
हालै भक्तपुर साकोसद्वारा प्रकाशित लेखक हरिराम जोशीको पुस्तक ‘मेरा अनुभूतिहरू’ श्रीमती जोशीमा समर्पित गरिएको छ ।
मृतक जोशी ‘संस्कृति शिरोमणि’ हरिराम जोशीको लेखनको मूल प्रेरणास्रोत मान्नुहुन्छ, इतिहासकार प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठ ।
श्रीमती जोशीको सात दशकको सहयात्राकै कारण लेखक हरिराम जोशीले इतिहास तथा संस्कृति विषयका करिब साढे दुई दर्जन पुस्तक प्रकाशित गर्ने सफलता पाउनुभएको प्रा.डा.श्रेष्ठको भनाइ छ । उहाँ भन्नुहुन्छ, “मैले २०४४ सालदेखि हरिराम दाइसँग सङ्गत गरेको छु । जुनसुकै कार्यक्रममा भाउजूले उहाँलाई साथ दिनुहुन्थ्यो । घर जाँदा जहिलेसुकै भाउजूले प्रेमपूर्वक आदर–सत्कार गर्नुहुन्थ्यो ।”
लेखक हरिराम जोशीले ‘प्राचीन नेपाल’, ‘नेपालको प्राचीन अभिलेख’, ‘उत्तर प्राचीनकालीन मुद्रा’, ‘मध्यकालीन अभिलेख’, ‘मेडिएभल कोलोफोन्स’, ‘नेपाली संस्कृति’, ‘हाम्रो संस्कृति’, ‘हिन्दू देवीदेवता’, ‘प्रदीप अभिनव विश्वकोश’, ‘नेपालका चाडपर्व’, ‘अभिनव संस्कृतिकोष’, ‘पञ्चपल्लव’लगायत नेपाली संस्कृतिमाथि झन्डै तीन दर्जन पुस्तक लेख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *