भर्खरै :

समानतावादीहरूको घोषणापत्र

(सिल्भाँ माघेशल फ्रान्सेली क्रान्तिकारी ग्राकस बाबेफका घनिष्ट मित्र थिए । उनी प्रतिक्रियावादी जिरोन्दीस सरकारलाई अपदस्थ गर्ने ‘समानतावादीहरूको षड्यन्त्र’ का एक सदस्य थिए ।
रोबेस्पियर र उनका साथीहरूको हत्यापछि फ्रान्सेली क्रान्ति बैठानतिर लाग्यो । प्रतिक्रियावादी पुँजीपतिहरूका प्रतिनिधि जिरोन्दीस र राजावादी फ्एआँहरूको दबदबा बढ्यो । १७९३ को प्रजातान्त्रिक संविधान रद्दीको टोकरीमा फालेर १७९५ को प्रतिक्रियावादी संविधान जारी गरियो । सोही संविधानमा आधारित डाइरेक्टरी गठन भयो । त्यसले पुँजीपतिहरूलाई अकूत नाफा कमाउन छुट दियो । बढ्दो महँगीले गाउँका किसान र शहरिया गरिबहरू पिल्सिए । यसको विरोधमा बाबेफहरू गुप्त डाइरेक्टरी गठन गरेर सरकार अपदस्थ गर्ने षड्यन्त्रमा लागे । उनका कार्यकर्तालाई ‘समानतावादीहरू’ भनिन्थ्यो किनभने उनीहरू समानतामा आधारित नितान्त नवीन गणतन्त्र स्थापना गर्न चाहन्थे ।
प्रायः दूरदर्शी राजनेताले आफूले देखेको आदर्श समाजको सपना एकैबाजी लागू गर्ने परिस्थिति हुन्न । समकालीन राजनीतिक उल्झनका अड्चनहरू छिचोल्नुपर्ने हुन्छ । राजनीतिको यस्तै खेलमा बाबेफले तत्कालका लागि १७७३ को संविधानतिर फर्किनुपर्ने देखे । जनता त्यस संविधान निर्माणको अगुवाइ गर्ने रोबेस्पियरलाई सम्मान गर्थे । रोबेस्पियर रुसोबाट प्रभावित थिए भने बाबेफ काल्पनिक समाजवादीहरूबाट प्रभावित थिए । यसर्थ बाबेफले आफ्नो पूरै विचार खुलारूपमा राख्ने परिस्थिति थिएन । सिल्भाँले लेखेको ‘समानतावादीहरूको घोषणापत्र’ मा अभिव्यक्त विचार र भावनामा बाबेफको समर्थन थियो । तैपनि उनले जन उपयोगको लागि अर्को पर्चा लेखे (वा, लेख्न लगाए) । ‘बाबेफको सिद्धान्तको विश्लेषण’ नामक सो पर्चा हामीले ‘मजदुर’ दैनिकको अघिल्लो अङ्कमा अध्ययन ग¥यौँ । तर, बाबेफको मनको कुरा लेखिएको ‘समानतावादीहरूको घोषणापत्र’ अप्रकाशित रह्यो । पेचिलो राजनीतिका कारण गुप्त डाइरेक्टरीको बहुमतले त्यसलाई प्रकाशित गर्ने अनुमति दिएन ।– अनुवादक)
साँचो समानता, समाजिक कलाको अन्तिम उद्देश्य हो । – कोँदोर्से
फ्रान्सका जनता !
पन्ध्र सय वर्षसम्म तपाईँहरू दासको रूपमा बाँच्नुभयो, दुःखी भई बाँच्नुभयो । गएको ६ वर्षमा तपाईँले मुस्किलले सास फेर्नुभयो, स्वाधीनता, स्वतन्त्रता र समानताको पर्खाइमा ।
समानता ¤ प्रकृतिको पहिलो आकाङ्क्षा, मानिसको पहिलो आवश्यकता, सबै वैध एकताको पहिलो सर्त ¤ फ्रान्सका जनता ¤ तपाईँहरू यस दुर्भाग्यपूर्ण विश्वमा उँघिरहेका अन्य राष्ट्रहरूभन्दा बढी भाग्यमानी हुनुहुन्न ¤ जहाँसुकै र जहिल्यै दुःखी मानव जाति सानाठुला चतुर नरभक्षीहरूसामु सम्पूर्ण अत्याचारहरूको आहार बनेको छ, खेलौना बनेर उसले सम्पूर्ण महत्वाकाङ्क्षाहरूको सेवा गरेको छ । जहाँसुकै र जहिल्यै मानिसलाई मीठा शब्दले झुलाइएको छ, कहिल्यै र कहीँ पनि शब्दअनुसार काम भएन । परापूर्वकालदेखि उनीहरूले ढोँगी पारामा दोहो¥याइरहे – सबै मान्छे समान हुन् । र, परापूर्वकालदेखि सबैभन्दा तुच्छ र राक्षसी असमानताले मात्तिँदै मानव जातिलाई अँठ्याइरहेछ । मानव समाजहरू बनेदेखि नै मानवका विशिष्ट पक्षहरूमध्ये सबैभन्दा सुन्दर पक्षलाई निश्चय नै ठम्याइएको होला । तर, त्यसलाई एकैचोटि व्यवहारमा लागू गरियो । समानता एउटा सुन्दर र बाँझो कानुनी कथा न थियो । र, अहिले अझ चर्को स्वरमा त्यसको माग गर्दा उत्तर आउँछ – चुप लाग, नालायकहरू ¤ साँचो समानता त कल्पना हो, ससर्त समानतामा चित्त बुझाऊ, कानुनका नजरमा तिमीहरू सबै समान छौ । अरू के चाहियो, फोहर हुल्याहा ? कानुननिर्माताहरू, शासकहरू, धनी जमिनदारहरू, अब सुन्ने पालो तिमीहरूको हो ।
के हामी सबै समान छैनौँ ? यो सिद्धान्तमा दुई मत नहोला किनभने बौलाह कुकुरले नटोकेसम्म कसैले पनि गम्भीर भएर दिनलाई रात भन्न सक्दैन ।
अनि त ¤ हामी समान रूपमा बाँच्न र मर्न चाहन्छौँ, जसरी हामी जन्मिन्छौँ । हामी साँचो समानता वा मृत्यु चाहन्छौँ । यहीँ चाहिएको छ हामीलाई ।
र, हामीले यो साँचो समानता पाउनेछौँ, जुनसुकै हालतमा पाएरै छोड्नेछौँ । साँचो समानता र हामीबीच जो उभिन्छ त्यसको सत्यानाश होस् ¤ यति दृढतापूर्वक चाहेको कुरामा बाधाअड्चन हाल्नेको सत्यानाश होस् ।
फ्रान्सेली क्रान्ति अर्को क्रान्तिको भूमिका न हो, अर्को क्रान्ति अझ महान् र व्यवस्थित हुनेछ र त्यो नै अन्तिम हुनेछ ।
जनताले राजामहाराजा र गुरूपुरोहितका शरीरहरू कुल्चे । तिनीहरू क्रान्तिविरुद्ध कुदिरहेका थिए । क्रान्तिले (अब बन्ने) नयाँ अत्याचारीहरूलाई पनि उस्तै व्यवहार गर्नेछ । पुरानाहरूको स्थानमा बसेका नयाँ राजनीतिक ढोँगीहरूसित पनि उस्तै हुनेछ ।
अधिकारहरूको समानताबाहेक हामीलाई के चाहिन्छ ?
समानताको अधिकार मानव र नागरिकका अधिकारहरूको घोषणापत्रमा लेखेर मात्र हुँदैन । बरु त्यो हामीबीच चाहिन्छ, हाम्रा घरका छानाहरूमुनि चाहिन्छ । उहिलेका कुरा खुइलिऊन्, नयाँ कुरा कायम गर्न हामी जे गर्न पनि तयार छौँ । साँचो समानता कायम हुने सर्तमा, कलाकौशलका सबै क्षेत्रहरू नष्ट हुनुपर्छ भने होऊन् ¤
कानुननिर्माता र राजनीतिज्ञहरू, तिमीहरूमा आस्थाभन्दा ठूलो विलक्षणता केही छैन । लाछी र धनी जमिनदारहरू, हाम्रो पवित्र सक्रियतालाई मत्थर पार्न तिमीहरू भन्छौ – तिनीहरूले केही लछार्दैनन्, बारम्बार उही पुरानो कृषि कानुनको रट लगाउँछन् । जमिनदारहरू, तिमीहरूको पसिना बगाई व्यर्थ छ ।
हिलो छ्याप्नेहरू, चुप लाग, अलमलको शून्यतामा हाम्रा मागहरू सुन, प्रकृतिले लेखाएका र न्यायको जगमा उभिएका मागहरू सुन ।
कृषि कानुन, वा जमिनको बाँडफाँट अदबमा नबस्ने हाम्रा केही सैनिकहरूको स्वतःस्फूर्त माग थियो, तर्कमा भन्दा पनि चेतनाले दोहोरिने केही शहरहरूको माग थियो । हामी अलि बढी महान् र न्यायपूर्ण विचारतिर ढल्केका छौँ – साझा सम्पत्ति, वा साझा स्वामित्व भएको समाजतिर ¤ जमिनमा निजी स्वामित्व चाहिँदैन । जमिन कसैको हुँदैन । हामी माग गर्छौँ, हामी धर्तीको फलको साझा उपभोग भएको चाहन्छौँ – धर्तीको फल सबैको हो ।
विशाल बहुमतले मुठ्ठीभर मान्छेका लागि काम गर्छन् र पसिना बगाउँछन् भन्ने तथ्य हो । हामी घोषणा गर्छौँ, अबदेखि यो कुरा सहिन्न ।
लामो समयदेखि, धेरै लामो समयदेखि, १० लाखभन्दा पनि थोरै मान्छेहरूले आफूजस्तै समान खालका २ करोड मान्छेहरूको (जायजेथा) हसुरेका छन् ।
यसलाई निमिट्यान्न पारौँ, कुनै बेला यति ठूलो घोटाला भएको थियो भनी हाम्रा नातिनातिनाले विश्वासै नगरुन् ¤ आखिरीमा गरिब र धनी, ठुला र साना, मालिक र नोकर, शासक र शासितबीचको चर्को भेद हटेर जानेछ ।
आइन्दा मान्छेहरूबीच उमेर र नारीपुरुषको भेदबाहेक अरू कुनै भेद नहोस् । सबैजनासँग उही नै सामथ्र्य र उही आवश्यकताहरू हुने भएकोले उपरान्त सबैका लागि एउटै शिक्षा होस्, एउटै खानपान होस् । मान्छेहरू एउटै घाम र एकै हावाले तृप्त हुन्छन् भने बराबर र एउटै गुणस्तरको खाना सबैका लागि पुगिसरी किन हुँदैन ?
सबैथोकको सर्वाधिक प्राकृतिक नियमका शत्रुहरूले हामीविरुद्ध होहल्ला गर्नेछन् भनी हामी पहिल्यै अनुमान गर्न सक्छौँ ।
उनीहरू हामीलाई भन्छन् – तिमीहरू
(सामाजिक) मेलमिलाप र जनता भाँड्नेहरू, तिमीहरू मारकाट र लुटपाट चाहन्छाँै ।
फ्रान्सका जनता,
तिनीहरूलाई जवाफ दिएर हामी समय खेर फाल्न चाहन्नौँ । हामी तपाईँलाई भन्छौँ – नागरिक वैरभाव र सार्वजनिक सम्पत्ति अन्त्य गर्नुसिवाय सङ्गठन बनाउनुमा हाम्रो पवित्र सक्रियताको अर्को उद्देश्य छैन ।
यसअघि कहिल्यै पनि यति गहिरो योजनाबारे सोचिएको वा त्यसलाई लागू गर्न खोजिएको थिएन । यताउताका केही प्रतिभाशाली व्यक्तिहरू, केही बुद्धिमानहरूले मधुरो र कामेको स्वरमा बोलेका थिए । कसैले पनि पूरै सत्य बोल्ने आँट गरेको थिएन ।
महान् पाइला चाल्ने समय आएको छ । दुष्टताले आकाश छोएको छ । यसले धर्ती ढाकिरहेछ । राजनीतिको नाममा सयौँ वर्षदेखि भाँडभैलोको रजाइँ चलेको छ । सबैथोक ठेगान लगाऔँ र सबैलाई फेरि एकचोटि आ–आफ्नो ठाउँमा ल्याऔँ । न्याय र सुखका पक्षधरहरूलाई समानताको आह्वानमा सङ्गठित गरौँ । समानहरूको गणतन्त्र स्थापना गर्ने क्षण आएको छ । सबै मानिसका लागि ढोका खुला रहने महान् घरको जग हाल्ने क्षण आएको छ । गुमेको व्यवस्था फिर्ता लिने दिन आएको छ । दुःखपीडाले सुस्केरा छोडिरहेका परिवारहरू, आऔँ प्रकृतिले आफ्ना सारा छोराछोरीका निम्ति बनाइदिएको साझा टेबलमा बसौँ ।
फ्रान्सका जनता,
गौरवहरूमध्ये सबैभन्दा पवित्र गौरव यसरी तपाईँको लागि साँचिएको छ ! हो तपाईँले नै पहिलोचोटि संसारसामु यो मन छुने दृश्यको घुम्टो उघार्नुपर्छ ।
प्राचीन आनीबानी, पुरातन डरत्रासले फेरि पनि समानहरूको गणतन्त्र स्थापना गर्नमा भाँजो हाल्नेछन् । सबैको आवश्यकता पूर्ति गर्ने, कसैको हानी नगर्ने र कसैको ज्यान नलिने यस्तो साँचो समानताको सुगठनले सबैलाई खुसी तुल्याउनेछैन । स्वार्थी र महत्वाकाङ्क्षीहरू रिसले थर्रर काम्नेछन् । अन्यायपूर्वक (सम्पत्ति) हडपिबसेकाहरू ‘अन्याय भयो’ भन्दै कराउनेछन् । मुठ्ठीभर मानिसहरूको रङ्गरमाइलो, एकान्तस्थलको आनन्द, निजी सुखसयल गुमेपछि अरूको दुःखदर्दलाई बेवास्ता गर्नेहरू पछुताउनेछन् । निरंकुश सत्ता मन पराउनेहरू, कथित हुकुमका पिछलग्गूहरूले कनीकनी आफ्ना उत्कृष्ट टाउकाहरू साँचो समानताको स्तरमा ल्याएर नुघाउनेछन् । उनीहरूको अदुरदर्शिताले कनीकनी साझा सुखको अटल भविष्य देख्नेछ । तर, लामो समयदेखि सुख खोजिरहेका र त्यो सुख हातैनिर पाएर रमाइरहेकाहरूको जनसागरविरुद्ध केही हजार दुष्टहरूले के नै पो गर्न सक्छन् ।
यो साँचो क्रान्तिको दिन उनीहरूले छक्क पर्दै भन्नेछन् – के ? साझा सुख पाउन यति सजिलो छ ? हामीले चाहेमात्र हुने थियो ? हत्तेरिका, हामीले किन छिट्टै चाहेनौ होला ? उनीहरूले हामीलाई धेरैचोटि बोल्न लगाएका थिए ? हो, शङ्कै छैन, आफूजस्तै र आफूसमान मानिसहरूभन्दा धनी र बलियो पृथ्वीको एक्लो व्यक्ति (पैदा भएपछि) सन्तुलन नष्ट भयो र पृथ्वीमा अपराध र दुःख उर्लियो ।
फ्रान्सका जनता,
अब कुन पक्षबाट तपाईँले संविधानको उत्कृष्टता खुट्याउनुहुन्छ ? समग्रमा साँचो समानतामा टेकेको त्यसको एउटै पक्ष मात्र तपाईँलाई सुहाउँछ र त्यसले नै तपाईँका सम्पूर्ण आकाङ्क्षाहरू पूरा गर्न सक्छ ।
१७९१ र १७९५ का कुलीन विधानहरूले तपाईँका साङ्लाहरू चुँडाल्नुको साटो झन् कसेका छन् । १७९३ को संविधान साँचो समानतातर्फ एउटा महान् पाइला थियो र हामी त्यसअघि कहिल्यै त्यति नजिक पुगेका थिएनौँ । तर, त्यसले अझै लक्ष्य छुन सकेन, त्यो साझा सुखसम्म पुग्न सकेन, जसलाई त्यसले आफ्नो महान् सिद्धान्तको रूपमा थापना गरेको थियो ।
फ्रान्सका जनता,
पूर्ण सुखतर्फ आफ्नो मन र आँखा खोल्नुहोस् । हामीसँग चिन्नुहोस् र उद्घोष गर्नुहोस् – समानतावादीहरूको गणतन्त्र !
टिप्पणी
सन् १७८९ मा सुरु भएको फ्रान्सेली क्रान्तिको दश वर्षमा १७९१, १७९३, १७९५, १७९९ गरी चारवटा संविधान जारी भए । पहिलो संविधानमा राजा लुई १६ औँले लालमोहर लगाएका थिए । राजतन्त्रको अन्त्यपछि दोस्रो संविधान जारी भयो । त्यसकारण त्यस संविधानभित्र जनताको पक्षमा धेरै धाराहरू परे । त्यसलाई चारवटै संविधानमध्ये सबैभन्दा बढी प्रजातान्त्रिक मानिन्छ । तेस्रो संविधान प्रतिक्रियावादी संविधान थियो । थर्मिदोरको षड्यन्त्रपछि बनेको यस संविधानले तल्लो वर्गका जनतालाई केही हदसम्म क्रान्तिपूर्वकै स्थितिमा लग्यो । चौथो संविधान नेपोलियनलाई अधिनायक बनाउन लक्षित थियो । त्यो संविधानसँगै फ्रान्सेली क्रान्ति एकादेशको कथा बन्यो । यी चारवटै संविधानको हेरफेरबीच फ्रान्समा सामन्तवाद भने ओइलायो । पँुजीवादको रजगज सुरु भयो ।
शिल्भाँको यो ‘घोषणापत्र’ लेखिनुभन्दा अगाडि अघिल्ला तीन संविधानहरू जारी भइसकेका थिए । उनले तिनको आलोचना गर्नुको प्रमुख कारण के थियो भने ती तीनै संविधानले सम्पत्तिमाथिको निजी स्वामित्वको अन्त्य गरेनन् बरु त्यसलाई अक्षुण्ण अधिकारको रूपमा संस्थागत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *