भर्खरै :

युरोपका सहरहरूमा मे दिवस,सरकारविरोधी प्रदर्शनमा सुरक्षाकर्मीको दमन

 
मेडरिड, २ मे । एक वर्षभन्दा बढी समयअघि कोभिड–१९ महामारी सुरु भएयताकै पहिलो मे दिवस परेड शनिबार स्पेनमा आयोजना गरियो ।
स्पेनकै दोस्रो सबभन्दा बढी सङ्क्रमण पीडित सहर म्याडरिडमा प्रदर्शनमा सहभागी हुन पाउने अधिकतम सङ्ख्या एक हजारमात्र तोकिएको थियो । तर, प्रदर्शनीमा सहभागीहरूको सङ्ख्या त्योभन्दा बढी देखिएको थियो ।
मे दिवसको परेड स्पेनका मजदुर सङ्गठनको लागि त्यसै पनि विशेष हुँदै आएको छ । त्यसमाथि कोभिड–१९ को कारण निम्तिएको वित्तीय सङ्कटपछि यो वर्ष धेरै मजदुरले काम गुमाइरहेको बेला मे दिवसको महत्व अझ बढेको छ ।
तथापि, प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरूले यस्ता प्रदर्शनको खासमा केही प्रभाव हुन्छ वा हुँदैन भन्ने विचार पोखे ।
“मलाई यो कति महत्वपूर्ण हो वा होइन थाहा छैन किनभने मलाई कहिलेकाहीँ उनीहरूले हाम्रो कुरा सुन्दैनन् जस्तो लाग्छ । प्रदर्शनको केही प्रभाव हुन जरुरी हुन्छ । तर, सामान्यतः शासकहरू सुन्न तयार हुँदैनन् । त्यसकारण, यस्ता प्रदर्शन प्रभावकारी नभएको अनुभव गर्छु”, प्रदर्शनमा सहभागी एक व्यक्तिले भने ।
अर्का एक प्रदर्शनकारीले महामारीलाई धेरै कम्पनीहरूले रोजगारीबाट निकाल्नुको सजिलो तर्कको रूपमा प्रयोग गरिरहेको बताए । “निःसन्देह कोभिड–१९ उनीहरूको लागि महत्वपूर्ण बिन्दु हो किनभने उनीहरूले महामारीको बहाना प्रयोग गरी रोजगारीमा हेरफेर गर्ने परिस्थितिको लाभ उठाइरहेका छन्”, उनले भने ।
“बैङ्किङ्ग क्षेत्रलाई हेर्नोस् न । व्यापक विद्युत्तीकरणको कारण धेरै मजदुरहरूको रोजगारी नराम्ररी प्रभावित बनेको छ”, प्रदर्शनकारीले भने ।
फ्रान्समा पनि हजारौँ मजदुरहरूले मे दिवसको अवसरमा प्रदर्शनको आयोजना गरे । फ्रान्सको लिओन सहरमा प्रहरी र सरकारविरोधी प्रदर्शनकारीहरूबीच भिडन्त भएको थियो ।
फ्रान्सको राजनीति यतिबेला विभाजित छ । कोभिड–१९ महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै दक्षिणपन्थी नेता मरिन ली पेनले सरकारको कडा आलोचना गरिरहेकी छिन् ।
“मर्नेको सङ्ख्या ज्यादै बढी छ । यो सङ्ख्याले फ्रान्सेली जनतालाई सोच्न बाध्य बनाएको छ । यदि दोस्रो कार्यकालको लागि इमानुएल माक्रों निर्वाचित भए पक्कै पनि थप अराजकता मच्चिनेछ”, उनले भनिन् ।
टर्कीको इस्तानबुल सहरमा आयोजित मजदुरहरूको प्रदर्शनमा दुई सत्न्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीहरूलाई घटना सञ्चारमाध्यमसम्म पुग्न नपाओस् भन्ने निर्देशन रहेको सरकारले जनाएको छ ।
जर्मनीमा मे दिवसको अघिल्लो साँझ हजारौँ प्रदर्शनकारीहरूले बर्लिनमा प्रदर्शन गरेका थिए । उनीहरूले बर्लिन सहरका कोठा र घर भाडा निकै बढेको विरोधमा आवाज उठाएका थिए । बर्लिनको सिनेटले ९० प्रतिशत घरको भाडा सन् २०१९ कै दरमा लिन पाउने निर्णयलाई जर्मनीको संवैधानिक अदालतले खारेज गरेको थियो । त्यसपछि बर्लिनका अधिकांश घर र कोठाको मूल्य तिर्नै नसकिने गरी महँगो भएको प्रदर्शनकारीहरूको गुनासो छ ।
बेलायतको राजधानी लण्डनको त्राफलघर चोकमा सहभागी प्रदर्शनकारीहरूले नयाँ सरकारी विधेयकको विरोधमा नाराबाजी गरेका थिए । विधेयकमा प्रदर्शन गर्न पाउने अधिकारमाथि रोक लगाउने प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *