भर्खरै :

साढे एक लाख रुसी स्पुतनिक भी खोप भारत आइपुग्यो

हैदराबाद, १९ वैशाख (पिटिआई) । कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोना भाइरस विरुद्धको खोप सहयोग गरेको छ । रुसले कोरोना भाइरसविरुद्ध आफैँले विकास गरेको स्पुट्नीक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो । रुसले भारतलाई सहयोगस्वरूप पठाएको खोप शनिबार भारत आइपुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।
रुसले अहिले प्रारम्भिक चरणको मात्रै पठाएको र अरू पनि पठाउने तयारी भइरहेको रुसी पक्षले बताएको भारतीय अधिकारीहरूको भनाइ छ ।
खोपको अर्को मात्रा आगामी केही हप्तापछि आउने उनीहरूले बताएका छन् । रुसबाट पठाइएको खोप भारतको हैदराबादमा झारिएको हो । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूलाई स्पुट्नीक भी खोप लगाउने अनुमति यसअघि नै सरकारी निकायले दिइसकेको छ ।
भारतमा योसँगै तीन ओटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । अरू दुई ओटा खोप कोभ्याक्सीन र कोभिसिल्ड यसअघि नै प्रयोग हुँदै आएको थियो ।
भारतमा कोरोना भाइरसको महामारी दिन प्रतिदिन बढेपछि भारतको आन्तरिक स्रोत साधनले मात्रै थेग्न नसक्ने अवस्था सृजना भएको छ । महामारीसँग जुध्नका लागि भारतलाई गाह्रो भएपछि अमेरिका, बेलायत, जापान, रुसलगायतका धेरै देशले भारतलाई विभिन्न प्रकारका सहयोगहरू प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *