भर्खरै :

अक्षम हुनु गल्ती होइन, अक्षमता अस्वीकार गर्नु गल्ती हो

अस्पतालको शय्याबाट उठेको चित्कार, अक्सिजनको लागि सुनिएको आर्तनाद, अन्तिम संस्कारको लागि लाम लगाइएका लासहरू, भरिभराउ मसानघाट र कब्रस्तान, स्वास्थ्यकर्मीहरूका अनुहारमा छचल्किरहेको विस्मात्, यी सबै सबै कुराभन्दा नमिठो त्यत्तिबेला लाग्यो जतिबेला गत अप्रिल २७ मा भारतका सङ्घीय स्वास्थ्य मन्त्री हर्षवद्र्धनले दिएको झूठो बयान पत्रपत्रिकामा पढियो । उनले भनेका रहेछन्, “सन् २०२० को तुलनामा कोभिड–१९ महामारीको प्रतिरोध गर्न भारत यो वर्ष थप अनुभवका साथ मानसिक र भौतिकरूपमा बढी तयार थियो ।”
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानम घिब्रिएससले ‘भारतको अवस्था हृदयविदारक अवस्थाभन्दा पर गइसकेको छ’ भनी बोलेकै दिन हर्षवद्र्धनको यस्तो अभिव्यक्ति सार्वजनिक भएको थियो ।
संसारको कोही पनि सद्दे दिमाग भएको कसैले भारत महामारी सामना गर्न तयार थियो भन्न सक्छ ? खोइ त योजना ? कहाँ छ ‘मानसिक र भौतिक’ तयारी ?
योजना बनाउन सम्भव छैन अथवा योजनाको अपेक्षा गर्न हुन्न भन्ने होइन । हर्षवद्र्धनको भनाइ छापिएकै दिन उही पत्रिकामा महाराष्ट्रको ननदरबार जिल्लाको कलेक्टर (कुनै बेलाका चिकित्सक) डा. राजेन्द्र भरुदको योजनाबारे पनि लेखिएको थियो । भारुदले आफू कार्यरत जिल्लामा चिकित्सकीय अक्सिजनको मनग्य आपूर्ति, अस्पतालमा शय्या, कोभिड–१९ का बिरामीलाई एकान्तवास थलो र योजनाबद्ध खोप कार्यक्रम लागु गर्न सफल भएका छन् ।
पत्रिकाकै समाचारअनुसार गत वर्ष कोभिड–१९ महामारी फैलिंदा आदिवासी बाहुल्य ननदरबार जिल्लामा एउटा पनि तरल अक्सिजन परियोजना वा ट्याङ्क थिएन । सन् २०२० को सेप्टेम्बरमा सङ्क्रमणको सङ्ख्या घटिरहेको बेला डा. भरुदले ८५ लाख भारुको लागतमा त्यहाँको जिल्ला अस्पतालमा तरल अक्सिजन परियोजना बनाए । यो वर्षको जनवरी र फेब्रुअरीमा जिल्लामा उनले अर्को दुई वटा अक्सिजन परियोजना स्थापना गरे । ती दुई वटा परियोजनाले प्रतिमिनेट २४ सय लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्छन् ।
“धेरै चाँडै अक्सिजनको सख्त जरुरत पर्ने समय आउने मलाई लागेको थियो”, डा.भरुदले भने । त्यही भएर उनले तीन वटा अक्सिजन उत्पादन गर्ने परियोजना स्थापना गरे ।
यसलाई भनिन्छ–योजना । यसलाई भनिन्छ–तयारी ।
उत्तर प्रदेशमा मेरो आफ्नै पार्टीले नेतृत्व गरेको सरकार छ । मलाई मुख्यमन्त्रीप्रति पूर्वाग्रही बनेको आरोप लाग्न सक्छ । तर, छत्तिसगढको सरकारले कसरी वरपरका र धेरै टाढाका राज्यहरू मध्यप्रदेश, तिलाङ्गाना, महाराष्ट्र, गुजरात र उत्तर प्रदेशलाई समेत कसरी प्राणदायक मेडिकल अक्सिजन दिइरहेको छ ? हेर्नोस् त । गत वर्षबाट यता छत्तिसगढका १३ वटा जिल्लामा राज्य सरकारले अक्सिजन प्लान्ट स्थापना ग¥यो । केन्द्र सरकारले पनि एउटा अक्सिजन प्लान्ट बनायो । अब त्यहाँ १६ वटा अक्सिजन प्लान्ट छन् । अरू सात वटा प्लान्टको लागि काम भइरहेको छ । सातमध्ये चार वटामा राज्य सरकारको लगानी छ भने बाँकी तीनमा केन्द्रीय सरकारको लगानी छ ।

देशका स्वास्थ्यमन्त्री महामारी प्रतिरोध गर्न सरकार तयारी अवस्थामा रहेको भन्ने आत्मतुष्टिमा बसेको छ भने कसले के भन्ने ? जब सबै सञ्चारमाध्यमहरू स्वास्थ्य मन्त्रीको यो दाबीमा हो मा हो मिलाउँछन् भने झन् अवस्था खराब हुनुको अर्को के विकल्प हुनसक्छ र ? अक्सिजनको अभाव र भेन्टिलेटरसहितको शय्याको अभावबारे बोल्दा ‘झूठो हल्ला फैलाएको’ भन्दै सुरक्षा कानुनअन्तर्गत कारबाही गर्ने धम्की दिन्छ भने कसले के नै बोल्न सक्छ र ? जब कि विपक्षी दलका नेताको आग्रहमा छत्तिसगढबाट अक्सिजनको ट्याङ्कर उत्तर प्रदेश दौडाइन्छ ।

यो समय एकअर्कालाई आरोप प्रत्यारोप गर्ने समय होइन । यो समय हामी जात, जाति, धर्म, सम्प्रदाय र राजनीतिक दलप्रतिको सम्बद्धताबाट माथि उठेर विस्मात्को समय भोगिरहेका सबै जनालाई सहायताको हात बढाउने समय हो । यो समय लोकप्रियताको लागि भौतारिने समय होइन । बरु, दा¥ही खौरेर सरकारको जिम्मेवारीमा दत्तचित्त भएर लाग्ने समय हो । सार्कका देशहरूका उद्धारक बन्नुभन्दा पहिले सुरुमा आफ्नै सीमाभित्रको अवस्था सुरक्षित बनाउनु हो । सीमामा शत्रुको कपोलकल्पित प्रचार गर्ने बरु भारतकै हावामा उडिरहेको अविश्वसनीयरूपमा भयानक शत्रुविरुद्ध लड्ने बेला हो यो ।
छिमेकीलाई सगौरव खोप चन्दा दिँदै गर्दा हामीले आफ्नै नागरिक कति जनालाई खोप दियौँ ?
दिल्लीमा कोभिड–१९ का बिरामीहरूको सङ्ख्या विस्फोटक अवस्थामा पुग्नु दुःखद कुरा हो । त्यहाँको स्वास्थ्य प्रणाली नै छिन्नभिन्न भएको छ । मास्क नलगाउनेलाई २ हजार भारु जरिवाना गर्ने नियम लागु गर्दा पनि भारतको राजधानीको यो अवस्था आजको सत्य हो । दिल्लीको छिमेकी उत्तर प्रदेशमा पनि जरिवानाको चेतावनीबीच अझै ठुलो सङ्ख्यामा मानिसहरू मास्कको नियम उल्लङ्घन गरिरहेका छन् ।
दिल्लीको अर्को छिमेकी राज्य उत्तराखण्डमा राज्य सरकारले आयोजना गरेको कुम्भमेलाले त्यसको सम्भावित खतराबारे पूर्णतः बेवास्ता ग¥यो । निजामुद्दिन बस्तीमा ‘जस्ला’ (समारोह) गरेको भन्दै ‘राष्ट्रविरोधी’ तब्लिघी जमातबारे हल्लाखल्ला गर्ने भारतीय टीभीका कार्यक्रम सञ्चालक र भाजपाका प्रवक्ताहरू खोइ अहिले कहाँ छन् ? दसौँ लाख मानिसहरू कोभिडबाट सङ्क्रमित र प्रभावशाली अखण्डहरूका कम्तीमा दुई जना नेताहरूको कोभिडकै कारण निधन भइसकेको अवस्थामा त्यहाँ (उत्तराखण्ड) को राज्य सरकारले चार धाम यात्राको प्रचार गरिरहेको थियो । धन्न त्यहाँको अदालतले चार धाम यात्रा रोक्न आदेश जारी ग¥यो ।
भारतमा जीवन र मृत्युप्रति अचम्मको मान्यता छ । भाजपाका नेता तथा हरियाणाका मुख्यमन्त्रीले मर्नेको औपचारिक सङ्ख्याबारे केही प्रतिक्रिया दिन तयार भएनन् । “जो मरिसके, उनीहरू अब फर्किंदैनन् । जो बाँचेका छन्, हामी उनीहरूलाई जोगाउने प्रयास गर्नेछौँ । अहिले मर्नेको सङ्ख्या कति हो, घटी कि बढी भनेर बहस गरिरहनुको कुनै तुक छैन”, उनले प्रतिवाद गरे ।
अर्को कुनै पनि देश हुँदो हो त अक्सिजनको अभाव वा भेन्टिलेटर नहुँदा अस्पतालमा बिरामीको निधन भए त्यो करोडौँ करोड डलर क्षतिपूर्ति माग्दै मुद्दा पर्ने थियो । भगवानको काखमा बसेका हामी भने ‘भाग्य’ को कुरा गरेर नै मख्ख छौँ ।
देशका स्वास्थ्यमन्त्री महामारी प्रतिरोध गर्न सरकार तयारी अवस्थामा रहेको भन्ने आत्मतुष्टिमा बसेको छ भने कसले के भन्ने ? जब सबै सञ्चारमाध्यमहरू स्वास्थ्य मन्त्रीको यो दाबीमा हो मा हो मिलाउँछन् भने झन् अवस्था खराब हुनुको अर्को के विकल्प हुनसक्छ र ? अक्सिजनको अभाव र भेन्टिलेटरसहितको शय्याको अभावबारे बोल्दा ‘झूठो हल्ला फैलाएको’ भन्दै सुरक्षा कानुनअन्तर्गत कारबाही गर्ने धम्की दिन्छ भने कसले के नै बोल्न सक्छ र ? जब कि विपक्षी दलका नेताको आग्रहमा छत्तिसगढबाट अक्सिजनको ट्याङ्कर उत्तर प्रदेश दौडाइन्छ ।
यस्तो परिस्थितिमा विख्यात गायक बब डाएलनको गीत ‘ब्लइङ इन द विन्ड’ को सम्झना सान्दर्भिक हुन्छ ः
‘भन, मानिसले कति पल्ट हेर्नुपर्छ माथि
उसले आकाश देख्नलाई ?
मानिसको कति वटा कान हुनुपर्छ
उसले मानिसको चित्कार सुन्नलाई ?
भन, कति मानिस मर्नुपर्छ
उसले मानिस मरिरहेको देख्नलाई ?
भन मेरो मित्र आँधी चलिरहेको छ
उत्तर आँधीमा हुनहुनाइरहेको छ ।
(लेखक पूर्व पत्रकार तथा उत्तर प्रदेशका संसद् सदस्य हुन् ।)
स्रोतः द वायर
नेपाली अनुवादः सुमन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *