भर्खरै :

भक्तपुरमा गोर्खाली हमला’– एक चर्चा

‘भक्तपुरमा गोर्खाली हमला’ नेपालको इतिहासका केही वास्तविकताहरू उजागर गर्ने ऐतिहासिक तथा पठनीय पुस्तक हो । गरूडनारायण गोंगलको सम्झनामा स्रष्टा देविचन्द्र श्रेष्ठले तयार पार्नुभएको यस पुस्तकले नेपालको इतिहासमा पृथ्वीनारायण शाहको भूमिकालाई आलोचनात्मक दृष्टिले प्रस्तुत गर्छ । नेपालको इतिहासमा पृथ्वीनारायण शाहलाई देश निर्माताका रूपमा आजसम्मको पुस्तालाई इतिहास पढाइन्छ । पृथ्वीनारायण शाह देश निर्माता हुन् या गोर्खाली शासक ? यो प्रश्नको जवाफ पुस्तकले दिन्छ । पृथ्वीनारायण शाहले नै बनाएका इतिहासकारहरूले नेपाल एकीकरणको इतिहासलाई पृथ्वीनारायण शाहको गुणगान गर्नु स्वाभाविक हो । यस पुस्तकले भक्तपुर, ललितपुर र काठमाडाँै अर्थात् नेपाल मण्डलमा पृथ्वीनारायण शाहका छलकपटपूर्ण हमला र कुटिल आक्रमणहरूको स्मरण गराउँछ । समग्रमा पुस्तकले इतिहासको एउटा वास्तविकस्वरूप प्रस्तुत गर्छ साथै पृथ्वीनारायण शाहलाई हेर्ने फरक दृष्टि प्रदान गर्छ । इतिहासका अध्येता र सम्पूर्ण पुस्ताहरू भक्तपुरमा गोर्खाली हमलाका केही वास्तविक पाटोबारे अवगत गराउँछ । गरूडनारायण गाेंगलको संस्मरणलाई केलाएर हेर्न पुस्तक सफल छ । इतिहासको वास्तविक अध्ययनको द्वार खुल्दा स्वयम् पृथ्वीनारायण शाहकै चरित्र एवम् इतिहासमाथि समीक्षा हुन पुगेको छ भनी पुस्तकको प्राक्कथनमा लेखिएको छ । पृथ्वीनारायण शाह स्वयम् भक्तपुरमाथि गोर्खाली हमलामा सरिक रहेको इतिहासका आधारमा पुस्तकले विवेचना गरेको छ । तथ्यपरक इतिहास पुनः लेखनका लागि पुस्तकले सघाउँछ ।
गुरूडनारायण गोंगलको संस्मरणले पृथ्वीनारायण शाहको इतिहास मात्र खोतलेको छैन यसले भक्तपुर राज्यकै मध्यकालिक इतिहासको विशेषतामाथि पनि प्रकाश पारेको छ । ललितपुर र काठमाडौँ मल्ल राज्यहरूका इतिहासको अन्तिम दृश्य पनि प्रस्तुत गर्छ । नेपालको इतिहासमा मध्यकालको थालनीदेखि नै विखण्डनको क्रम सुरु भएको तथ्य पुस्तकले उजिल्याउँछ ।
तत्कालीन समयमा चौविसी राज्यमा दर्ता हुन नचाहेको गोर्खालाई पहिलो चोटी नेपालमण्डलमा स्वागत गर्ने राज्य ललितपुर थियो । ललितपुरबाट नेवार व्यापारी डफ्फा गोर्खामा लगेर सौविध्यपूर्ण नागरिकका रूपमा राखिएको थियो । त्यसपछि भक्तपुरले पनि अगाडि बढायो । कालान्तरमा पृथ्वीनारायण शाहलाई मित छोरा बनाउने आत्मघाती कदमबाट स्वयम् रणजित मल्ल सम्मानका साथ नेपालमा बस्न सक्ने अवस्था नरहँदा उनले काशीवास रोजेका थिए । उनलाई उनैको मित छोरा पृथ्वीनारायण शाहले देशविहीन बनाइदिए । उनी स्वाभाविक मृत्युअगावै पश्चातापहरूको भुङ्ग्रोमा भष्म भएको कुरा पुस्तकमा उल्लेख छ ।
नेपालको इतिहासमा भएका अनेकौँ युद्धहरूमा पृथ्वीनारायण शाहले भक्तपुरमाथि गरेको छलकपटपूर्ण हमला र आक्रमणलाई विशेष महत्वका साथ हेरिन्छ । यस्तो इतिहासकै दुर्लभ घटनाको प्रतयक्षदर्शीको बयान पाउनु अझ दुर्लभ ऐतिहासिक दस्तावेज हो भन्नुहुन्छ, देवचन्द्र जी । सं. १८२६ मा भक्तपुरमाथि पृथ्वीनारायण शाहले गरेको हमला आफ्नै आँखाले देख्ने गरूडनारायण गोंगलले आफ्ना हातले लिखित वर्णन गरेको पाइन्छ । गोंगल भक्तपुरका अन्तिम राजा रणजित मल्लकै पोष्यपुत्र समकक्षी हुनुका साथै भक्तपुर युद्ध र त्यसपछिका घटनाक्रम आफ्नै आँखाले देखेका व्यक्त हुन् । उनलाई नेपालका संस्मरण विधाका अगुवा लेखकका रूपमा पुस्तकले उभ्याएको छ । उनले भक्तपुरमा हमलाको २० वर्षपछि संस्मरण लेखे ।

हमलामा गोरखापक्षको गोली लागेर मर्नेमा लेखककै काका मणि गोंगल पनि परेको स्मरणले गाेंगलको संस्मरणमा तथ्य धेरै हुने प्रस्टिन्छ । त्यो युद्धको परिणाम नेपालका तीनै राजाहरू रणजीत मल्ल, जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल गोरखालीका बन्दी अर्थात् कैदीका रूपमा राखिएका थिए । भक्तपुरलाई सुरुमै पृथ्वीनारायण शाहले अपमान र असजिलो व्यवहार गरेनन् । मितछोराको नाताले भक्तपुरको कुनाकाप्चाबारे अवगत अवश्य थियो । त्यही जानकारीलाई उनले फाइदा लिए । भक्तपुर युद्धपश्चात् रणजीत मल्लका मठ्याहा छोराहरू सबै बन्दीका रूपमा नेल ठोकेर राखिएका थिए । पुस्तकमा रणजीत मल्लका मठ्याहा छोराहरू, विवाहिता रानी तथा अनेक उपरानीहरूका सन्ततिहरूको विषयमा चर्चा छ ।

भक्तपुरमा हमलापूर्व (करिब डेढ वर्षअघि) नै नगरबहिर गाउँहरूमा गोर्खालीहरूको उपस्थिति भइसकेको तथ्य पनि पछि बाहिरियो । भक्तपुर नगरबाहिरको खेत–खेतमा पाकेका बाली समेत लुट्ने चाँजोमा गोर्खालीहरू ढुकिरहेको सन्दर्भ पनि छ । नगरभित्र दत्तात्रय मठ परिसरमा कान्तिपुरका राजा शरणमा बसिरहेको सन्दर्भ र पृथ्वीनारायण शाहले कान्तिपुर, ललितपुरका राजाहरूको सुपुर्दगी मागेर मितबाबु रणजीत समक्ष लिखित सन्देश पठाएको सन्दर्भले पनि पृथ्वीनारायण शाहको उद्देश्य छर्लङ्गिन्छ ।
पुस्तकले राजा रणजीत मल्लको जीवनशैली, परिवार र प्रजासँगको सम्बन्धबारे केही चर्चा गर्छ । भक्तपुरमा जयप्रकाश मल्लको शरणार्थी जीवनकाल व्यर्थ गएन । उनले रणनीति निर्माण गरे । उनका रणनीतिलाई पुस्तकले ३÷४ पक्षबाट केलाएको छ । क्रिश्चियन पादरीहरूको उपस्थिति, नगरकोटी सैन्य सङ्गठन, भक्तपुरेहरूको रणनीतिक चाल, नेपाल मण्डलमा खसहरूको रणनीति यी शीर्षकहरूमा व्याख्या गरिएको छ ।
गोंगलको संस्मरणको ऐतिहासिक विशेषताबारे देवचन्द्रजीले राम्ररी केलाएका छन् । भक्तपुरमा गोर्खालीको हमलाको खास वर्णन छ । नेपालको राजा घोषित हृुन पृथ्वीनारायण शाहले भक्तपुर दखल नगरी हुँदैन तर कान्तिपुर, ललितपुरमा जसरी सजिलोसित भक्तपुरमा पृथ्वीनारायण शाहले दखल गर्न सक्दैनन्, सकेनन् । यसको लागि एक वर्षभन्दा बढी समय पर्खेर, त्यस्तै पूरा तयारीका साथ हमला गरेको कुरा स्वसिद्ध छ भनी पुस्तकले प्रस्ट लेखेको छ ।
हमलाको सुरुमै गोर्खाली फौजलाई पूर्वी नाकाबाट नगर प्रवेश गराउन सहज पारिदिएको तथ्य भेटिएको छ । पछि गोर्खालीहरू दरबारभित्रै प्रवेश गरी हमला गर्न थाले ।
हमलामा गोरखापक्षको गोली लागेर मर्नेमा लेखककै काका मणि गोंगल पनि परेको स्मरणले गाेंगलको संस्मरणमा तथ्य धेरै हुने प्रस्टिन्छ । त्यो युद्धको परिणाम नेपालका तीनै राजाहरू रणजीत मल्ल, जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल गोरखालीका बन्दी अर्थात् कैदीका रूपमा राखिएका थिए । भक्तपुरलाई सुरुमै पृथ्वीनारायण शाहले अपमान र असजिलो व्यवहार गरेनन् । मितछोराको नाताले भक्तपुरको कुनाकाप्चाबारे अवगत अवश्य थियो । त्यही जानकारीलाई उनले फाइदा लिए । भक्तपुर युद्धपश्चात् रणजीत मल्लका मठ्याहा छोराहरू सबै बन्दीका रूपमा नेल ठोकेर राखिएका थिए । पुस्तकमा रणजीत मल्लका मठ्याहा छोराहरू, विवाहिता रानी तथा अनेक उपरानीहरूका सन्ततिहरूको विषयमा चर्चा छ ।
भाषा वंशावलीमा गोंगलको संस्मरणको प्रभाव र भक्तपुर नगर प्रवेशमा कसरी सघायो ? भन्ने चर्चा छ । पुस्तकमा राजकुल भक्तपुरको भौतिकस्वरूपको सङ्क्षिप्त चर्चा छ । भक्तपुर राज्यको अन्तिम प्रशासनिक ढाँचा, रणजीत मल्लको पारिवारिक स्थिति, संस्मरणको साहित्यिक मूल्य आदिबारे चर्चा छ ।
गोंगलको संस्मरण नेपालमा आजसम्म उपलब्ध संस्मरण साहित्यको जेठो कृतिका रूपमा लिइन्छ । अझ पृथ्वीनारायण शाहको भक्तपुर युद्धलाई आफ्नै आँखाले देखेको बयान हुनाले यसले समकालीन इतिहासकै मूल्याङ्कन गर्ने क्षमता पनि राख्दछ भन्नुहुन्छ देवचन्द्रजी ।
पुस्तकमा लेखिएको छ– “पृथ्वीनारायण शाहको उपदेशभन्दा मात्र १५ वर्षले कान्छो यो संस्मरण नेपालमा मल्ल राज्यहरूको दिनान्त भएर एकीकृत नेपालको पुनर्जगेर्ना भएको २० वर्षपछि लेखिएको छ । शासकीय स्तरबाट होइन, सामान्य जनस्तरबाट लेखिएका यही कृतिले नेपालीमा गद्यको सु–प्रभात ल्याएको छ भने नेपालमा राजनीतिक चेतनायुुक्त यथार्थवादी संस्मरण साहित्यको त श्रीगणेश नै गरिदिएको छ ।”
पुस्तकले पं. ललिताबल्लभको ‘भक्त विजय’ काव्यको सङ्क्षिप्त चर्चा पनि गरेको छ ।
ऐतिहासिक सामग्री सहितको यस पुस्तकले यो समयका पाठकहरूलाई पृथ्वीनारायण शाहबारे वास्तविकता अवगत गराउँछ । साथै, इतिहासको अध्ययनमा आलोचनात्मक दृष्टिकोणको आवश्यकता बोध गराउँछ । पुस्तकले मल्लकालीन नेपालमण्डल, विशेषतः भक्तपुरको अर्थ–राजनीतिक अवस्थितिबारे जानकारी दिन्छ । राजा रणजीत मल्ल लगायतका व्यक्तिहरूसँगै गरुडनारायण गोंगल को हुन् भनी पुस्तकले चिनाएको छ । इतिहासको वास्तविक तथ्य खोतलखातल गर्न सघाउने यस पुस्तकको महत्व छ । साथै, पुस्तक सङ्ग्रहणीय छ । कति प्रसङ्ग तथा विषयहरूमा थप अध्ययन र छलफलको आवश्यकता महसुस हुन्छ । स्रस्टा र प्रकाशकप्रति साधुवाद छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *