भर्खरै :

माक्र्स र एँगेल्सको कम्युनिस्ट घोषणापत्रमा के छ ?

कम्युनिस्ट पार्टीको घोषणापत्र बुझ्न कसैको व्याख्या सुन्नुभन्दा यो पढ्नु पर्दछ । कुनै उपन्यास वा नाटक झैँ यो सारांश भन्न सक्ने विषय पनि होइन किनभने यसका एकएक लाइन नै सारांशको रूपमा छ, व्याख्या छैन । माक्र्स र एँगेल्सले तत्कालीन परिस्थितिमा कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशित गर्नुभयो । त्यसमा उहाँहरूले आफूले भन्नुपर्ने मुख्य कुरा एकदम छोटकरीमा राखी केही पृष्ठमा नै सम्पूर्ण घोषणापत्र सिध्याउनुभएको छ । घोषणापत्रको सुरुमै भनिएको छ– “स्पेक्टर अफ कम्युनिज्म ।” स्पेक्टरको नेपाली अर्थ ‘प्रेत’ अथवा मरेको मानिस हुन्छ । त्यसबेला कम्युनिस्टहरूको खतरा छ भनी सम्पूर्ण युरोपभरि फैलाइएको थियो । घोषणापत्र प्रकाशित भएको समयमा सबै देशहरूमा जनविरोधी प्रतिक्रियावादीहरूको शासन थियो । कतै सामन्ती तानाशाही थियो त कहीँ गणतन्त्र आइसके पनि पुँजीपतिहरूको तानाशाही थियो । जब कम्युनिस्ट सिद्धान्त एवम् विचारको कुरा आयो, परस्पर लडिरहेका सामन्त र पुँजीपतिहरू पनि एक भए ।
‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ माक्र्स र एँगेल्सले सबभन्दा पहिले फेब्रुअरी १८४८ मा पर्चाको रूपमा निकाल्नुभएको थियो । मैले हालसालै एउटा पत्रिकामा पढेँ – फेब्रुअरी १, १८४८ भनेर । उहाँहरूले १८४७ को डिसेम्बरबाट घोषणापत्र लेख्न सुरु गरी करिब २ महिनापछि १८४८ को जनवरीमा पूरा गर्नुभयो । त्यसपछि त्यसलाई पुस्तकाकारमा प्रकाशित गर्नुपूर्व एउटा पर्चाको रूपमा सार्वजनिक गर्नुभयो । त्यो सार्वजनिक गरिएको मिति १८४८ बाट १९९८ मा १५० वर्ष हुन्छ । अहिले हामी यो वर्षलाई १५० औँ वर्षगाँठ भनी मनाइरहेका छौँ । यस वर्षभरि कम्युनिस्ट घोषणापत्रको महत्व र नेपालको कम्युनिस्ट आन्दोलनमा यसबाट लिनुपर्ने शिक्षा उजागर गर्ने उद्देश्यले देशका विभिन्न कम्युनिस्ट पार्टीहरू मिलेर एउटा समूह बनाइएको छ । त्यस समूहमा नेकपा (एमाले) सम्मिलित छैन । घोषणापत्रको मुख्य उद्देश्य मजदुर वर्गको अधिनायकत्व र वर्गसङ्घर्षलाई एमालेले छोडेको अर्थात् भनूँ, माक्र्स र एँगेल्सको कम्युनिस्ट घोषणापत्रको मुख्य ‘स्पीरिट’ नै त्यागिसकेकोले उहाँहरू त्यस समूहमा अटाउन सक्नुभएन ।

कम्युनिस्ट घोषणापत्र अहिलेसम्म कति सान्दर्भिक छ भन्ने कुरा धेरैले उठाउने गर्छन् । यस विषयमा का. किम इल सुङ र का. किम जङ्ग इलका कृतिहरूमा लेखिएको छ, “माक्र्सले १८४८ मा अर्थात् १४९ वर्ष पहिले कम्युनिस्ट घोषणापत्र प्रकाशित गर्नुभएको थियो । अहिलेसम्ममा परिस्थिति धेरै बदलिसकेको छ । त्यसकारण, त्यसका धेरै कुराहरू बदल्नुपर्छ तर बदल्नुको अर्थ त्यसलाई त्याग्नु होइन ।” अरूको कुरा छोडौँ माक्र्स र एँगेल्स स्वयम्ले घोषणापत्र पहिलो पटक प्रकाशित भएको २५ वर्षपछि अर्थात् सन् १८७२ को जर्मनी भाषाको नयाँ संस्करणको भूमिकामा भन्नुभएको थियो– “२५ वर्षमा विश्वको खासगरी युरोपको परिस्थिति धेरै नै बदलिसकेको छ । त्यसकारण, हामीले घोषणापत्रमा क्रान्तिको लागि के के कदम उठाउनुपर्छ भनेर लेखेका छौँ । त्यसमा सिद्धान्तमा जोड दिएर भन्छौँ, सिद्धान्त अहिले पनि ठीक छ किनभने त्यो वैज्ञानिक सिद्धान्त हो ।” मतलब, २५ वर्षभित्रै उहाँहरूले आफ्नो कार्यक्रम बदल्नुपर्ने सोच्नुभयो । अहिले त १५० वर्ष भइसकेको छ यस विषयमा धेरै नै सोच्नुपर्ने देखिन्छ ।
माक्र्स र एँगेल्सले घोषणापत्रमा कम्युनिस्ट सिद्धान्तलाई विज्ञानको रूपमा व्याख्या गर्नुभएको छ । विभिन्न दर्शनमा पनि पहिलो वैज्ञानिक दर्शन माक्र्सको द्वन्द्वात्मक भौतिकवाद हो । विज्ञान भनेको आफ्नो अनुभव र प्रयोगबाट निकालेको ज्ञान हो । उहाँहरूले भन्नुभयो– “अहिलेसम्म जति पनि समाजहरू आए, ती सबै समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” उहाँहरूले वर्गसङ्घर्षको नारा दिनुभएको होइन, वर्गसङ्घर्ष गर्नुपर्छ भन्नुभएको पनि होइन, वर्गसङ्घर्ष त भइआएको कुरा हो भन्नुभयो । उहाँहरूले वर्गसङ्घर्षकै क्रममा समाजवाद र साम्यवाद आउँछ भन्नुभयो । उहाँहरूले समाजवाद ल्याउनुपर्छ भन्नुभएन, यही विषय हामीले कहिल्यै बिर्सनु हुँदैन । माक्र्सभन्दा पहिले पनि धेरै समाजवादीहरू आएका थिए, जस्तो ः सेन्ट साइमन, रोवर्ट आवेन । अझ प्राचीनकालमा कति समाजवादीहरू आए होलान्, उनीहरू सबैले पुँजीवादी समाजले हामीलाई अन्याय ग¥यो शोषण ग¥यो, त्यसैले यो ठीक भएन र हामीलाई समाजवाद चाहियो भने । तर, समाजवाद कुनै असल मान्छेको सदासयबाट आउने होइन । कसैले यस्तो भए हुन्थ्यो भनेर पुकार गर्र्र्दैमा समाजवाद आउने होइन । माक्र्स र एँगेल्सले समाजवाद यसरी, यस प्रकारले, यो यो क्रमबाट आउँछ भनेर देखाउनुभयो ।
माक्र्सको अब्जर्भेसन (अवलोकन) मा पनि गल्ति भएको छ । पछि उहाँहरूले नै स्वीकार गर्नुभयो । जस्तो, अहिलेसम्म आएका सबै समाजहरूको इतिहास वर्गसङ्घर्षको इतिहास हो भनी उहाँहरूले भन्नुभयो तर समाजको विकासक्रमको एक चरण पुगेपछि मात्र वर्गसङ्घर्र्ष आएको थियो । मानिसहरू शिकार गरी सब मिलेर खान्थे, पाइएका कुराहरू बाँडीचुँडी खान्थे, वर्गसङ्घर्र्ष थिएन किनभने त्यसबेला वर्ग नै विकास भएको थिएन । जब व्यक्तिगत सम्पत्तिको विकास भयो, वर्गको सुरुआत भयो र त्यससँगै आयो वर्गसङ्घर्ष पनि । त्यसकारण, एँगेल्सले माक्र्सको निधनपछि भन्नुभयो –“लिखित इतिहास जुन बेलादेखि आयो त्यसबेलादेखि वर्गसङ्घर्ष आयो ।” सन् १८७१ मा पेरिस कम्युनको अनुभव प्राप्त गरेपछि घोषणापत्रमा एउटा अर्काे सुधार गर्नुप¥यो । यहाँनिर पेरिस कम्युनको विषयमा एउटा रोचक प्रसङ्ग उल्लेख गँरू– पेरिस कम्युनको आन्दोलन सुरु हुनुपूर्व परिस्थिति ठीक छैन भनी माक्र्सले त्यसको विरोध गर्नुभयो र जब उहाँको विरोध हुँदाहुँदै पनि पेरिस कम्युनको विद्रोह भयो, तब माक्र्सले समर्थन गर्नुभयो । मान्छेहरूले तपाईँले सुरुमा पेरिस कम्युनको विरोध गर्नुभयो तर अहिले किन समर्थन गर्नुभएको भनी सोध्दा उहाँले– “पेरिस कम्युन त आखिर मजदुरहरूले गरेको विद्रोह हो, सर्वहारा वर्गको आन्दोलन हो, यो सफल हुनेनहुने अर्कै कुरा हो । मैले विरोध गरेको त क्रान्ति सफल हुँदैन भनेर हो । अहिले पनि सफल हुँदैन नै भन्छु” भन्नुभयो । त्यतिबेला पेरिस कम्युन दबाउन फ्रान्स सरकारलाई उसकै दुश्मनहरूले पनि सघाएका थिए । प्रतिक्रियावादीहरू एकजुट भएर क्रान्तिकारीहरूलाई दमन गर्न खोज्दा क्रान्तिकारीहरू गलत छन् भन्नु प्रतिक्रियावादीहरूलाई समर्थन गर्नु थियो । यसै सन्दर्भमा नेपालमा माओवादीहरूले चलाएको ‘जनयुद्ध’ लाई पनि हेरिनु पर्दछ । हाम्रो देशमा जुन ‘जनयुद्ध’ भइरहेको छ । ‘जनयुद्ध’ लाई एकदम गलत हो, यो अवसरवादमात्र हो, यो उग्रवामपन्थी हो भनी कराउनु प्रतिक्रियावादीहरूको समर्थन गर्नु हो । एमालेका अध्यक्ष मनमोहन अधिकारीले झैँ माओवादीहरू आतङ्कवादी हुन् यिनीहरूलाई दमन गर्नुपर्छ भन्नु ठीक छैन । माक्र्सले पेरिस कम्युनको आन्दोलन चलुन्जेल त्यसको विरोध गर्नुभएन, त्यो फेल भएपछि त्यसको विरोधभन्दा पनि त्यसका गल्तीहरूबाट शिक्षा लिई कम्युनिस्ट आन्दोलनको निम्ति बाटो तयार गर्नुपर्छ भनी पछि घोषणापत्रमै संशोधन गर्नुभयो । पेरिस कम्युनको अनुभवबाट माक्र्स र एँगेल्सलाई सर्वहारा वर्गको अधिनायकत्वको अपरिहार्यताबारे छर्लङ्ग्याउन थप मद्दत मिल्यो । सर्वहारा वर्गको अधिनायकत्वविना शोषणको अन्त्य गर्न सकिन्नथ्यो ।
शक्ति प्रयोग नगरी वा चुनावकै माध्यमबाट राज्ययन्त्र आफ्नो हात पार्न सकिन्छ भन्ने नेकपा (एमाले) को सोचाइको विषयमा पनि घोषणापत्रमा भनिएको छ कि मजदुर वर्गले तयारी राज्ययन्त्र प्रतिक्रियावादीहरूको हातबाट लिँदैमा समाजवाद आउँदैन, आफ्नो हातमा आइसकेपछि राज्ययन्त्रलाई नै ध्वस्त गर्नुपर्छ । पहिलेकै राज्ययन्त्रमा काम गरियो भने त समाजवाद कहिल्यै पनि ल्याउन सकिन्न । यो कुरा एमालेको नौ महिने शासनकालले पनि सिद्ध गरिसकेको छ । फेरि, पुँजीवादी संसद्मा पस्नै हुँदैन भन्ने पनि होइन ।
सन् १८८३ को घोषणापत्रको अर्काे जर्मनी संस्करणको भूमिकामा एँगेल्सले भन्नुभएको छ – “समाजको संरचना आर्थिक उत्पादनकै आधारमा त्यस युगको राजनैतिक र बौद्धिक इतिहासको जग बसेको हुन्छ ।” कसै कसैले यसलाई मोडेर माक्र्स र एँगेल्सले सम्पूर्ण राजनैतिक इतिहास उत्पादनको साधनमा मात्र निर्भर रहन्छ भनी गलत भन्नुभयो भनेर भने । तर, उहाँहरूले त्यसो भन्नुभएको थिएन । उहाँहरूले त उत्पादनको साधनले समाजको संरचना बनाउँछ भन्नुभएको हो । सारांशमा भन्नुपर्दा प्रत्येक राजनैतिक व्यवस्थाको आफ्नै किसिमको संरचना हुन्छ । जस्तो, सामन्तवादको । सामन्ती शोषण भनेको व्यक्ति वा परिवारले विशेष अधिकारको आधारमा अरूलाई गर्ने शोषण हो । त्यसको उपयुक्त व्यवस्था राजतन्त्र भयो । सबै मानिस बराबर हुन् । राजाको छोरा मात्र होइन सबैसँग शक्तिमा जाने अधिकार हुनुपर्छ भन्ने विचार आउने बित्तिकै त्यस अनुरूपकै राजनैतिक व्यवस्था आयो– संसदीय व्यवस्था । संसदीय व्यवस्था भनेको पुँजीवादी व्यवस्था नै हो । हामी कम्युनिस्टहरूले संसदीय व्यवस्थामा जानुको मतलब उनीहरूको हातबाट त्यसलाई खोस्नु हो तर त्यही व्यवस्थाबाट समाजवाद आउँछ भनी घोषणापत्रमा कहीँ उल्लेख गरिएको छैन । अझ घोषणापत्रले नै यस व्यवस्थाबाट समाजवाद आउन सक्दैन भनी खबरदारी पनि गरेको छ ।
घोषणापत्रमा वर्गसङ्घर्षलाई अति जोड दिइएको छ । सर्वहारावर्ग वा कामदार वर्गले शोषण र उत्पीदनबाट मुक्त हुन आफूलाई मात्र मुक्त गरेर पुग्दैन, सम्पूर्ण समाजलाई नै मुक्त गर्नुपर्दछ । सन् १७९३ मा बुर्जुवाहरूले सामन्ती शोषणबाट मुक्त हुन फ्रान्सेली क्रान्ति गरे । बुर्जुवाहरूको शोषणबाट मजदुरवर्ग मुक्त हुनु भनेको एक किसिमको शोषण व्यवस्थालाई हटाएर अर्काे किसिमको शोषण व्यवस्था ल्याउनु होइन, शोषणलाई सधैँको निम्ति हटाउनु हो । घोषणापत्रमा उल्लेख छ कि आजसम्मको इतिहास वगसङ्घर्षको इतिहास हो र अबको वर्गसङ्घर्र्षले वर्गलाई नै खत्तम पार्दछ । यसको ठीक विपरीत ख्रुश्चेभले सन् १९६७ मा अहिले मजदुरवर्ग वा सर्वहारा वर्गको पार्टी अर्थात् कम्युनिस्ट पार्टी सरकारमा छ त्यसैले वर्गसङ्घर्ष अब चाहिन्न भने । पछि लेनिनवादकै व्याख्या गर्दै माओ त्से तुङ्गले भन्नुभयो – “कम्युनिस्ट पार्टी सरकारमा गइसकेपछि बुर्जुवाहरू फालिन्छन्, अनि उनीहरू कम्युनिस्ट पार्टीभित्रै पस्छन् । कम्युनिस्ट पार्टीको विरोधमा षड्यन्त्र गर्छन् । त्यसकारण हामीले पार्टीभित्र आउने संशोधनवादको विरुद्ध निरन्तर सङ्घर्ष गर्न सकेनौँ भने भोलि पार्टीमा उनीहरूले नेतृत्व कब्जा गरी पार्टी खत्तम गर्न सक्नेछन् र पुँजीवाद नै पुनरुत्थान हुन सक्छ । त्यसैले उहाँले सांस्कृतिक क्रान्तिको नारा दिनुभयो । त्यसैले वर्गसङ्घर्र्ष कहिल्यै त्याग गर्न सकिन्न । अझ नेपालमा त चुनावबाट संसद्मा पुगेर अल्पमतको सरकार बनाउने बित्तिकै एमालेले हामी सरकारमा पुग्याँै, अब वगसङ्घर्र्ष नै चाहिन्न भन्ने विचार ल्यायो । स्तालिनले भन्नुभएको थियो– “मजदुर वर्गको सरकार आएपछि यसलाई खत्तम गर्ने अनेक षड्यन्त्र भइरहेकोे छ भने वर्गसङ्घर्ष जारी नै रहन्छ । सर्वहारा वर्गको अधिनाकत्व पनि जारी रहन्छ ।” स्तालिन बाहिरको शत्रुलाई इङ्गित गर्नुभयो भने माओले पार्टीभित्रको शत्रुलाई देखाउनुभयो र त्यसबेला वर्गसङ्घर्ष चाहिँदैन भन्नुको मतलब वर्ग समन्वयको नारा थियो ।
घोषणापत्रमा उल्लेख भएको अर्को कुरा हो सर्वहारावर्ग विभिन्न चरणबाट विकास हुँदै गएपछि आखिरमा उनीहरूले क्रान्ति उठाउँछन् । सर्वहारा वर्गले एकैचोटी क्रान्ति गर्दैन । त्यो चरण कुन किसिमले अगाडि बढ्छ भन्ने राम्रो चित्र घोषणापत्रमा देख्न सकिन्छ । सुरुमा मजदुर वर्गले आफूलाई शोषण गर्ने पुँजीपतिवर्ग हो भनेर पुँजीपति वा मील मालिकसँग लड्न खोज्छ, व्यवस्थाको विरुद्ध लड्न जानेको हुन्न । फेरि कहिलेकाहीँ त गलत धारण लिएर हामीलाई शोषण गर्ने त मेसिन नै हो भनेर मेसिनलाई फोड्छन् । यसलाई व्याख्या गरेर स्तालिनले दिनुभएको एउटा सानो उदाहरण यहाँ पेश गरूँ– मेरो घरको छिँडीमा एकजना ज्यादै गरिब सार्की बसेको छ । जुत्ता मर्मत गर्नुका साथै अर्डरअनुसार नयाँ जुत्ता सिएर उसको गुजारा चलिरहेको हुन्छ । त्यहीबेला त्यस टोलमा कसैले एउटा जुत्ता कारखाना खोलिदिन्छ । अनि त सार्कीको पसल खत्तम हुनेभयो । उसले सम्झनेछ– मेरो दुस्मन यो कारखाना हो । तर, दुस्मन भएर के गर्ने, उसले अरू काम जानेको छैन– अनि ऊ त्यही कारखाना जान बाध्य हुन्छ । सुरुमा उसले पहिले मालिकलाई दुस्मन सम्झन्छ, दोस्रोमा मेसिनलाई दुस्मन सम्झन्छ, तेस्रोमा म यहाँ काम गर्छु र एक वर्ष काम गरेपछि अलिकति पैसा जम्मा हुन्छ फेरि आफ्नै पसल खोल्छु भनेर उसमा बुर्जुवा विचार पलाउँछ । तर, निकै वर्ष काम गर्दा पनि उसले पैसा जम्मा गर्न सकेको हुन्न । अनि, उसको चेतनामा परिवर्तन आउँछ । दिनभरि काम गर्दा पहिलेभन्दा मेरो जीवन एक कुरामा अलिकति सुखी छ त्यो हो– पहिले पसल खोल्दा ग्राहकहरूको गाली खान पथ्र्यो, पिटाइ खानुपथ्र्यो तर, अहिले दिनभरि काम ग¥यो भने ज्याला लियो, आराम छ । बरु काम गर्नसक्ने बेलासम्म त ज्याला आयो, बिरामी भएपछि के गरी खाने ? त्यसैले ज्याला बढ्नुपर्छ भन्ने सोचाइ उसमा आउँछ । त्यहीबेला एकजा कम्युनिस्ट त्यहाँ पस्छ, उसले मजदुरहरूको शोषण भएको कुरा गर्छ । उसले मजदुरहरू सङ्गठित हुनुपर्नेमा जोड दिन्छ । हडताल गर भन्छ । मजदुरहरू हडताल गर्न डराउँछन् । तैपनि, खानै नपाएपछि सबै मिली हडताल गर्छन् । हडताल गर्ने बित्तिकै नयाँ चरण सुरु हुन्छ । हडताल सफल हुन्छ । मिल मालिकले तिनीहरूको ज्याला बढाइदिन्छ । हडतालबाट निकै हौसला बढ्छ । उसले सङ्गठित हुनुपर्नाको महत्व बुझ्छ । केही गरी हडताल विफल भयो भने वा आन्दोलनलाई दबाइयो भने, मर्नेपरे खुट्टै तानेर मर्छु भनी झन् राम्ररी लड्छ, यसरी मजदुर वर्गको पुँजीपति वर्गविरुद्धको आन्दोलन क्रमिकरूपमा विकसित हुँदै अन्तमा विद्रोह हुन्छ ।

प्रो. माणिकलाल श्रेष्ठ


सुरुमा मेसिनको विरुद्धमा मजदुरहरू उत्रँदाको एउटा अर्को रोचक घटना यहाँ बताऊँ, बेलायतमा भर्खर औद्योगीकरण भएको थियो र त्यतिबेला त्यसको विरोधमा कामदारहरूले मेसिन फोड्ने आन्दोलन गरे । यसै सिलसिलामा बेलायतको संसद्ले मेसिन फोड्नेलाई ज्यान सजाय दिने विधेयक पारित ग¥यो । ‘हाउस अफ कमन्स’ बाट पास भएपछि त्यो विधेयक ‘हाउस अफ लोर्ड’ मा गयो । त्यहाँ भाषण दिँदै अङ्ग्रेजी भाषाका एक कवि बाइरनले भने– “हाम्रो देशको कानुनमा मृत्युदण्ड छैन । मानिस मा¥यो भने जन्मकैद, दश मान्छेलाई अङ्गभङ्ग ग¥यो भने दश वर्ष कैद हुन्छ । तर, मेसिन फोड्यो भने मृत्युदण्ड दिइन्छ । यहाँ मजदुरहरू यो ऐन पास नगर भनी जुलुस आउँछन् र म गेटमा बसेर सबैलाई भित्र पसाली भन्छु कि तपाईँहरू आउनुस् र यी जम्मै सांसदहरूको टाउको फोड्नुस् ! टाउको फोड्यो भने १० वर्षको कैद सजाय हुन्छ, मेसिन फोड्यो भने मृत्युदण्ड हुन्छ ।” यसरी बाइरनले सो ऐनको विरोध गरे । त्यति भनिसकेपछि उनले नारा लगाए “own with all the king expect king ludd” यसरी उनले लूड नामक मजदुर नेतालाई राजा भनी सम्बोधन गर्दै सबै राजाहरूको शासन खत्तम होस् मजदुरहरू राजा होऊन् भनी बोले ।
कम्युनिस्टहरूको विरोधमा पुँजीपतिहरूले गरेको प्रचारको राम्रो जवाफ पनि घोषणापत्रमा छ । हामीलाई थाहा छ– नेपालमा पहिलो आम निर्वाचन हुँदा गणेशमानले यही भक्तपुरमा आएर बोल्दा कम्युनिस्ट आयो भने सबभन्दा पहिलो ‘दालभात तरकारी अरू सबै सरकारी’ हुन्छ भने । मतलब कम्युनिस्टले सबलाई खान दिन्छ, आफू केही पनि गर्दैन, जम्मै उसको सरकारले लिन्छ र हुँदाहुँदा मान्छेले कमाएको व्यक्तिगत सम्पत्तिसमेत कम्युनिस्टले खोस्छ भनी उनले दोषारोपण गरे । तर, त्यसबारेमा घोषणापत्रमा भनिएको छ– “कम्युनिस्टहरूले मजदुरले काम गरी कमाएको अलि कति सम्पत्ति खोस्ने होइन, त्यति त पुँजीवादी व्यवस्थाले नै खोसिसकेको हुन्छ । कम्युनिस्ट व्यवस्थामा व्यक्तिगत सम्पत्ति भनेको मिल र उद्योग चलाएर शोषण गरी कमाएको पैसालाई जनाइन्छ । हामीले काम गरी पसिना बगाई कमाएको पैसा पुँजीपतिले खोसिसकेको छ । कम्युनिस्टहरूले खोस्न खोजेको त शोषण गरेर कमाएको पैसा (सम्पत्ति) हो, श्रमिकहरूका मेहनतको पैसा होइन ।
दोस्रो, पुँजीपतिहरूले दिने अर्को नारा कम्युनिस्टहरू आए भने त स्वास्नी पनि सामूहिक हुन्छ, सबै सामूहिक भएपछि लोग्ने–स्वास्नी पनि रहन्न । घोषणापत्रमा यसको जवाफ छ– “तपार्इँले भनेको ठीक रहेछ किनभने कम्युनिस्टहरूले सम्पत्तिलाई सामूहिकरण गर्ने भने, अब श्रीमतीलाई पनि सम्पत्ति नै सम्झने पुँजीपतिहरूले श्रीमती पनि समूहिकरण गर्छ होला भनी सोच्नु अस्वाभाविक होइन । अनि, कम्युनिस्टहरूले परिवारलाई बाँकी राख्दैनन् भन्नेबारे हामीले परिवार भनेर लोग्ने–स्वास्नीको दाम्पत्य सम्बन्धलाई खत्तम गर्ने भनेको होइन । हामीले त सामन्ती परिवार खत्तम गरी सम्पूर्ण समाजलाई नै एउटा परिवार बनाउने भनेका हौँ ।”
अहिलेको कम्युनिस्ट पार्टीको घोषणापत्रमा हाम्रो देशमा कसरी क्रान्ति गर्ने, के के कार्यक्रम राख्ने भन्ने किसिमको हुन्छ तर माक्र्स र एँगेल्सले तयार पार्नुभएको घोषणापत्रमा तत्कालीन स्थितिलाई लिएर कम्युनिस्टहरूले के के गर्छन् भन्ने विषयमा स्पष्ट गर्ने, त्यसको दर्शन दिने र कम्युनिस्टहरूको विरोधमा भएका गलत प्रचारको जवाफ दिने हिसाबले लेखिएको छ । घोषणापत्रमा उहाँहरूले जोड दिनुभएको छ– “पुँजी कहिल्यै व्यक्तिगत हुन सक्दैन, यो सामाजिक हुनुपर्छ । दिनभरि काम गरी पाउने ज्याला व्यक्तिगत हो । तर, एक पुँजीपतिले पुँजी लगानी गरी कमाएको नाफा मजदुरहरूको श्रमको कारणबाट मात्र हुने भएकोले त्यो एक्लैको हुन सक्दैन ।”
यसरी कम्युनिस्ट घोषणापत्रले ल्याएको मुख्य – मुख्य कुराहरूमा पहिलो हो, प्रथमपटक यसले वैज्ञानिक अवधारणा दियो । दोस्रो, यसले समाज परिवर्तन गर्ने विचार दियो । घोषणापत्र आउनुभन्दा पहिले आएका राजनैतिक पार्टीहरूले विद्यमान समाजभित्र कुन किसिमको काम ग¥यो भने जनतालाई सुख होला भनी कार्यक्रम दिन्थे । यसले राम्रै ग¥यो, यो होइन । तर, पहिलो पटक माक्र्सले यो समाजलाई बदलेर कस्तो किसिमको समाज ल्यायो भने जनतालाई सुख होला भनी सोच्नुभयो । माक्र्सभन्दा पहिलेका दार्शनिकहरूले यो संसारलाई, मानव समाजलाई, प्रकृतिका प्रक्रियाहरूलाई व्याख्या मात्र गर्न खोजे । अनि, माक्र्सले भन्नुभयो, “दार्शनिकहरूको उद्देश्य त संसारलाई परिवर्तन गर्ने हुनुपर्दछ ।” कस्तो किसिमको परिवर्तन भन्ने प्रश्नको जवाफमा घोषणापत्र आयो । कम्युनिस्टहरूको उद्देश्य अहिले विद्यमान व्यवस्थालाई संस्थागत गर्नु होइन । भर्खरै का. राधाकृष्ण मैनालीले भन्नुभयो– “०४६ सालको जन आन्दोलनबाट प्राप्त व्यवस्थालाई सुदृढ पार्न हामी सरकारमा गएका हौँ । शक्तिको लोभले होइन ।” ठीक छ, शक्तिको लोभले व्यवस्थामा जानुभएको नहोला तर व्यवस्थालाई सुदृढ गर्ने काम गर भनी कम्युनिस्ट घोषणापत्रमा भनिएको छैन । विद्यमान व्यवस्थालाई सुदृढ गर्नेतर्फ लाग्यो भने त भोलि कसरी समाजवाद आउँछ ? कम्युनिस्टहरूको मुख्य उद्देश्य त व्यवस्थालाई बदल्नु हो ।
(कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशित भएको १५० वर्षको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, केन्द्रीय समितिले २०५४ सालमा आयोजना गरेको कार्यक्रममा व्यक्त मन्तव्य । स्रोत:नौलो आयाम ) 

One response to “माक्र्स र एँगेल्सको कम्युनिस्ट घोषणापत्रमा के छ ?”

  1. Jagannath Sujakhu says:

    Great work.

Leave a Reply

Your email address will not be published. Required fields are marked *