भर्खरै :

कोरोना सङ्क्रमण रोकथाम र नागरिक चेतना

अहिले कोरोनाको दोस्रो लहरले संसारभर मानव जीवन सङ्कटमा पर्दै छ । दिनदिनै हजारौँ सङ्क्रमित र सयौँको ज्यान गुमिरहेको समाचारले हरेक मानिस झन् बढी चिन्तित देखिन्छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमित ३ लाख ४३ हजार चार सय सत्तहतर रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या ३ हजार ४ सय १७ पुगेको छ । गत वर्र्षको तुलनामा कम समयमा धेरै जना सङ्क्रमित रहेको र मृत्यु दर बढेको अध्ययनले थाहा हुन्छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले हालै ३१ जिल्लामा पूर्ण तथा आंशिक निषाधाज्ञा जारी गरेको अवस्था छ । सरकारी अस्पतालहरूमा बिरामीले सीट नपाउने र गरिब निम्न आय भएका परिवारले निजी अस्पतालमा उपचार गर्न नसक्ने स्थिति विद्यमान छ । यसले गर्दा कैयौँ बिरामीले समयमै उपचार नपाई मर्न परिरहेको तीतो वास्तविकदेखि खिन्न नहुने सायद कोही नहोला । गम्भीर प्रकृतिका बिरामीको लागि चाहिने एचडीयू, आईसीयू अक्सिजन सिलिन्डरको अभावलगायतका समस्याले गर्दा सर्वसाधारण अकालमै मर्न बाध्य भएका छन् । आपत्को समयलाई मौका छोपेर निजी अस्पताल सञ्चालकहरूले महँगो उपचारमार्फत गरिबलाई लुट्ने काम भइरहँदा पनि सरकार किन मौन छ ? दैनिक उपभोग्य सामानमा कृतिम अभाव सिर्जना गर्ने खालका गतिविधि हुन नदिन राज्यले पहलकदमी किन नगरेको भन्ने जिज्ञासा धेरैले गरिरहेका छन् । जन्मदेखि मृत्युसम्म नागरिकको शिक्षा र स्वास्थ्यको ग्यारेन्टी लिनुपर्ने राज्यले त्यस्ता नाफाखोर अस्पताल सञ्चालकहरूलाई खोइ निगरानीमा राखेको ? मानवताविरोधी गतिविधि गर्ने कुनै पनि पक्षलाई दण्ड जरिवानाको व्यवस्था गर्न राज्य किन चुक्दै छ ? सत्ताको खेलमा मस्त रहेका सरकारले गरिब दीनदुःखीहरूको पीडा र छटपटाइ कहिले देख्ला ? नागरिकको स्वास्थ्त्र्न्दा आर्थिक विकासलाई प्राथमिकता दिने सरकारी नीतिबाट कामदार जनताले खासै के नै अपेक्षा गर्न सक्लान् ?
यतिबेला बिरामीको उपचारमा अहोरात्र खट्ने डाक्टर, नर्स र सुरक्षाकर्मीहरूसमेत सङ्क्रमित भइरहेको खबरले अधिकांशको मन पिरोलिएको छ । यस्तो विषम परिस्थितिमा प्रत्येक नागरिकले कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पालना गरी घरैमा बस्नुको विकल्प देखिँदैन । अनावश्यक बाहिर हिँड्डुल गर्ने, आफू मनलागी गर्ने, लापरबाही गर्ने, बोल्दा मास्क निकाल्ने, जथाभावी मास्क फाल्ने आदि कारणले नै कतिपय व्यक्तिको ज्यान गएको हो । कोरोेना जोखिम रहेका जिल्लाहरूमा सरकारले निषेधाज्ञा जारी गरको भएपनि सडक छेउछाउ अनि गल्लीहरूमा खुलेका भट्टी पसलहरूमा मानिसहरू जमघट हुने कार्य यथावत रहेकोले प्रहरी प्रशासनलगायत सम्बन्धित निकायले विशेष ध्यान दिनु आवश्यक छ । दोस्रो लहरको नयाँ प्रजातिको कोरोना भाइरस बढी प्राणघातक रहेको हुनाले अझ बढी सचेत र सतर्क रहनुपर्ने विज्ञहरूको सुझावलाई बेवास्ता गर्नुहँुदैन । हुलमुलमा जीउ जोगाऔँ, अनिकालमा बीउ जोगाऔँ भनेजस्तै यतिखेर मानव अस्तित्व रक्षाका लागि सम्पूर्ण नागरिकले आ–आफ्नो ठाउँबाट मानवीय कर्तव्य पूरा गर्नु अत्यावश्यक छ । यतिबेला बालबालिका तथा ज्येष्ठ नागरिक बढी कोरोना सङ्क्रमणको जोखिममा छन् । तिनको हेरचाह र सुरक्षाका लागि हरपल तयार रहनुपर्ने युवाहरू नै कहिले साथीको जन्म दिन, कहिले बिहे–जन्ती, कहिले नयाँ वर्ष अथवा अनेक बहानामा जमघट गर्ने, जुवाताँस खेल्ने आदि प्रवृत्ति बढेको छ । त्यसकारण काठमाडाँै उपत्यकाका तीनैवटा सहरहरूमा सङ्क्रमण अनियन्त्रितरूपमा बढ्न सक्ने सम्भावनालाई नकार्न सकिंदैन । घर बस्दा दिक्क लाग्यो भनेर बाहिर जाने, जुवा खेल्ने, चिया कफी पसलमा जम्मा हुनेजस्ता आफ्नै लापरबाहीको कारण धेरैले अकालमै ज्यान गुमाउनु परेका घटनाहरूबाट पाठ सिक्न जरुरी छ । फुर्सदको यस घडीमा आफ्नो बालबच्चा परिवारलाई समय दिई एक आपसमा सीपहरू सिक्ने सिकाउने गर्नु राम्रो हुनेछ । विद्यार्थीहरूले परीक्षाको तयारी गर्ने, सान्दर्भिक पुस्तक पढ्ने, लेख रचना र जीवनी अध्ययनका लागि यथेष्ट समय निकाल्न सकिने हुनाले त्यसखाले रचनात्मक कार्यमा अभ्यस्त रही सबैले आफुलाई सुरक्षित महसुस गर्न सक्नेछन् । आफ्ना भविष्यबारे ठुलठुला सपना कल्पना साँचिरहेका तमाम युवा पुस्ताले बेलैमा सोच्न सकेन भने पछि पछुटाउनुको कुनै अर्थ हुँदेन । त्यसैले कोरोना सङ्क्रमित तथा कन्ट्राक्ट ट्रेसिङ गरेका व्यक्तिहरू घर बाहिर नआइ आइसोलेसनमा बस्ने, बिरामीलाई स्वासप्रश्वासको समस्या भए तुरुन्त नजिकको अस्पताल लग्ने व्यवस्था मिलाउन र तिनलाई आवश्यक खाद्यान्न तथा औषधि उपलब्ध गरी सहयोग गर्न युवाहरूले स्वयम्सेवकीय भूमिका निर्वाह गर्न सक्नुपर्दछ ।
बाक्लो जनसङ्ख्या भएको काठमाडौँ उपत्यकालगायतका ठुला सहरहरूमा कोरोना रोकथाम र नियन्त्रणमा विशेष ध्यान पु¥याउन नसके भारतमा जस्तै भयावह स्थिति नेपालमा पनि आउन सक्ने सङ्केत विज्ञहरूले गर्दै आएका छन् । भारतमा मोदी सरकारले ट्रम्पलाई स्वागत गर्दा, किसानविरोधी ऐनविरुद्ध भएका किसानहरूको प्रदर्शन, कुम्भमेला गंगा स्नान, चुनावको दौरान एकत्रित भीडको कारण सङ्क्रमण तीव्र फैलिएको हुनसक्ने अनुमान गरिएको छ । त्यसकारण, सरकारले भारतसित जोडेका सबै नाकाहरू तत्काल बन्द गरी सेना र प्रहरीलाई सिमानामा कडाइका साथ जाँच गर्न खताउनुपर्ने देखिन्छ । भारतसित सीमा जोडिएका २२ वटा नाकाहरू बन्द गरिएका छन् भने अझै १३ वटा सीमा नाकाहरू बन्द गर्न बाँकी रहेको हुँदा कोरोना महामारीको जोखिम अझै कायम रहेको देखिन्छ । राज्यले धरहरा, भ्यु टावर, बगैँचा निर्माण आदिमा अरबौँ खर्चेको तर जनताको स्वास्थ्यको निम्ति पूर्वाधार निर्माणमा ध्यान नदिएको गुनासो आइरहेकै छ । नेपाल सरकारले सेनालाई प्रदेश राजधानीमा एक हजार शøयाकोे अस्थायी कोभिड अस्पताल बनाउन दिने समाचार छ । यो सकारात्मक छ । त्यस्तै भारतमा सङ्क्रमण नियन्त्रणभन्दा बाहिर गइरहेको स्थिति रहेकोले अमेरिकी नागरिकलाई स्वदेश फर्कन आह्वान गरिएसँगै नेपाल सरकारले वैशाख २३ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान बन्द गरेको छ । यसर्थ राज्य र सम्बन्धित निकायले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रभावकारी काम कारबाही गर्ने हो भने कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण हुने आशा गर्न सकिन्छ । अतः यस्तो गम्भीर स्वास्थ्य सङ्कटको बेला आउँदै गरेको चाड पर्व मातातीर्थ औँसी र देवाली मनाउने काम पनि औैपचारिकतामा मात्र सीमित राख्नु नै बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *