भर्खरै :

भारतमा जीवन र मृत्यु – १

(सन् १९४६ मा प्रकाशित पुस्तक ‘टमिगनबाट प्रजातन्त्र’  (Democracy with a Tommygun) दोस्रो विश्वयुद्धको उत्कर्षतिर दक्षिणपूर्वी एसियाका देशहरूको भ्रमण गरेका अस्टे«लियाली पत्रकार विल्फ्रेड बर्चेटको रिपोर्ताज हो । पुस्तकमा जापानी आक्रमणले आक्रान्त चीन र अङ्ग्रेजहरूले छोड्दै गरेको भारतमा आफूले देखेभोगेका विवरण बर्चेटले उतारेका छन् । पुस्तक पढ्दै जाँदा आजको चीन र भारत निर्माणको पृष्ठभूमि उजागर हुन्छ । चिनियाँ नेतृत्व जनताप्रति कति संवेदनशील थियो र भारतीय नेतृत्व कसरी जनताभन्दा पनि मानवीय सङ्कटमा मोटाउने दलाल र नाफाखोर पुँजीपति एवम् साहुमहाजनहरूको सेवामा तल्लिन थियो भन्ने कुरा पुस्तकले खुलस्त पार्छ । किसान समस्या र कोरोना महामारीले रन्थनिएको वर्तमान भारतको कहालीलाग्दो दृश्यले पुस्तकको निम्न अंश सान्दर्भिक देखिएको हुनाले यहाँ प्रस्तुत गरिएको छ । सं.)
मृत्युको गन्ध
भारतमा भोकमरीबाट मर्नु असामान्य घटना होइन । तर, १९४३ को गर्मीयामको अन्त्यतिर बेलायतशासित कलकत्ताका उत्कृष्ट होटलहरूसामु भकाभक मानिस मर्न थालेपछि भोकभोकै मरिरहेका भारतीयहरू विश्व छापाका ठूला अक्षरका शीर्षक बन्न थाले ।
यो दृश्य मजाले अघाएका पश्चिमाहरू र भारतीयहरू दुवैका लागि चिढाउने खालको थियो । तिनीहरूलाई कलकत्ताका गल्लीहरूमा हिँड्न, बाटोमा पर्ने ग्रेट इस्टर्न होटल वा फिर्पो रेस्टुराँमा पन्ध्रबीस परिकारमध्ये सात छाक रोज्न अप्ठ्यारो परेको हुनुपर्छ । यत्रतत्र सारङ्गी जस्ता पेट र सुकेका हातखुट्टासहित पिल्सिँदै मृत्यु पर्खिरहेका भोकानाङ्गाबारे सोचमग्न हुन तिनीहरूलाई गाह्रो भएको हुनुपर्छ । सरसर्ती हेर्दा ती भोकाहरूका चम्किला आँखाले स्थितिलाई प्रश्नवाची र निराशामुखी ढङ्गले हेरिरहेका थिए । उनीहरू कमै बोल्थे र कहिल्यै खानाको लागि खाली हात फैलाउन्नथे । उनीहरू भिखारी थिएनन् । उनीहरूलाई माग्न आउँदैनथ्यो । उनीहरू गाउँले थिए, शिल्पकार, किसान र मजदुरहरू थिए । बङ्गाली जीवनका भित्री अङ्ग थिए । भोका पेट लिएर उनीहरू कलकत्ता आएका थिए ।
कलकत्ता पुग्न उनीहरूले तँछाडमछाड गरेका थिए । उनीहरूका लागि राजधानी कलकत्ता मुक्तिमार्ग थियो । त्यहाँका भण्डारहरूमा चामल हुनुपर्छ भन्ने उनीहरूको अनुमान थियो । त्यहाँ आउनेमध्ये कोही दुरदराजका गाउँले परिवारका प्रतिनिधिहरू थिए । गाउँ लैजानका लागि उनीहरू आफूसँग भएभरको पैसा लिएर अन्न किन्न आएका थिए । तर, कलकत्तामा धानको मूल्य गाउँमा भन्दा अति उच्च थियो । सहरको बसाइका क्रममा उनीहरूको पैसा सक्कियो । परिवारजनले उनीहरूलाई गाउँमा पर्खिरहे र भोकै पिल्सिरहे । प्रतिनिधिहरू सहरका गल्लीहरूमा मरे ।
प्रत्येक बिहान ट्रकहरू कलकत्ताका बस्तीहरूमा १७ औँ शताब्दीका ‘प्लेग गाडी’ (मुसाबाट बिजुलीजस्तै फैलिने रोगबाट मरेका लासहरू बटुल्ने गाडी) झैँ गुड्थे । लासहरू बटुल्न ! सेप्टेम्बर र अक्टोबरदेखि तिनले लास बटुल्न थालेका थिए । खासगरी महिला र बालबालिकाका लासहरू दैनिक एक सयको सङ्ख्यामा जम्मा गरिँदै थियो । नदीका किनारका जलिरहेका घाटहरूले अस्पताल र लास सङ्कलक टोलीहरूले पठाइरहेका ‘हिन्दु’ लास ठेगान लगाउन सकिरहेका थिएनन् । गाउँका मुसलमान टोलीहरू चिहान खन्न नसक्नेगरी गलेका थिए । त्यसैले तिनले लासजति समुद्रमा तैरिन दिए । सहरको हावा लासैलासको दिगमिगे गन्धले भरिएको थियो ।

दिउँसोपख हिंस्रक गिद्धहरू लासको खोजीमा रुखका टुप्पामाथि रिँगिरहेका हुन्थे । साँझतिर हकदाबी नगरिएका लासमाथि तिनले झम्टिन थाल्थे । रातिपख सडकमा ब्वाँसाहरूले मान्छेको सास जाँदासम्म पनि कुर्दैनथे ।
ससाना बालबालिका सा¥है पीडित थिए । सुकेका छालाबाट भित्रका हाडखोर सजिलै गन्न सकिन्थ्यो । सिन्काजस्ता हातखुट्टाले शरीर अड्याएको हुन्थ्यो, शरीरको मासुजति निख्रिसकेको हुन्थ्यो । शरीर के भन्नु, टाउको मात्र हुन्थ्यो र टाउको के भन्नु आँखा मात्र हुन्थ्यो । ती आँखामा मनै कुँडिने अनुनय विनय प्रस्ट देखिन्थ्यो । उनीहरू बेसहारा भई टुक्रुक्क बस्थे, सहरको अनौठो परिस्थितिलाई रन्थनिँदै हेर्थे र चुपचाप पिल्सिँदै मर्थे । काखका बच्चाहरूले दूध रित्तिसकेका वा माटो भइसकेका आमाका छाती चुसिरहेका हुन्थे ।
हुग्ली नदीको किनारमा मृत्युकी देवी काली आफ्नो घाँटी र हातमा मान्छेका खोपडीहरूको सेतो माला लगाएर उभिएकी थिइन् । मूर्तिको वरिपरि एउटा कट्टर भक्तले हातमा धारिलो चक्कु लिएर नाच्दै थियो । ठेलागाडामा ल्याइएका लासको नयाँ खेप थपिनेबित्तिकै ऊ झन् खुसी हुँदै उफ्रिन्थ्यो । ‘पोडे’ हरू सक्दो खटिरहेका थिए तर आगो बलिरहन लासमा बोसो नै थिएन । लास जलाउने दाउराको भाउ अकाशिएको थियो । एक दिन पुराना लासहरू जल्ने पालो पर्खिरहेका थिए ।
हावडाको रेल स्टेसनमा आउने प्रत्येक रेलगाडी काली माताका लागि सम्भावित सयौँ लास बोकेर आउँथ्यो । तिनीहरू तेस्रो दर्जाको कम्पार्टमेन्टमा खाँदिएर आउँथे । रेलका छत, इन्जिन सबै भरिभराउ हुन्थे । धेरैसँग त स्टेसनबाट बाहिर जाने तागत पनि बाँकी हुन्नथ्यो । ‘सरकार’ ले आफ्नो लागि केही गर्ला भन्ने झिनो आस लिएर तिनीहरू प्लेटफर्म वा अगाडिका पेटीहरूमा घस्रिरहन्थे ।
कलकत्ता आउनुभन्दा दसबीस माइल टाढा स्टेसनमा निजी गोदाममा लग्नुअघि चामलका बोराले भरिभराउ कार्गो (सामान) बोकेका रेलहरू रोकिन्थे । गाडीहरूबाट चुहिएको अलिकति अमूल्य अन्न लिन भोका मान्छेहरू रेलका लिकहरूमा तँछाडमछाड गर्थे । रेल रोकिन नपाउँदै हातमा पातला सुइरा वा छुरी लिएका सयौँ हतियारधारी मान्छेले रेललाई घेरिहाल्थे । ती हतियारलाई स्टीलका ढोकाहरूमा घोपेर अन्नको धारा लाग्ने प्वाल नबन्दासम्म जोडतोडले ठेल्थे र घुमाउँथे । रेल रोकिएको केही घण्टाभित्र आफूलाई पुग्ने अन्न लिन सकिन्थ्यो । यसमा प्रहरीले कमैमात्र भाँजो हाल्थे । यस्ता दरिद्र सहधर्मी मानवमाथि कसले दया नगर्ला ? जे भए पनि सामान लुकाएर मूल्य बढाउने कालाबजारियाहरूको पन्जामा पुग्नुभन्दा अन्नजति सिधै भोकाहरूको मुखमा पर्नु बेसै हुन्थ्यो ।

गाउँले सडकहरूमा धुलाम्मे ‘बलिका बोका’ हरू देखिन्थे । खासगरी काखमा केटाकेटी च्यापेका महिलाहरू खोक्रो पेट र काम्दा हातखुट्टासित प्रशस्त खाना पाइने ‘चमत्कारी’ राजधानीतर्फ लम्किरहेका हुन्थे । उनीहरूको शरीरको हड्डी देखिन थालिसकेको हुन्थ्यो । उनीहरू केहीदिन बङ्गालको टन्टलापुरे घाममा सेकिएर लाससरी बनेपछि गिद्धका लागि भोजन हुन्थे । अहिले भने उनीहरू धर्मराउँदै मृत्युमार्गमा हिँडिरहेका थिए । ब्वाँसा र गिद्धहरूले गाउँमा लास व्यवस्थापन टोलीहरूको खाँचो अनावश्यक बनाइदिएका थिए । सुन्निएका आँखाले निराशापूर्वक खेतमा हुर्किँदै गरेको अन्नबाली नियालिरहेका थिए । आधा शताब्दीदेखि बङ्गालको प्रचुर हिउँदे बाली कहलिएको धान पाक्न एकाध महिना अझै बाँकी थियो ।
अनिकालप्रतिको उदासीनता
बाह्र महिनाभन्दा अगाडिदेखि नै छापामा बङ्गालमा खाद्य सङ्कट आउनेछ भनी चेतावनी सुनिँदै आएको थियो । तर, भारतस्थित सरकारी प्रवक्ताहरू र बेलायतस्थित भारतका लागि राज्यसचिव श्री एमेरीले हल्काफुल्का शब्दले सबै ठीकठाक छ भनी जनतालाई आश्वस्त पारिरहे । १९४३ को आरम्भमा श्री एमेरीले तल्लो सदनलाई भारतमा अकाल लाग्नेछैन भनी ढुक्क पारे । सोही वर्ष जुलाई र अगस्तमा अन्नको अकाशिँदो मूल्य र फैलिँदो चिन्ताबारे चेतावनीपूर्ण रिपोर्टहरू प्रकाशित भए । तर, जनता आफ्नै गाउँमा चुपचाप मर्न राजी हुँदासम्म त्यतापट्टि ध्यान दिइएन । सेप्टेम्बरसम्ममा उनीहरूले कलकत्ता पुग्ने छाँटकाँट देखाए र अक्टोबरसम्म भारतमा शासन गर्न पठाइएका सबभन्दा ठूलो बेलायती शासक भाइसरोयको दरबारसम्म लासको गन्ध पुगेपछि बल्ल केही गर्नुपर्ने महसुस गरियो ।
यता नयाँ दिल्लीमा भारत सरकारका प्रमुख प्रेस ‘सल्लाहकार’ श्री किश्र्नरले भारतको घटनाबारे विश्वका जनताले के थाहा पाउनुपर्छ भनी निक्र्योल गरे । उनले बङ्गालको स्थितिबारे रिपोर्टिङ गर्दा पत्रकारले केकति दायराभित्र रही लेख्नुपर्छ भन्ने सुत्र बनाए । कलकत्ताका गल्लीहरूमा भौतारिरहेकाहरूलाई ‘बिरामी दरिद्रहरू’ भन्नुपर्ने भयो । ‘दरिद्र व्यथा’ को नौलो र हालसम्म नचिनिएको रोगले निम्त्याएको सङ्कटलाई ‘खाद्य अभाव’ भन्नुपर्ने भयो । कुनै पनि हालतमा ‘भोकमरी’ वा ‘अनिकाल’ शब्द प्रयोग गर्न नपाइने भयो ।
नयाँ दिल्लीस्थित गोलाकार ढुङ्गे भवनमा बसेको केन्द्रीय सरकारको बैठक बङ्गालमा भइरहेका घटनाहरूको जिम्मेवारी लिनबाट हाकाहाकी पन्छियो । उसले घोषणा ग¥यो – “केन्द्रको कुनै किसिमको हस्तक्षेपले १९३५ को संविधानमा उल्लेख भएको प्रान्तीय स्वायत्तताका सिद्धान्तहरूले प्रदान गर्ने अधिकार मिच्नेछ ।”
सन् १९४३ को अनिकालले दसौँ लाख ज्ञातअज्ञातको जिन्दगी स्वाहा भयो । श्री एमेरीले ६० लाखभन्दा बढी मान्छेको मृत्यु हुन गएको स्थानीय अनुमानलाई अस्वीकार गर्दै ‘१० लाखभन्दा बढी’ नमरेको उद्घोष गरे । यो अनिकाल भारतको भौतिक, राजनीतिक, सामाजिक र आर्थिक रोगहरू चियाउने सबैभन्दा उपयुक्त आँखीझ्याल हो । भारतको सबैभन्दा ठूलो सहरका गल्लीहरूमा छताछुल्ल भोका बङ्गालीहरूको भीडले केही समयअघि मात्र चेताइएका कमजोरीहरू औँल्याउँछ । यसले संसारको छ भागको एक भाग रहेका जनताका समस्यामा केही बेरलाई भए पनि विश्वको आँखा तान्छ । बङ्गालको अनिकालमा भारतलाई सताइरहेका समस्त समस्याका अंशहरू थिए – साम्प्रदायिकता, दलीय ईख, केन्द्रसँग प्रान्तीय संरचनाको भद्दा सम्बन्ध, उत्पादनको लागि जनसङ्ख्याको दबाब, भ्रष्टाचार र तल्लो वर्गका दुःखपीरप्रतिको सरकार र हुनेखाने भारतीयहरूको उदासीनता, अपरिपक्वता र बेलायती प्रशासनको हडबडी ।
बेलायतशासित भारत
सुरुमा बङ्गालको अनिकाल किन भयो भनी थाहा पाउन केही आवश्यक तथ्यहरू बुझौँ ¤ सन् १९४१ को जनगणनाले भारतको जनसङ्ख्या प्रति वर्ष ५० लाखको दरले बढिरहेको देखाएको थियो । कृषि उत्पादन भने यसअनुसार बढिरहेको थिएन र सामान्य वर्षमा एक जनाको भागमा एक पाउन्ड अन्न पथ्र्यो । युद्धभन्दा अघिका वर्षहरूमा बर्माबाट १५ लाख टन अन्न आयात गरिन्थ्यो । ६० प्रतिशत जनता आधापेट खान्थे, निश्चित जनता भोकमरीको मुखमा हुन्थे र केही जनता जहिल्यै भोकोे स्थितिमा हुन्थे ।

भारतको जनसङ्ख्या ३९ करोड छ । त्यसमध्ये ९ करोड ३० लाख जनसङ्ख्या सामन्ती कुलीनहरूका ५६२ राज्यहरूमा बस्छ । उनीहरूमाथि मध्यकालीन राजा, महाराजा, निजाम, गाइकवाड आदिले शासन गर्छन् । राज्यहरूले बेलायती आक्रमणको समयदेखि नै बेलायतसँग बेग्लाबेग्लै सम्झौताहरू गरेका छन् वा तिनीहरू भारतीय गदर (बेलायतविरोधी विद्रोह – १८५७) को समयदेखि तटस्थ बसेका छन् । बेलायतले ती शासकहरूलाई ‘सल्लाहकार’ वा ‘सहायक’ को रूपमा सघाउँछ ।
बाँकी भारतीयहरू बेलायतशासित भारतका ११ प्रान्तहरूमा बसोबास गर्छन् । ८० प्रतिशत जनताले खेतीपाती गर्छन्, झन्डै ९० प्रतिशत जनता गाउँमा बस्छन् । सन् १९३५ को संविधानअनुरूप सीमित मतदानका आधारमा बेलायतशासित भारतका ११ प्रान्तमा प्रान्तीय सरकारहरू निर्वाचित भएका थिए र युरोपमा विश्वयुद्ध सुरु हुँदासम्म कार्यकाल चलाएका थिए । बिहार, बम्बे, उडिसा, मद्रास, संयुक्त प्रान्त, केन्द्रीय प्रान्त, आसाम र उत्तरपश्चिम मोर्चा गरी ८ प्रान्तमा काङ्ग्रेसी मन्त्रीहरू सत्तासीन थिए । बाँकी बङ्गाल, पञ्जाब र सिन्ध गरी ३ प्रान्त मुसलमानबहुल थिए । तिनमा मुसलमान मन्त्रीहरू थिए । निर्वाचित सरकारको अनुमतिबेगर भाइसरोयले भारतलाई जर्मनीविरोधी खेमामा प्रवेश गराएपछि ८ प्रान्तका काङ्ग्रेस मन्त्रीहरूले राजीनामा दिए तर बङ्गाललगायत अन्य प्रान्तका मन्त्रीहरूले त्यसो गरेनन् ।
समग्र भारतमा भाइसरोयले शासन गरिरहेका छन् । उनी सम्राटका प्रत्यक्ष सहायक हुन् । भारतका लागि राज्यसचिवमार्फत उनी बेलायत सरकारप्रति उत्तरदायी छन् । बेलायती र भारतीय नियुक्त सदस्यहरूको कार्यकारी काउन्सिलले भाइसरोयलाई सघाउँछ । यी सदस्यहरू बेलायती मन्त्री वा अमेरिकी सचिवालय सदस्यसरह विभागका प्रमुखहरू हुन्छन् । महत्वपूर्ण भिन्नता के छ भने उनीहरू आफूलाई नियुक्त गर्नेहरूप्रति नभई भाइसरोयप्रति जवाफदेही हुन्छन् ।
केन्द्रीय विधायिकामा दुई सदन छन् । त्यसमा प्रत्यक्ष निर्वाचित र नियुक्त सदस्यहरू बाँडिन्छन् । देशसँग सम्बन्धित विषयमा बहस गर्न वा कानुन ल्याउन उनीहरू नयाँ दिल्लीमा बैठक बस्छन् । विधायिकाले सदर गरेका कानुनहरूमा भाइसरोयको विशेष अधिकार हुन्छ । सीमित विषयमा यसो गर्न सकिन्छ । केन्द्रीय अखिल भारतीय विधायिकाको प्रान्तीय सरकारसँग कुनै सम्बन्ध हुँदैन । भाइसरोयको कार्यकारी काउन्सिलसँग पनि त्यसको सम्बन्ध हुँदैन ।
जहाँसम्म बेलायती प्रशासनको कुरा छ, भारतलाई शासन गर्ने वास्तविक जिम्मेवारी इन्डियन सिभिल सर्भिस (भारतीय नागरिक सेवा) को हातमा हुन्छ । सुरुमा इस्ट इन्डिया कम्पनीका अफिसरहरू यसका कर्मचारी हुन्थे । त्यसबेला यो पूर्णतः बेलायती थियो । तर, अहिले यसमा ५७३ जना अङ्ग्रेज छन् र ६३२ जना भारतीय सदस्य छन् । इन्डियन सिभिल सर्भिसलाई भारतमा उच्च सामाजिक सम्मान दिइन्छ । यसलाई विभिन्न भागमा बाँडिएको छ । सर्भिस वा सेवाका दर्जाहरू सेनाको पदीय क्रमअनुसार निर्धारण गरिएका छन् । कर्मचारीहरूलाई आफ्नो नामपछाडि आई.सी.एस. लेख्न दिइन्छ र उनीहरूका घरको पर्खालमा काँसको पाटीमा आफ्नो नाम लेख्न दिइन्छ ।
बर्मा सरकारका पूर्व आई.सी.एस. सदस्यहरूलाई बर्मेली सैन्य सेवा फाँटको प्रशासनमा गाभेपछि प्रत्येकलाई उसको पूर्व कर्मचारी स्तरअनुसार बराबरीको सैन्य दज्र्यानी दिइएको थियो । यसमा सहायक निरीक्षक, जिल्ला अफिसर, जिल्ला कमिसनर आदि थिए ।
केन्द्र सरकार भन्नाले भाइसरोय र उनको कार्यकारी काउन्सिल बुझिन्थ्यो । त्यसले रक्षा, परराष्ट्र, हुलाक र टेलिग्राफ सेवा, रेलमार्ग, आम्दानी कर, भन्सार र मुद्रामा नियन्त्रण गथ्र्यो । प्रान्तीय मामिलामा हस्तक्षेप गर्ने पर्याप्त प्रावधान छन् । ‘अनिकाल घोषणा भएको स्थितिमा’ ‘इन्डिया एक्टको प्रतिरक्षा’ (भारत प्रतिरक्षा ऐन) मा केन्द्रलाई युद्ध प्रयासमा असर गर्ने व्यापक परिभाषाभित्र पर्ने जुनसुकै विषयमा असिमित अधिकार दिन्छ ।
केन्द्र सरकारसँग प्रान्त सरकारले काँधमा काँध मिलाउने वा प्रान्तीय मन्त्रीहरू मिलेर सम्मेलन गर्ने कुनै स्वचालित संयन्त्र छैन । प्रान्तीय सरकारले हेर्ने एउटा विषय खाद्यान्न हो । त्यो पनि माथि भनिएझैँ ‘अनिकालको स्थिति’ घोषणा गरेपछि मात्र हो । तर, यसमा पनि केन्द्रकै मुख ताकिन्छ । जेहोस्, १९४२ बित्दै गर्दा खाद्यान्नलाई केन्द्रले अखिल भारतीय विषय मानिसकेको थियो । त्यसकारण, उसले ‘धेरै अन्न उत्पादन गर’ अभियान थाल्ने निर्णय गरेको थियो ।

विल्फ्रेड बर्चेट


अनुवाद : गणेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *