भर्खरै :

नेताहरू कुर्सीका निम्ति खुट्टा तान्दै छन्

अल्पमत र संयुक्त सरकारमा मात्र होइन, झन्डै दुईतिहाइ मत प्राप्त सरकारमा पनि मन्त्री भागबन्डाको निम्ति एउटै दलका एक नेताले अर्को नेतालाई पछार्ने दाउपेच गर्दोरहेछ भन्ने कुरा समयले देखाइसकेको छ । भागबन्डाको कुरा गर्दा पार्टीको सिद्धान्त र विचारको कुनै ख्याल नगर्ने नेताहरूको जमघट ठुला दलहरूमा कमी छैन । सरकारको नेतृत्व परिवर्तन गर्न र मन्त्री बन्न लालायित नेताहरू अरूलाई भुक्न पाएपछि आफ्नो इज्जत, प्रतिष्ठा, चरित्र, नैतिकता र पदको ख्यालै गर्दैनन् । न्याय, स्वतन्त्रता, समानता, मानव अधिकार, सार्वभौमिकतामाथि लात मार्ने गतिविधि भए पनि चुइँक्क नबोल्ने ती नेताहरू उल्टो षड्यन्त्रमा भुल्छन् र बिक्छन् । फलतः मुलुक अस्थिरता र सत्ता द्वन्द्वमा फसिरहेको छ । सत्तारुढहरूको सत्ता स्वार्थ र व्यक्तिगत सत्ताको लोभमा भुलेका र सत्ता हाक्न पाएको आधारमा मात्तिएका नेताहरू आफ्नै कारण देशी विदेशी शक्ति राष्ट्रहरूको चलखेल बढ्छ, आन्तरिक कलह चर्काएर आफू आफू जुधाइन्छ । सरकारलाई कमजोर पार्छ र हुनसम्मको फाइदा लिइन्छ भन्नेतर्फ हामी किन विवेक पु¥याउँदैनौँ ?
सत्तारुढ दलका नेताहरू दुषित राजनीतिमा फसिरहेकोमा शङ्का छैन । ठुला छाती भएका ठुला दलका नेताहरू किन सङ्कुचित घेराभित्र पसेका हुन् ? आफूलाई प्रजातन्त्रवादी, जनवादी भन्न नथाक्ने तिनीहरू किन कुर्सीकै निम्ति खुट्टा तान्दै छन् । एकले अर्कोलाई पछार्न किन दाउ रच्दै छन् ? आफ्नै दलको बहुमतको सरकार ढाल्न किन अरू दलसँग गुहार माग्दै छन् नेताहरू ! ओली सरकारभन्दा नयाँ बन्ने सरकार के कति कारणले सही छ भन्ने कुराको मूल्याङ्कन नगरी कसरी जनताले विश्वास गर्ने ? आ–आफ्नो दम्भ र दाउपेचमा सुधार हुने कहिले ? आ–आफ्नो पदको दायित्व पूरा गर्ने कहिले ? देशको राजस्वमा दाइँ गरेर, ढुकुटीमा रमाएर आफू आफू झगडा गरेर देश र जनतालाई लात मार्ने नेताहरू सज्जन कि दुर्जन ! जहिल्यै सत्ताको भोको भएर, देश र जनताको स्वार्थलाई पन्छाएर शासन चलाउने शासकहरू अझै किन गम्भीर हुँदैनन्, विगतको गल्ती या कमजोरीबाट किन शिक्षा लिँदैनन् ? शासकहरू दूरदर्शी, देश र जनताप्रति जिम्मेवार नभएरै देशले दुर्गति भोगिरहेको छ, जनताले दुःख पाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *