भर्खरै :

जुम्लामा कोरोना सङ्क्रमित बिरामीको जङ्गल छेउमा वास

जुम्लाको सिंजा गाउँपालिका–२ का कोरोना सङ्क्रमित स्थानीयवासीलाई पालको बासमा राखिएको छ । सङ्क्रमितलाई अस्पतालको आइसोलेसन शय्यामा राख्नुपर्ने अवस्थामा बस्ने ठाउँ नभएर जङ्गलको छेउमा टहरा बनाएर बसिरहेको अवस्था छ ।
सिंजा गाउपालिका–२ का कोरोना सङ्क्रमित चन्द्रवीर तिरुवालाई अस्पतालले घर पठाइदिएपछि अहिले उहाँ पालमा बसिरहनुभएको छ । घरमा छुट्टै बस्ने संरचना नभएपछि उहाँ जङ्गलको छेउमा पाल बनाएर बस्नुभएको हो ।
तिरुवालाई उपचारार्थ सो गाउँपालिकाले नौ दिनअगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारार्थ पु¥याएको थियो । अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि शय्या हुँदाहँुदै घर पठाइदिएकोमा उहाँले आक्रोस पोख्नुभयो । त्यहाँको नियम र व्यवहारप्रति आफू अपहेलित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानका चिकित्सकले मलाई स्थानीय तहको आइसोलेसन शय्यामा राख्नुपर्ने भनेर फर्काइदिए ।” राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासङ्घको टोलीसमक्ष आफ्नो दुःखेसो राख्दै उहाँले कोरोना सङ्क्रमितलाई आइसोलेसनमा बस्ने व्यवस्था गर्न पहल गरिदिन अनुरोध गर्नुभयो ।
सिंजा–२ का वडाध्यक्ष नवीन शर्माले भन्नुभयो, “हामीले कोरोनाको शङ्का लागेर प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्न पठायौँ । बिरामी फिर्ता पठाइदिएपछि हामीलाई दुःख लाग्यो । गाउँपालिकामा पाँच शय्याको अस्थायी कोभिड अस्पताल रहेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमित व्यक्ति राख्ने हाम्रो सोच हो । पूर्वाधार छैन । अक्सिजन र अन्य सामग्री अस्पतालमा नभएकोले यो समस्या भएको हो ।”
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. राजीव शाहका अनुसार प्रतिष्ठानले अब श्वासप्रश्वासबिना बाँच्न नसकिने बिरामीको लागि भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ । उहाँले भन्नुभयो, “लक्षण भएका तर कठिन नभएका बिरामीलाई स्थानीय स्तरमै व्यवस्थापन गर्न र कठिन परिस्थितिका बिरामीको मात्रै अस्पतालको शय्या र अक्सिजनको व्यवस्था गरिएको हो ।
अहिले प्रतिष्ठानमा ६६ सङ्क्रमितमध्ये ११ जना अक्सिजन आवश्यक पर्ने बिरामीको उपचार भइरहेकोे छ । सरकारले बनाएको आइसोलेसन खाली हुँदा पनि भिन्नै पाल बनाएर बसेको जानकारी आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको थियो । टोलीले सङ्क्रमित बसेको स्थानमा ३० मिटर टाढाबाट आवश्यक सुरक्षा मापदण्ड अपनाएर पालमा बसेका सङ्क्रमित तिरुवाको अवस्था अवलोकन गरेको हो । आयोग अधिकृत धनराज शाही र किरण बरामसहित पत्रकार महासङ्घको टोलीले पालको बसाइ र अवस्थाबारे आफन्तसँग बुझेको छ ।
अस्पताल र आइसोलेसन भए पनि सङ्क्रमित मानिस पालमा बस्नु दुर्भाग्य भएको आयोगका सूचना अधिकारी किरण बरामले बताउनुभयो । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सिंजा क्षेत्रमा सुरक्षा जनशक्ति कम भएको, डाक्टर आउन नमान्ने भएकोले समस्या भएको जानकारी दिनुभयो । हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले स्वास्थ्य जनशक्ति परिचालन गरिएको र जाँचका लागि किटको अभाव भइरहेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *