भर्खरै :

प्रयोगविहीन अक्सिजन सिलिन्डर सङ्कलन गरिँदै

काठमाडौँ, २४ वैशाख । देशभर अक्सिजन सिलिण्डरको अभावमा बिरामीको उपचार प्रभावित भइरहेको समाचार सार्वजनिक हुँदै गर्दा प्रहरीले स्थानीय सरोकारवाला सङ्घ संस्थाको समन्वयमा प्रयोगविहीन अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पतालमा पु¥याउन थालेको छ ।
केही अघि मात्रै अक्सिजन उद्योगको निगरानीको जिम्मा पाएको नेपाल प्रहरीले दुरूपयोग हुन नदिन र प्रयोगविहीन सिलिण्डरको खोजी गरी अस्पतालमा पु¥याउन थालेको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । सोही क्रममा ललितपुर जिल्लाका विभिन्न स्थानमा प्रयोगविहीन १५९ अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाइमा सङ्कलन गरिएको छ ।
उक्त सिलिण्डरमध्ये जिल्लाको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार तत्काल अत्यावश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान सिलिण्डर उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सोही क्रममा ललितपुर प्रशासन प्रहरी, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग विभागले अक्सिजन प्लान्टको अनुगमनसमेत थालेको जनाइएको छ । स्टक एवम् डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तीव्रता ल्याउनुका साथै आमनागरिकमा यससम्बन्धी जानकारी भएमा नजिकको प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ । मुुलुकका अन्य जिल्लामा पनि अक्सिजन सिलिण्डरको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
अक्सिजन उत्पादक सङ्घले नेपालमा अक्सिजनको अभाव नभएको तर सीमित रहेकाले सिलिण्डरको अभाव भएको जनाउँदै आएको छ । अहिले मानिसहरूले घरमै सिलिण्डर ‘स्टक’ राख्दा समस्या भएको सङ्घले जनाएको छ ।
सिलिण्डरको अभाव पूर्ति गर्न सरकारले चीनबाट ल्याउने प्रक्रिया अघि बढाइसकेको छ । पछिल्लो समयमा अक्सिजनको अभावमा मानिसको मृत्यु भएको घटनासमेत सार्वजनिक भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *