भर्खरै :

महामारीमा विवाह (भारतको अनुभव)

दिल्ली निवासी साहिल गुलाटीको विवाह आउन एक साता बाँकी नै थियो । उनको मनमा कुरा खेल्यो–यस्तो महामारीमा पनि धुमधामसँग विवाह गर्नु ठीक होला र !
दिल्लीमा दिन दिनै कोभिड–१९ सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको थियो । सहरका अस्पतालहरू भरिभराउ भइसकेका थिए । अस्पतालमा शय्या नपाएर मानिसहरू मरिरहेका थिए । अक्सिजन समयमै नपाएर बिरामीहरू मास छर्न गइरहेका थिए ।
जो होस्, एक बारको जिन्दगीमा विवाह त धुमधामसँगै गर्नुपर्छ, गुलाटी परिवारले निधो ग¥यो । नभन्दै गत अप्रिल २६ मा साहिलको धुमधामसँग विवाह भयो । विवाह भोजमा भने धेरैलाई बोलाएनन् । “दुवै पक्षबाट त्यस्तै ३०–४० जना मानिस मात्र सहभागी बने”, साहिलले भने, “विवाह भोजमा आएका सबैले मास्क लगाएका थिए र सबै सावधानीका नियमको पालना गरेका छन् । परिवारका ज्येष्ठ सदस्यहरू जस्तै हजुरआमाहरूलाई विवाहमा सामेल गरेनौंँ ।”
दिल्ली सहरमा एक जनाको पीसीआर परीक्षण गर्दा २६ जनामा कोभिड सङ्क्रमण देखिँदै छ । अहिले दिल्लीमा ९२ हजार जना सक्रिय सङ्क्रमित बिरामी छन् । अप्रिल १४ यता दिल्लीमा कोभिड–१९ का कारण मर्नेको सङ्ख्या तीन अङ्कमा छ । मे ३ को दिन भारतको राजधानीमा कोभिडको कारण ४४८ जना मानिसको निधन भयो । गत वर्ष मार्च महिनामा महामारी सुरु भएयता एकैदिन मर्ने त्यो हालसम्मकै सबभन्दा उच्च सङ्ख्या हो । मे ६ मा दिल्ली सहरमा कोभिडको कारण मर्नेको सङ्ख्या ३३५ जना थियो ।
कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि भारतको केन्द्रीय सरकारले गठन गरेको कार्यदलले गत मार्च महिनामा भारतमा कोभिड व्यापकरूपमा फैलिनुमा विवाहजस्ता सङ्क्रमण उत्सर्जक (सुपर स्प्रेडर) दोषी रहेको निष्कर्ष निकालेको थियो । तथापि, विवाह उत्सवहरू भने रोकिएनन् ।
बरु भारतका विभिन्न भागमा राज्य सरकारले विवाह र मलामीजस्ता मानिसहरू भेला हुने कार्यक्रममा सहभागी हुन पाउने मानिसको सङ्ख्या तोकिदियो । दिल्लीमा विवाहमा ५० जनासम्म मानिस सहभागी बन्न पाउने सूचना जारी भएको छ । हरियाणा राज्यमा बाहिर गरिने विवाहमा पचास जनासम्म र भित्र गरिने विवाहमा तीस जनासम्म मानिस भेला हुन पाउने सूचना जारी भएको छ ।
जबरजस्त कारण
यस्ता जोखिम हुँदाहुँदै मानिसहरू अझै किन विवाह उत्सव मनाइरहेका छन् ?
तीस वर्षका गुलाटीले अवस्था चिन्ताजनक भएर पनि विवाह अघि बढाउनुपर्ने आफ्नो परिवारको बाध्यता भएको बताए । गुलाटी र उनकी दुलही गुरप्रित कौर इन्डोनेसियामा योगा प्रशिक्षक हुन् । उनीहरू जुन महिनामा इन्डोनेसिया फर्किने योजनामा छन् । कोभिड–१९ कै कारण इन्डोनेसियामा भारतीयहरूलाई अझै प्रवेश निषेध छ । यद्यपि, विवाह रोक्न निकै ढिला भइसकेको थियो ।
“हामीले विवाह सकाइहालौं भनी विचार ग¥यौँ”, उनले भने ।
विवाह स्थगित गर्दा परिवारले आर्थिक क्षति भोग्नुपर्ने थियो । दिल्ली बाहिरबाट आउने पाहुनाको लागि गुलाटीले एउटा होटलमा सात वटा कोठा पक्का गरिसकेको थियो । दिल्लीमा कोभिड–१९ फैलिएको भन्दै नआउने कोहीले भनेनन् । “मेरो बिहेको एक दिनअघि मैले औँठी साट्ने कार्यक्रमको लागि ठाउँ पक्का ग¥यौँ”, उनले भने, “पछि हामीले औँठी साट्ने कार्यक्रम नै स्थगित ग¥यौँ । मैले ठाउँको लागि गरेको अग्रीण भुक्तानी खेर गयो ।”
हरियाणाको रोकतकमा विवाह उत्सव आयोजक राकेश हर्जाईले परिवारहरूलाई विवाह उत्सव रोक्न समय नै अपुग भएकोले विवाह भएको बताए । उनको भनाइमा मे महिनामा तय भएका विवाह अप्रिलमै भएका छन् ।
दिल्लीको द्वारकामा बस्ने एउटा प्राविधिक वेभसाइटका सहायक सम्पादक २९ वर्षका सङ्केत विजयसारथीले मे ९ मा तय भएको आफ्नो विवाह गर्ने वा नगर्ने निक्र्योल गर्न धेरैलाई फोन गरेर सोधखोज गरेको बताए ।
उनको विवाह जनवरी महिनामा हुने तय भइसकेको थियो । विजयसारथी परिवारले एउटा निजी होटलमा मध्यम आकारको भोज आयोजना गर्ने निर्णय गरिसकेको थियो । तर, सङ्क्रमणको सङ्ख्या लगातार बढेपछि विजयसारथीले आफ्नै घरमै पनि विवाह गर्न अनकनाए । “गर्नेले त पचास जना मात्र मानिस राखेर पनि विवाह गरिरहेका थिए । तर, हामीलाई त्यही पनि जोखिमपूर्ण हुने लाग्यो । हाम्रो विवाहकै कारण कोही सङ्क्रमित नहोस् भन्ने हाम्रो चाहना थियो ”, उनले भने ।
विजयसारथीकी दुलही पट्टिका मानिसहरू उत्तर प्रदेशको मेरुत सहरबाट आउनुपर्ने थियो । विजयसारथीको घरबाट झन्डै एक सय किलोमिटर पर । महामारीको समयमा यात्रा गर्दाको जोखिमले दुलहीको परिवारलाई पनि खतरामा पार्न सक्थ्यो । “मेरा हुने सासु ससुराले खोप लगाइसक्नुभएको थियो । तर, यस्तो अवस्थामा यात्रा गर्नु ठीक हो वा होइन भन्नेमा हामी ढुक्क हुन सकेनौं”, उनले भने ।
विवाहको लागि पक्का गरिएको होटलले यो वर्षको कुनै पनि अर्को मितिमा विवाह उत्सव आयोजना गर्ने वाचा ग¥यो । “हामीले होटललाई पैसा बुझाइसकेका थियौँ”, विजयसारथीले भने, “हामीले विवाह उत्सव नै स्थगित गरे हामीलाई आर्थिक नोक्सानी हुने थियो । त्यसकारण हामी त्यसो गरेनौँ । बरु, पछि कुनै मितिमा त्यहीं विवाह उत्सव गर्ने निधो ग¥यौँ ।”
अप्रिल ३० मा स्क्रोल डट इनसँग कुराकानी गर्दै विजयसारथीले अझै अन्तिम टुङ्गोमा पुगिनसकेको बताए । उनले भने, “हामीले अन्तिम टुङ्गो अझै लगाउन सकेका छैनौँ । तर, मे ९ मा विवाह हुनेमा हामी ढुक्क भने छैनौँ । स्थगित पो गर्नुपर्ने हो कि !”
विवाह उत्सवको स्थगन
तर, अधिकांशले भने विवाह स्थगित गर्ने निर्णय गरेका छन् ।
“दिल्लीमा अप्रिल २२ देखि जुलाईको मध्यसम्मको लागि तय भएका ९० प्रतिशत विवाह स्थगित भएका छन्”, सामुदायिक कल्याण भोज घर सङ्गठन दिल्लीका सभापति रमेश दाङले भने । “कोभिड–१९ को सङ्क्रमण अचानक बढेबाट मानिसहरू डराइरहेका छन् । विवाह गर्ने कोही कोही पनि थोरै मान्छे मात्र राखेर विवाह गरिरहेका छन्”, उनले भने ।
रोहतकको विवाह उत्सव आयोजक हर्जाईले पनि त्यस्तै भनेका छन् । अप्रिल २२ यता हर्जाईको कम्पनीले जम्मा चार वटा विवाहमात्र आयोजना गरेको छ । मे महिनामा तय भएका ६ वटा विवाहमध्ये तीन वटा त अहिले नै स्थगित भइसकेका छन् । यो वर्षको अन्त्यसम्ममा अवस्था सामान्य हुने आशासहित अधिकांशले वर्षान्तमा विवाह सारेका छन् ।
दाङका अनुसार विवाहको स्थगन र पछि सार्दा यो उद्योगमा ठुलो असर पर्नेछ । गत वर्ष महामारी रोकथामकै लागि भारतभरि लकडाउन गर्दा त्यसै नै यो क्षेत्र प्रभावित बनेको थियो । दिल्ली सहरमा मात्र झन्डै एक हजार वटा विवाहस्थल छ । तीमध्ये ७०–८० प्रतिशत विवाहस्थल सञ्चालकको स्वामित्वमा छैन । “हामीले कमाउन नै सकेका छैनौँ भने कसरी भाडा तिर्न सक्छौँ र ?”
सरकारले विवाह गर्न निश्चित सीमा र नियम तोकेपछि जनस्वास्थ्य कार्यकर्ताहरू भने महामारी उत्कर्षमा पुगेको बेला विवाहजस्ता उत्सव हुन दिने पक्षमा छैनन् । “कदाचित हुन दिए पनि सीमा र नियमहरूको पालनामा कडाइ गर्नुपर्छ”, उनीहरू भन्छन् ।
“कसैले विवाह नरोक्ने निधो नै गरे त्यहाँ चार देखि पाँच जनाभन्दा बढी मानिस सामेल गर्नै हुन्न”, जनस्वास्थ्य अभियानका राष्ट्रिय उप संयोजक डा. सुलक्षणा नन्दीले भने । “त्यसमा पनि कुनै रोग भएका वा खोप नलगाएका कसैलाई पनि विवाह कार्यक्रममा सहभागी बनाउनु हुन्न”, उनले थपिन् ।
अहिलेको समयमा विवाह जस्ता उत्सव रोकिए राज्य यन्त्रलाई महामारी व्यवस्थापनमा थप राम्ररी परिचालन गर्न सकिने नन्दीको भनाइ छ । “यस्तो बेला विवाह गर्दा राज्य संयन्त्र, प्रहरी र अन्य स्थानीय तहका सामुदायिक नेताहरूको विवाह अनुगमन गर्न थप समय खर्चिने हुनाले उनीहरूमाथि अनावश्यक बोझ थपिन्छ । खासमा मूल विषय प्राथमिकताको हो”, उनले भनिन् ।
सरकारको राष्ट्रिय स्वास्थ्य लक्ष्यमाथि स्वतन्त्र ढङ्गले अनुगमन गर्ने डा. एन्थोनी कोलानुरको विचार पनि नन्दीकै जस्तो छ । “मेरो विचारमा सबै खालका भेलाहरू रोकिनुपर्छ”, उनले भने, “मानिसहरूले जीवन वा मृत्युमध्ये एउटालाई रोज्नुपर्छ ।”
‘उत्सव बन्द गर’
दिल्ली र हरियाणाका अधिकारीहरूले कोभिड–१९ को सङ्क्रमण बढेसँगै विवाह उत्सवहरू रोकिएको बताए । तर, यस्तो बेला विवाहजस्ता उत्सव पूर्णतः बन्द नै गर्नुपर्ने उनीहरूको भनाइ छ ।
“मेरो हातमा अधिकार भएको भए मेरो क्षेत्रमा दस पन्ध्र दिनअघिबाटै कडा खालको लकडाउन लागु गर्ने थिएँ”, हरियाणाका एकजना वरिष्ठ प्रहरी अधिकारीले भने, “सङ्क्रमणमाथि नियन्त्रण गरेर मात्र हामीले यो भाइरसलाई रोक्न सक्छौँ । त्यसकारण लकडाउन हुनुपर्छ ।”
तर, प्रहरी अधिकारीले आफ्नो क्षेत्रमा विवाहजस्ता उत्सव हुन नदिने प्रभावकारी उपाय लागु गरेको बताए । “हामी बिस्तारै पूरै क्षेत्रलाई लघु–रोकथाम क्षेत्रमा परिणत गर्न खोज्दै छौँ । त्यस्तो लघु रोकथाम क्षेत्रमा सरकारी कार्यालयको अनुमतिबिना कुनै पनि विवाह वा उत्सव अथवा चाडपर्व मान्न पाइनेछैन ।”
दिल्लीमा सरकारले भेला हुन पाउने मानिसको सङ्ख्या निधो गरे पनि अथवा अन्य उपाय लागु गरे पनि व्यवहारमा प्रशासनलाई ती सबैको अनुगमन गर्न गा¥हो भएको त्यहाँ कार्यरत अधिकारीले बताए ।
“सिधा कुरा छ”, उनले भने, “हामीसँग सबै ठाउँको लागि पुग्दो जनशक्ति नै छैन । त्यही भएर जनताको सहयोग अपरिहार्य छ । त्यसकारण विवाह जस्ता उत्सव अहिले गर्न रोक्नुपर्छ ।”
स्रोतः स्क्रोल डट आइएन
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *