‘श्रमिक’ समाजवादको पक्षमा अविचलित
- बैशाख २८, २०८३
कोभिड–१९ को दोस्रो लहर उकालो लाग्दैगर्दा देशमा अक्सिजन र अक्सिजन सिलिन्डरको अभाव बढ्दै गएको छ । अघिल्लो लहरभन्दा फरक कोभिडको दोस्रो लहरमा धेरै बिरामीलाई अक्सिजनको टेवा आवश्यक परेको देखियो । धेरै अस्पतालहरूले अक्सिजन र सिलिन्डरको व्यवस्था गर्न सरकारसमक्ष माग गरिरहेका छन् । नेपालमा अक्सिजनको अभाव नहुने बरु अक्सिजनको सिलिन्डरको अभाव हुन सक्ने पूर्वानुमानविपरीत यतिबेला राजधानीमा समेत अक्सिजनको अभाव देखिएको छ ।
देशभरलाई आवश्यक पर्ने अक्सिजनको व्यवस्था हुने अवस्थामा पनि सिलिन्डर नहुँदा बिरामीको उपचारमा समस्या आउन सक्ने अक्सिजन उद्योगीहरूले बताएका थिए । तर, उनीहरूले सिलिन्डरको अभाव हुन सक्ने भनी सजग बनाएको साता दिन बितिसक्दा पनि सरकार सिलिन्डर व्यवस्था गर्न गम्भीर हुन सकेको देखिएन । अभाव सघन बन्दै गएपछि शुक्रबारमात्र गृहमन्त्रालयले देशभरबाट काममा नरहेका अक्सिजनका सिलिन्डर सङ्कलन गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले सो निर्णय गर्नु धेरै दिनअघि नै राष्ट्रिय आविष्कार केन्द्रले यस्तो अभियानको थालनी गरिसकेको छ । केन्द्रले हिमाल चढ्ने पर्वतारोहीहरूले प्रयोग गर्ने हाल प्रयोगमा नरहेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपयोग गर्ने प्रयासको थालनी गरिसकेको छ । केन्द्रको आह्वानअनुसार देशभरबाट केही थान अक्सिजन सिलिन्डर समेत सङ्कलन भइसकेको छ । सरकारले भने देशभित्र विभिन्न ठाउँमा बेकाम रहेका अक्सिजनको सिलिन्डर सङ्कलन गर्ने काइदाबारे सोच्न विलम्ब गरेको छ ।
जे चाहिए पनि विदेशीसमक्ष हात फैलाउने सोच सिलिन्डरमा पनि देखियो । आफ्नै देशभित्र खोज्ने र आफ्नै जनतामा भर पर्नेभन्दा विदेशीसमक्ष हात फैलाउने परतन्त्री चिन्तन महामारीमा पनि दोहोरिएको देखिँदै छ । राज्यले न भोलि आउने चुनौतीबारे दुरदर्शिता देखाउन सकेको छ न आफ्नै खुट्टामा उभिएर केही गर्ने सामथ्र्य देखाएको छ । आफै महामारीसँग लडिरहेको भारतले केही समयको लागि नेपालमा तरल अक्सिजन निर्यात रोक्यो । त्यही कारण पनि देशमा अक्सिजनको आपूर्तिमा असहजता थपिएको छ । भारतले शुक्रबारबाट अक्सिजन निर्यातमा लगाएको रोक हटाएको बताइएको छ ।
त्यस्तै छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई ३५ सय वटा अक्सिजन सिलिन्डर सहायता गर्ने भएको छ । यसले नेपाली जनतालाई केही हलुका बनाएको छ । तर, चीनबाट सिलिन्डर नेपाल ल्याउन पनि सरकारले विलम्ब गर्न सक्नेबारे नेपाली जनता सजग हुन जरुरी छ । चीनले आठ लाख भेरोसेल खोप दिँदा पेइचिङसम्म लिन आउन नेपाल सरकारलाई आग्रह गरेको थियो । तर, हाम्रा सरकारी निकायले त्यो आग्रहलाई उपेक्षा गरेको थियो । अन्ततः चीन आफैले खोप काठमाडौँ झारिदिएको थियो । कमिशन नपाउने भएपछि सरकारी निकायहरूले चीनले अनुदानमा दिएको खोप आफ्नै ढुवानी खर्चमा ल्याउनसमेत आनाकानी गरेका थिए । यतिबेला पनि चीनको सहायता नेपालमा ल्याउन विम्लब गर्ने सम्भावनालाई नकार्न सकिन्न । वाइडबडी विमानले एक खेपमा चार सय वटा मात्र सिलिन्डर नेपालमा ल्याउन सक्ने देखिएको छ । त्यसो गर्दा चीनबाट ३५ सय अक्सिजन सिलिन्डर नेपाल ल्याउन पनि धेरै खर्च र समय लाग्ने देखियो । नेपाल सरकारले त्यसैलाई बहाना बनाएर ती अनुदानका सामान नेपाल ल्याउन विलम्ब गर्न सक्छ । त्यसप्रति नेपाली जनताले निगरानी गर्न आवश्यक छ ।
कतिपय संस्थाहरूले आफ्ना सदस्यहरूको उपचारको लागि भनी अक्सिजनका सिलिन्डर होल्डमा राखेकोमा पनि विरोध भइरहेको छ । अक्सिजनको सिलिन्डर नहुँदा मानिसहरू अस्पतालको शय्यामा पनि पुग्न नपाई मरिरहेको बेला कसैलाई होल्डमा राख्ने अधिकार छैन । त्यस्ता सबै सिलिन्डर बरामद गरी तत्काल आवश्यक बिरामीको उपचारको निम्ति प्रयोगमा ल्याउन जरुरी छ ।
Leave a Reply