भर्खरै :

राजधानीमै सङ्क्रमण अनियन्त्रित प्रम भन्छन्–नियन्त्रणमै छ

काठमाडौँ, २५ वैशाख । कोभिड–१९ को दोस्रो लहर समाल्न सरकारलाई हम्मेहम्मे परिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई ‘नेपालमा कोभिड नियन्त्रणमा रहेको’ भनी दिएको अभिव्यक्तिको चर्को विरोध भएको छ । शनिबार अमेरिकी समाचार संस्था सीएनएनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीले नेपालको वास्तविक अवस्थाभन्दा विपरीत अभिव्यक्ति दिएको भनी सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विरोध र उनीप्रति कटाक्ष भएको छ । दैनिक हजारौंको सङ्ख्यामा कोरोना सङ्क्रमण बढिरहेको र कोरोनाको सङ्क्रमण लगातार एक सातादेखि ४५ प्रतिशतभन्दा बढी भएको अवस्थामा ‘कोरोना नियन्त्रणमा छ’ भनी बोल्नु प्रष्टतः झूट भएको भनी आक्रोश पोखिएको छ । पत्रकार उमेश श्रेष्ठले अवस्था नियन्त्रणमा रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै अवस्था सरकारको नियन्त्रणमा छ वा कोभिड–१९ भाइरसको नियन्त्रणमा छ भनी सोधे ।
“सिचुएन अन्डर कन्ट्रोल भइदिएको भए यस्तो हुन्थ्यो त ? अस्पतालमा बेड छैन । मान्छेको हारगुहार छ । मान्छेहरू आइसीयू र भेन्टिलेटर खोज्दै हैरान भइरहेका छन् । मान्छे धमाधम मर्दैछन् । परीक्षण गराएका ५ जनामध्ये २ जना पोजिटिभ देखापरेको छ । दिनदिनै नयाँ केसहरूको सङ्ख्यामा रेकर्ड बढ्दै छ । पोजिटिभ देखिने रेट ५ प्रतिशतभन्दा कम, स्वास्थ्य संरचनाले धान्ने स्थिति भएको भए पो सिचुएसन अन्डर कन्ट्रोल हुने ! अहिले त कोभिड–१९ को कन्ट्रोलमा छ सिचुएसन ।”
प्रधानमन्त्रीले अघिल्लो लहरलाई झन्डै शून्यमा झारिसकेको अवस्थामा ‘सर्वसाधारणले सावधानीका नियम पालनामा हेलचक्र्याइँ गर्दा अहिले सङ्क्रमण दर बढेको’ भनेका थिए । उनको सो अभिव्यक्तिप्रति कटाक्ष गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसै महिना प्रधानमन्त्री सामेल धेरै जनसहभागिता भएका कार्यक्रमहरूको तस्वीरसमेत पोस्ट गरेका छन् । प्रधानमन्त्री स्वयम्ले महामारी नियन्त्रणको लागि पालना गर्नुपर्ने नियमको पालना नगरेको उनीहरूको आशय थियो । विशेषतः प्रधानमन्त्री ओली पछिल्लो समय ठुलो सङ्ख्यामा मानिसको उपस्थिति भएका पार्टीका कार्यकर्ता भेला र धरहरा उद्घाटनजस्ता कार्यक्रममा सहभागी बनेका थिए ।
अवस्था नियन्त्रणबाहिर
प्रधानमन्त्रीले आफ्ना लाज जोगाउन सङ्क्रमणमा सरकारको नियन्त्रणमा रहेको दाबी गरे पनि देशको राजधानीकै अवस्था दिनानुदिन खराब बन्दै गएको छ । राजधानी काठमाडौँकै अवस्था अहिले भारतका विभिन्न सहरको जस्तै भयावह बन्दै गएको छ । अस्पतालहरूमा अक्सिजनको अभाव भएपछि राजधानीकै चार वटा अस्पतालले संयुक्त वक्तव्य जारी गरी कोरोनाका बिरामीको उपचार गर्न असमर्थता व्यक्त गरेका छन् । राजधानीको मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु र हेल्पिङ ह्यान्स सामुदायिक अस्पतालले कोभिड बिरामीको उपचार गर्न नसक्ने बताएका हुन् ।
अक्सिजनको लागि कोभिड–१९ सङ्क्रमित बिरामीका आफन्त आफै अक्सिजन कारखानामा लाइन लागेर अक्सिजन खरिद गर्दै छन् । अक्सिजनको चर्को अभाव भएसँगै व्यापारीहरूले कालोबजारी गर्न थालेको र कतिले व्यक्तिगतरूपमा जोहो गर्नेतिर पनि लागेको रातोपाटी अनलाइनले लेखेको छ ।
सामाजिक सञ्जालहरूमा कोभिडका बिरामीको लागि अस्पतालको शøया मिलाउन सहायताको लागि लेखिएका पोस्टहरू पछिल्लो दिन बढ्न थालेको छ । कोभिड सङ्क्रमित बिरामीको लागि भेन्टिलेटर, आइसीयू वा साधारण शय्याको व्यवस्थाको लागि सरकार र विभिन्न सामाजिक संस्थाले सार्वजनिक गरेका सम्पर्क फोन नम्बरमा फोन गर्दा समस्याको समाधान नभएको भन्दै पीडितका आफन्तहरूले सार्वजनिकरूपमा अपिल गरेका पोस्ट बढ्न थालेको छ । राजधानीकै अवस्था दिनानुदिन अवस्था खराब बन्दै गएको देखिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *