भर्खरै :

जनशक्ति र स्वास्थ्य उपकरण अभावमा स्थानीय तह

कोरोनाको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका छन् ।
भजनी नगरपालिकाले १५ शय्याको आइसोलेसन वार्ड तयार गरेको छ । आइसोलेसनमा अनमी र अहेवले चलाउनुपर्ने बाध्यता छ । आइसोलेसन वार्डमा एकजना कोरोना सङ्क्रमितको मृत्यु हुँदा कार्यरत स्वास्थ्यकर्मी नै भागाभाग भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृतिका सिंह विकले बताउनुभयो । नगरपालिकाले मेडिकल अधिकृतका लागि आवेदन खुला गरे पनि आवेदनमा कसैको दर्खास्त परेन ।
“संरचना छ, जनशक्ति र स्वास्थ्य उपकरण नहुँदा हामीले सोचेको जस्तो काम गर्न सकेका छैनौँ”, विकले भन्नुभयो । अक्सिजन छैन, खरीदका लागि धेरै ठाउँ सम्पर्क गर्दा पनि कतै पाइँदैन, बिरामीलाई अक्सिजनको आवश्यकता भए पनि त्यो पूर्ति गर्न सकिएको छैन । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एक मेडिकल अधिकृतले कोभिडका बिरामी र स्वास्थ्य चौकीमा आउने दुवै क्षेत्रको बिरामीलाई हेर्नुपर्ने बाध्यता भजनीमा रहेको स्वास्थ्य शाखाप्रमुख विक बताउनुहुन्छ ।
उहाँले आइसोलेसन वार्डमात्र बनाएर नहुने जनाउँदै चाहिने उपकरण र जनशक्तिका लागि सङ्घीय र प्रदेश सरकारले स्थानीय तहलाई सहयोग गर्नुपर्ने बताउनुभयो । टीकापुर नगरपालिकामा पनि समस्या त्यस्तै छ । नगरपालिकाले ३८ शय्याको आइसोलेसन वार्ड तयार गरेको छ । नगरपालिकामा पनि सङ्क्रमितको उपचारका लागि आवश्यक जनशक्ति छैन । टीकापुर अस्पतालमा कार्यरत चिकित्सकले कोरोना सङ्क्रमितको उपचार गर्दै आउनुभएको छ ।
अधिकांश सङ्क्रमितलाई अक्सिजनको सहायतामा राख्नुपर्ने भए पनि अक्सिजनको चरम अभाव देखिएको छ । “सरकारले आइसोलेसन वार्ड तयार गर्न निर्देशन त दियो तर चाहिने उपकरण र जनशक्तिका लागि कुनै समन्वय हुन सकेन”, नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धधन शाखाका प्रमुख बलबहादुर रावलले भन्नुभयो । आइसोलेसनमा राखेरमात्र सङ्क्रमित निको हुन सक्दैन, आवश्यक उपचारका लागि स्थानीय तहसँग कुनै स्रोतसाधन छैन । उहाँले मेडिकल अधिकृतको आवेदन खुला गर्दासमेत कोही नआएको जनाउँदै टीकापुर अस्पतालमा कार्यरत चिकित्सकको भरमा आइसोलेसन सञ्चालन गर्नुपरेको बताउनुभयो ।
जानकी गाउँपालिकामा पनि समस्या त्यस्तै देखिएको छ । गाउँपालिकासँग न त अक्सिजन छ, न त अक्सिजन सिलिन्डर नै छ । गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख जितबहादुर चौधरीले अक्सिजन खरीदका लागि धेरै प्रयास भए पनि सफल हुन नसकेको बताउनुभयो । “अक्सिजनका लागि धेरै ठाउँ प्रयास ग¥यौँ, कतैबाट पनि आपूर्ति हुन सकेन, सायद एक÷दुई दिनमा आपूर्ति हुन्छ होला”, स्वास्थ्य शाखा प्रमुख चौधरीले भन्नुभयो । अन्य उपकरण र जनशक्ति पनि छैन, जोखिममा रहेका बिरामीलाई टीकापुर अस्पताल लगिएको छ । चिकित्सकको प्रत्यक्ष निगरानी गर्नुपर्नेलाई आइसोलेसनमा र बाँकी होम आइसोलेसनमै बस्नुभएको छ ।
लम्किचुहा नगरपालिकामा जनशक्ति भए पनि उपकरणको अभावले कोरोना सङ्क्रमितको उपचारमा समस्या हुने गरेको नगरपालिकाकी स्वास्थ्य शाखाप्रमुख जयन्ती बीसीले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य चौकीमा इमर्जेन्सीबाहेकका सेवा बन्द गरी स्वास्थ्यकर्मीलाई आइसोलेसन वार्डमा खटाएको जनाउँदै लम्की अस्पतालका चिकित्सकको निगरानीमा सङ्क्रमितको उपचार भइरहेको बताउनुभयो ।
“पचास शय्याको आइसोलेसन तयार गरेका छौँ, चरम अभाव देखिएको अहिले अक्सिजनको हो, किन्नलाई पाइँदैन, अक्सिजन नभए बिरामीलाई बचाउन गाह्रो छ । अन्य औषधिको पनि अभाव देखिएला जस्तो छ, मुख्यगरी हाम्रो अभाव भनेको अक्सिजन र स्वास्थ्य उपकरण नै हो ।”, स्वास्थ्य शाखाप्रमुख बीसीले भन्नुभयो ।
टीकापुर अस्पतालमा पनि अक्सिजनको अभाव हुँदा बिरामीलाई बचाउन मुस्किल हुन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राईले बताउनुभयो । उहाँले अस्पतालसँग ९४ सिलिन्डर भए पनि सिलिन्डर भर्नका लागि नेपालगञ्ज पठाउनुपर्ने र सहजरूपमा आपूर्तिमा समस्या भएको जानकारी दिनुभयो । “दैनिक बिरामीको सङ्ख्या बढ्दै गएको छ, ओपीडीमा पनि शय्या थपेर कोरोना सङ्क्रमितको उपचार गर्दै आएका छौँ । स्थिति दैनिक बिग्रँदै गएको छ, अहिलेको स्रोतसाधनले धान्न सक्ने अवस्था छैन ।,” मेडिकल सुपरिटेन्डेन्ट राईले भन्नुभयो ।
उहाँले अस्पतालमा १५ शय्याको आइसोलेसन वार्ड भए पनि सङ्क्रमितको चाप बढ्न थालेपछि व्यवस्थापनमा झनै समस्या भएको बताउँदै थप जनशक्तिका लागि आवेदन खुला गरेको बताउनुभयो । टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले व्यापारीहरूसँग भएका खाली सिलिन्डर उपलब्ध गराउन निर्देशन दिइसकेको बताउनुभयो ।
“अक्सिजन नपाएर बिरामीले ज्यान गुमाउन परेको छ । यस्तो विपत्तिका बेला सरकारले मात्रै सबै गर्न सक्दैन, जोसँग जे छ त्यसैको सहयोग गरौँ । अनाहकरूपमा कसैले पनि अक्सिजन सिलिन्डर होल्ड नगरौँ, यदि त्यस्तो भेटिएमा हामी तुरुन्त कारबाही गर्नेछौँ,” अध्यक्ष भण्डारीले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *