भर्खरै :

अफगानिस्तानमा अब के होला ?

अमेरिकाको कथित आतङ्कवादविरोधी युद्धका पीडित अफगानी जनताको पीडा अमेरिकी सेनाले बीस वर्षपछि अफगानभूमि छोड्दा पनि कम नहुने अफगानिस्तानका एक जना राजनीतिक विश्लेषकले भनेका छन् । “संरा अमेरिकाको कथित आतङ्कवादविरुद्धको युद्धबाट पीडित अफगानी जनताले बीस वर्षदेखि आफ्नो भूमिमा अमेरिकी सैनिक उपस्थितिको कारण दुःख पाएकै थिए । अमेरिकी सेना फिर्ता गए पनि अफगानी जनताको दुःखका दिनहरू सकिनेछैन । किनभने, अझै पनि अफगानिस्तानमा विद्रोहीहरू उत्तिकै सक्रिय छन्”, शनिबार विश्लेषक नजारी परियानीले भने ।
सन् २०११ मा संरा अमेरिकाको न्यु योर्क र वाशिङ्टन सहरमा भएको ९÷११ को हमलाका प्रमुख योजनाकार अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनलाई अफगानिस्तानमा तालिवान शासकहरूले बस्न दिएको भन्दै अमेरिका र उसका साझेदार देशहरूले हमला गरेका थिए । अमेरिकी नेतृत्वको गठबन्धनले तालिवान शासनको अन्त्य ग¥यो । तर, न त तालिवान न अल कायदालाई नै समाप्त गर्न सक्यो ।
परियानीले विद्रोहीहरू अझै सक्रिय रहेको र लडाइँ चालु नै रहेको बेलामा अमेरिकी सेनाले अफगानिस्तान छोडेर जानु गैरजिम्मेवारी भएको भन्दै लडाइँको पहिलो चरण अमेरिकी सेनाको फिर्तासँगै हुने र अर्को चरणको लडाइँ अझ भयानक हुने बताए । उनले अफगानिस्तानमा निकट भविष्यमै शान्तिको अवस्था नरहने बताए ।
अफगानिस्तानको लोकप्रिय अखबार मन्देगरका प्रधानसम्पादक तथा चर्चित राजनीतिक विश्लेषक परियानीले बिन लादेनलाई सजाय गर्ने र अल कायदाको सञ्जाल ध्वस्त बनाउने वाशिङ्टनको लक्ष्य पूरा भएको भन्ने जो बाइडेनको भनाइप्रति विमति जनाए । उनले त्यत्ति लक्ष्य हासिल गर्न त्यत्ति ठुलो मूल्यको युद्ध र अफगानिस्तानजस्तो गरिब देशमा सैनिक हमला आवश्यक नहुने बताए ।
“ओसामाको हत्या र आतङ्कवादी समूहलाई सिध्याउनु त सानो लक्ष्य हो । त्यत्ति गर्न यति महँगो लडाइँ र संरा अमेरिकाको इतिहासकै सबभन्दा लामो लडाइँको आवश्यकता पर्ने थिएन”, वाशिङ्टनले घोषणा गरेभन्दा संरा अमेरिकी लक्ष्य बृहत् हुनुपर्ने उनले बताए ।
“लडाइँ जारी छ । अल कायदा र उस्तै धारणा राख्ने समूह अफगानिस्तानमा अझै सक्रिय छन् । हरेक दिन निर्मम युद्धको कारण अफगानी जनताको जीवन जाने क्रम चालु छ”, उनले भने ।
गत शनिबार अफगानिस्तानको राजधानी केबुल सहरको पुलिस जिल्ला १३ मा भएको एउटा कार वम हमलामा एक जना स्कूले छात्राको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परी ५० जनाको निधन हुनुको साथै एक सत्न्दा बढी घाइते भएका थिए । मर्ने र घाइते हुने सबै सर्वसाधारण हुन् । सो हमलाप्रति सङ्केत गर्दै परियानीले अफगानिस्तानका विभिन्न स्थानबाट सैनिक चौकीहरू हटाएपछि तालिबानले यस्ता हमला बढाएको र नागरिकहरूको हत्या गर्ने क्रम चालु रहेको बताए ।
अफगानी प्रहरी र सेनाको क्षमताबारे उनले भने,“सेनाले तालिबान हमलाबाट सरकारको रक्षालाई चालु राख्नेछ । तर, सर्वसाधारण भने शिकार बन्नेछन् । संरा अमेरिकी सेनाको फिर्तीपछि अवस्था यस्तै हुने देखिन्छ ।”
अन्तर–अफगानी वार्ताबारे राजनीतिक पर्यवेक्षकले भने,“टर्कीमा अब हुने अफगानिस्तानको शान्ति वार्ता अघिल्लो दोहा वार्तामा आइपरेको गतिरोधमा केही प्रगति हुने सम्भावना न्युन मात्र छ ।”
“आगामी शान्ति वार्तामा चिताएको परिणाम आउने सम्भावना कम छ । अफगानीहरू आगामी छ महिना शान्ति सम्झौतामा पुग्न सक्नेछैनन्”, उनले भने ।
संरा अमेरिकाले गत मे १ बाट अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लाने औपचारिक कार्य थालनी गरेको छ । सेना फिर्ता प्रक्रिया आगामी सेप्टेम्बर ११ सम्ममा समापन गरिने संरा अमेरिकी सरकारले जनाएको छ । बीस वर्षअघि सेप्टेम्बर ११ कै दिन न्यु योर्कको विश्व व्यापार संगठनको भवन र वाशिङ्टनको पेन्टागनमा हमला भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *