भर्खरै :

चीन, भारत र महामारीको समय

चीन र भारतको सम्बन्ध ‘निकै जटिल चरण’मा अघि बढिरहेको बुधबार भारतका विदेश मन्त्री सुब्रमान्यम जयशङ्करले भने । चीनले सीमा क्षेत्रमा अथवा सीमा नजिक ठुलो सङ्ख्यामा सेना परिचालन गरेको उनले आरोप लगाए । तर, उनले आफ्नो आरोपबारे थप व्याख्या गर्न भने आवश्यक ठानेनन् । यद्यपि, उनले चीनका राज्य परिषद् सदस्य एवम् विदेश मन्त्री वाङ यीसँगको कुराकानीबारे प्रकाश पार्दै भने, “मैले उहाँलाई हाम्रा (भारतीय) केही कम्पनीहरूका सामान चीनले रोक्न आदेश दिएर उत्पन्न भएको कठिनाइबारे विचार गर्नु नै आपसमा सहायता गर्ने अहिलेको सबभन्दा उत्तम बाटो हो । हामीबीचको संवाद पछि त्यस्तो रोक तत्कालै हटाइयो ।”
जयशङ्करको यो वक्तव्यले वास्तवमा चीन र भारतबीचको वर्तमान सम्बन्धबारे भारतका धेरै उच्चपदस्थ अधिकारीहरूको धारणा प्रतिनिधित्व गर्छ । यसले चीन र भारतबीच हालै भएको अल्पकालीन सीमा विवादभन्दा अघिको अवस्थामा दुई देशबीचको सम्बन्ध पुग्नेमा भारतीय अधिकारीहरू उत्साहित नभएको देखाएको छ । चीन र भारतबीचको सम्बन्ध वास्तवमै अहिले कठिन चरणमा छ । राजनीतिक सम्बन्ध र आपसी विश्वासमा गम्भीर धक्का लागेको छ । आर्थिक र सांस्कृतिक सम्बन्ध निकै प्रभावित बनेको छ । दुई पक्षबीच सम्बन्ध सुधारका प्रयत्न जारी रहे पनि चीन–भारतको पश्चिम क्षेत्रको सीमा विवादसहित बाँकी मुद्दा पूर्णतः समाधान भइसकेको छैन ।
चीन र भारत दुवै पक्ष सीमा क्षेत्रबाट पछि हट्ने निधो भएपछि अहिले सो क्षेत्र शान्त र स्थिर छ । दुवै पक्षबीच कूटनीतिक र सैनिक माध्यमबाट निकट सम्बन्ध कायम छ । दुवै पक्षबीच अवस्थालाई नबिगार्ने सहमति छ ।
चीनले भारतलाई अक्सिजन उत्पादक उपलब्ध गराइरहेको छ । तर, त्यही समयमा भारतका प्रधानसेनापति जनरल मनोजमुकुन्द नरवाणे गत अप्रिल २७ मा पूर्वी लद्दाखमा गएर भारतीय सैनिकको तयारीबारे अनुगमन गरे । भारत आज महामारीसँग जुझिरहेको बेलामा केही सामाजिक समस्या उछाल्न सक्ने केही चिनियाँ पर्यवेक्षकहरूको बुझाइ छ । उनीहरूले आन्तरिक सङ्कटबाट जनताको ध्यान अन्यत्र धपाउन भारत सरकार खुलमुखला सीमा विवादमा उत्रने सक्ने उनीहरूको विश्लेषण छ ।
यद्यपि, भारतमा अहिले फैलिएको महामारी निकै भयानक खालको भएकोले मोदी सरकारले भाइरस थप फैलिनबाट रोक्नमै बढी ध्यान दिन जरूरी छ । भारतीय सेनाको केही स्रोत महामारी नियन्त्रणको सहयोग गर्न परिचालन गर्नुपर्ने भएकोले सीमा क्षेत्रमा द्वन्द्वको लागि ऊसँग सैनिक शक्ति र स्रोत पनि हुनेछैन ।
यो साता भारतीय सञ्चारमाध्यमले दिएको समाचारअनुसार भारतीय रक्षामन्त्री राजनाथ सिंहले महामारी नियन्त्रणको लागि दिल्लीमा सेना परिचालन गर्ने तयारीमा छन् । यस्तो अवस्थामा चीनको विचारमा भारतका नीति निर्माताहरूले हतारमा सीमा क्षेत्रमा केही कदम चाल्नेछैनन् । गत साल भएजस्तो भारत र चीनबीच सीमा क्षेत्रमा द्वन्द्व हुने सम्भावना कम छ ।
भारतमा दोस्रो लहरको महामारी फैलिएपछि चीनले भारतलाई धेरै अत्यावश्यक महामारी सामना गर्ने सामग्री पठाएको छ । जयशङ्करले पनि चीनको सहायताको कदर गरेका छन् । उदाहरणको लागि अप्रिल ३० मा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको फोन वार्तामा जयशङ्करले चीनको सद्भाव र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका थिए । महामारी रोकथामको लागि आवश्यक सामान खरिदको लागि चीनको सहायताप्रति उनले आभार व्यक्त गरे । उनले महामारी प्रतिरोधको लागि चीनसँग सहकार्य बलियो बनाउन भारत अझ उत्सुक रहेको बताए । चीनको सहायताप्रति विगतमा भारतले दिने गरेको प्रतिक्रियाभन्दा यो ज्यादै सकारात्मक प्रतिक्रिया हो । यसलाई महत्वपूर्ण फड्को मान्नुपर्छ ।
केही भारतीयहरूले चीनको सद्भावलाई गलत ढङ्गले बुझ्नु ठीक होइन । मानव जातिको साझा भविष्यको लागि विश्व समुदायको युगमा चीनले ज्यादै खाँचो परेको समयमा भारतलाई आवश्यक सहायता प्रदान गरेको छ । चीनले यसबापत तथाकथित भूराजनीतिक छुट मागेको छैन । त्यसो माग गर्नु त सङ्कीर्णताको हद हुनेछ । बरू, भारतका जनताले चीनको सद्भावनालाई बुझ्न र कदर गर्ने दूरदर्शिता र तर्कसङ्गत व्यवहार देखाउन जरूरी छ । चीनको सहायतालाई असन्तुलित भूराजनीतिक पूर्वाग्रहको हिसाबबाट मूल्याङ्कन गरिनुहुन्न । वास्तवमा भारतमा कोभिड–१९ महामारी फैलिरहनुको सबभन्दा महत्वपूर्ण कारण भनेको राजनीति पनि हो ।
चीन र भारतको सीमाबारे सही र गलत के हो भन्ने कुरा प्रस्ट छ । तथापि, भारतले सधैँ चीनलाई सही ढङ्गले बुझ्न चाहेको छैन अनि चीनमाथि दोषको भारी थोपर्ने गरेको छ । लामो समयको सीमा विवादको कारण भारतमा चीनविरोधी भावना बलियो छ । तर, वस्तुगत आधारमा विश्लेषण गर्दा भारत सरकार चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरको खोजीमा छ । साथै कोभिड–१९ विरूद्धको लडाइँमा चीन र भारतबीचको लडाईले भारतीय जनताबीच तर्कसङ्गत प्रभाव बढ्ने अपेक्षा गरिएको छ ।
यद्यपि, जयशङ्गरले भनेजस्तै चीन र भारतबीचको सम्बन्ध अहिले ‘निकै जटिल चरण’मा छ । दुई देशबीच धेरै ऐतिहासिक र यथार्थपरक विवादहरू बाँकी छन् । कोभिड–१९ विरूद्धको सहकार्यले मात्र चीन र भारतबीचको तनाव हल हुने आशा गर्नु अव्यवहारिक छ । अगाडिको बाटो अझ लामो छ ।
(लेखक सिन्ह्वा विश्वविद्यालयको राष्ट्रिय रणनीति प्रतिष्ठानअन्तर्गत अनुसन्धान विभागका निर्देशक हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *