भर्खरै :

मातातीर्थ औँसी र देवाली पूजाबारे भक्तपुर नगर प्रमुखको सन्देश

आदरणीय नगरवासी दाजुभाइ तथा दिदी बहिनीहरू,
विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीबारे धेरै थोरै हामी सबै जानकार छौँ । कोरोनाका कारण आज हाम्रो सिङ्गो देश आक्रान्त छ । कोरोनाको सहज उपचार अझै उपलब्ध छैन । भक्तपुर नगरपालिकाभित्र पनि केही दिन यता दैनिक सयौँको सङ्ख्यामा सङ्क्रमितहरू थपिँदै छन् । देशभर दैनिक ८ हजारदेखि १० हजार सङ्क्रमितहरू थपिएको र ४०÷५० जनाको मृत्यु भएका समाचारहरू आइरहेका छन् । भक्तपुर नगरवासी र नगरमा बसोबास गरिरहनुभएका तमाम नागरिकहरूको सुरक्षाको निम्ति हामी जनप्रतिनिधिहरू निरन्तर लागिरहेका छौँ । कोरोना सङ्क्रमण हुनबाट जोगिन भक्तपुर नगरपालिकाले दैनिक माइकिङ्ग गर्ने, सूचना प्रकाशित गर्ने, टोल टोलमा क्लोरिन र चुन छर्कने तथा अति आवश्यक काममा घरबाट निस्कन परेमा स्वास्थ्य मापदण्ड कायम गरी मात्रै निस्कन निरन्तर अनुरोध गर्दै आएको यहाँहरू सबै जानकार नै हुनुहुन्छ  ।
अहिले भक्तपुर नगरपालिकाभित्र दिनदिनै कोरोना सङ्क्रमितहरूको सङ्ख्या वृद्धि भइरहेको छ । घरमा एकान्तवास बस्न नमिलेका सङ्क्रमितहरूको लागि नगरपालिकाले ५० शय्याको आइसोलेसन र २५ शøयाको एचडीयू (आइसीयूभन्दा कम र साधारणभन्दा उच्च) सञ्चालनमा ल्याएको छ । हाल भक्तपुर नपाबाट सञ्चालित आइसोलेसन केन्द्रमा जम्मा ४७ जनाले स्वास्थ्य लाभ गरिरहनुभएको छ भने आ–आफ्नै घरमा एकान्तवास बस्नेको हालसम्मको सङ्ख्या ५०० भन्दा बढी रहेको जानकारी गराउन चाहन्छौँ ।
सामान्य उपचार गर्नुपर्ने र अक्सिजन दिनुपर्ने सङ्क्रमितहरूको लागि भनपाले नै आवश्यक चिकित्सक र नर्सहरू राखी व्यवस्थापन गर्दै आएको छ । ख्वप अस्पताल कोभिड युनिट गठन गरी कामलाई अगाडि बढाइएको छ । अत्यन्त जटिल प्रकारका बिरामीहरूका लागि भक्तपुर अस्पताल र अन्य अस्पतालमा पठाई स्वास्थ्य उपचारको व्यवस्था मिलाउँदै आएका छौँ । यस कार्यमा जिल्ला प्रशासन कार्यालय, भक्तपुर अस्पताल, भक्तपुर उद्योग वाणिज्य सङ्घ, साना तथा घरेलु उद्योग, सङ्घ, सहकारी, रेडक्रस, स्काउटलगायत सम्बन्धित सबै सङ्घ संस्थासित समन्वय गरी काम गरिरहेका छौँ ।
आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू,
आमाको मुख हेर्ने औँसी आउँदै छ । देवालीको दिन नजिकिँदै छ । भक्तपुर नगरपालिकाले कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी यो वर्ष घर बाहिर आउने र जाने गर्नुपर्ने आमाको मुख हेर्ने र देवालीजस्ता चाडहरू हाललाई नगर्न सूचना र माइकिङ्गमार्फत आग्रह गरिरहेको छ । यो रोगलाई बेवास्ता गर्नु आफ्नै निम्ति घातक हुनेछ । हालसम्म राम्रो औषधि पत्ता नलागेको र कोरोनाविरुद्धको खोप पनि पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित हुनु नै एकमात्रै कोरोनाबाट बच्ने उपाय हो ।
कोरोनाको दोस्रो लहर अत्यन्तै घातकसिद्ध भएको छ । अस्पतालहरूमा आवश्यक मात्रामा अक्सिजन उपलब्ध छैन । भेन्टिलेटर र आइसीयुको अभावमा बिरामीहरू बीचबाटोमै मर्न थालेका थुप्रै घटनाहरू सार्वजनिक भएको छ । यसर्थ रोग लागेपछि चिन्तित भएर उपचारको लागि दौदिनुभन्दा रोग लाग्नबाट बच्न आ–आफैले सुरक्षाका मापदण्ड पालना गरी हिँड्न आग्रह गर्दछौँ ।
आमाको मुख हेर्ने औँसी र देवालीलगायत हाम्रो टोलहरूमा हुने कुनै पनि किसिमको जात्रा, पर्व मेला नगरी स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुहुन तमाम नगरवासी तथा नगरभित्र बसिरहनुभएका दाजुभाइ दिदीबहिनीहरूमा विनम्रतापूर्वक आग्रह गर्दछौँ । स्वास्थ्य राम्रो भएमात्र जात्रा पर्व मनाउन पाउँछौँ । रोगको सङ्क्रमण कम भएपछि वा अनुकूल समयमा देवाली पूजा गर्ने गरी अहिले कोही कसैले पनि नगर्न अनुरोध गर्दछौँ ।
हाम्रो आग्रहलाई बेवास्ता गरी जथाभावी भोजभतेर गरी मानिसहरू जम्मा भई रोग सङ्क्रमण फैलाउन कसैले सहयोग गरेको पाइएमा प्रशासनको तर्फबाट कानुनबमोजिमको कारबाही हुने पनि यही सन्देशमार्फत जानकारी गराउन चाहन्छौँ ।
अन्त्यमा, रोगबाट निधन भएका सम्पूर्णमा श्रद्धाञ्जलीका साथै परिवारजनमा समवेदना दिन चाहन्छौँ र सङ्क्रमित सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । कोरोनाबाट आफू बचौँ र समाजलाई बचाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *