भर्खरै :

कसैलाई भ्रम नहोस् !

कार्ल माक्र्सको २०३ औँ जन्म दिवस मनाइसकिएको छ । त्यस्तै आगामी वैशाख पूर्णिमाका दिन २५६५ औँ बुद्ध जयन्ती मनाइँदै छ । बौद्ध शिक्षाले ह्दय परिवर्तन गरी शान्तिपूर्ण तरिकाले मानव जातिको कल्याण खोजेको देखिन्छ । तर, मलमपट्टी लगाएर निको नहुने घाउलाई कैँची नै प्रयोग गरी ठीक पार्नुपर्ने हुन्छ । अर्थात्, व्यापक जनताको हितको निम्ति समाजमा आमूल परिवर्तन गर्ने उद्देश्यले सशस्त्र सङ्घर्ष गर्नुपर्ने आवश्यकता इतिहासले देखाएको छ ।
निश्चय नै गौतमबुद्धले दिएको दर्शन आधारभूतरूपमा धार्मिक तथा मानवतावादी थियो । तर, उनको दर्शन तत्कालीन परिवेशमा एक परिवर्तनकारी वा क्रान्तिकारी दर्शनको रूपमा स्थापित भयो । बुद्धका शिक्षा र सन्देश वर्तमान अवस्थामा मानव समाजमा देखापरेका समस्याहरूको समाधानका लागि व्यावहारिकरूपमा उत्तिकै सान्दर्भिक छ । सांसारिक दुःखको कारण र निराकरणका उपायहरू त्यसमा वर्णन गरिएको छ । अन्यायको विरोध गर्न नागरिक भावना जगाउन खोजिएको छ । जसको अभावमा आजभोलि समाजमा थुप्रैले दुःख भोगिरहेका छन् ।
राजकुमार सिद्धार्थले भोक, रोग, गरिबी, सिकिस्तता र मृत्युको अवलोकन गर्दा मानव जीवनका दुःख देखे । माक्र्सले औद्योगिकीकरण र पुँजीवादी प्रणालीले जरा गाड्दै लगेको बेलायतका कलकारखानाहरूमा बालबालिका, महिला र अन्य मजदुरहरूको दयनीय एवम् कष्टपूर्ण जीवनका वास्तविक दुःख देखे । मानव इतिहासको विभिन्न कालखण्डमा एउटा वर्गले अर्को निमुखा वर्गमाथि थिचोमिचो र अन्याय गर्दा आइपरेका यस्ता दुःखको निराकरणको लागि बुद्ध र माक्र्स दुवैले चिन्तित भएर कठोर साधनाका साथ लागिपरेको हामी पढ्न सक्छौँ । दुवैको दर्शन भौतिकवाद र अनिश्वरवादमा आधारित मानिन्छ । बुद्धको कल्पना र माक्र्सको समतामूलक समाजको परिकल्पनामा तादात्म्यता छ । बुद्धको ‘बहुजन हिताय’ नीति र व्यापक शोषित पीडित मजदुर वर्गको हितको निम्ति माक्र्सले उठाएका ‘संसारका मजदुरहरू एक होऔँ’ को नाराले पनि त्यही आशय जनाउँदछ । बुद्धकालीन अवस्थामा दासप्रथा भएकोले समाजमा भएको अन्याय अत्याचार गर्न नहुने कुराको बढी प्रचार भएको पाइन्छ । त्यसैले बुद्ध दर्शनलाई बुझ्न तत्कालीन समाजको व्यवहार, स्थिति, अर्थशास्त्र, राज्यव्यवस्था, पेशा, व्यापार र राजनीति आदि अध्ययन गर्नुपर्ने हुन्छ ।
कहिलेकाहीँ यी दर्शनहरूबीच तुलना नगरी हुन्न । गत २१ वैशाखको ‘श्रमिक’ साप्ताहिकको पृष्ठ ८ मा प्रकाशित विजयद्वारा लिखित ‘अहर््त ३८ लाई सरसरती हेर्दा’ लेखमा ती दुई दर्शनबीच केही सामञ्जस्यता प्रकट गर्न खोजिएको पाइन्छ । एक दृष्टिकोणले त्यसलाई सही नै मान्न सकिन्छ । तर, २५६५ वर्ष अगाडि जन्मिएका बुद्धलाई २०३ वर्ष अगाडि जन्मिएका माक्र्सको कालखण्डसँग तुलना गर्दा उल्टो लेखिएको पाइयो । पाठकहरूले त्यसलाई सामान्यरूपमा बुझे पनि ‘गल्ती सुधार्ने हो, छोप्ने होइन’ भन्ने बुद्धको मैत्री शिक्षालाई हामीले बिर्सनु हुन्न । त्यसबाट कसैलाई भ्रम नहोस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *