भर्खरै :

कमला

मलाई थाहा छ, कमला !
दिनैभरि पीपीई लगाएर
कोभिड वार्डमा दौडादौड गर्न पक्कै सजिलो छैन ।
यो गर्मीयाममा
पसिनाले निथ्रुक्क हुन्जेल
अक्सिजन सिलिन्डर घरी यता, घरी उता दौडाउनु,
अक्सिमिटरले औँला च्याप्दै
घण्टा–घण्टाको अङ्क टिप्नु,
परबाट एम्बुलेन्सको साइरन कानमा नपर्दै
भएको बेडमा तन्ना फेर्नु
बेड नभए भुर्इँमै सही
बिरामीलाई पल्टनसम्म मिल्ने ठाउँ बनाउनु,
तिमीलाई सजिलो पक्कै छैन, कमला !
मलाई थाहा छ, कमला !
तिमीलाई पनि बेस्सरी दुख्छ कम्मर,
भाँचिएलाजस्तो हुन्छ पिँडुला,
फत्रक्क गल्छ हात,
कतिबेला काठको मुढोजस्तो
निस्लोट पल्टने मन हुन्छ आफ्नो प्यारो ओछ्यानमा
कतै टाढाको पहाडी झरनामा
पखाल्न मन लाग्छ जिउभरिको मयल
धुन मन लाग्छ आगोसरिको गर्मी
फुकालेर गहु्ङ्गो पीपीई
हलुका हुने मन हुन्छ,
श्वास समातेर बसेजस्तो मास्क
डस्बीनमा फालेर
तान्ने मन हुन्छ लामो शीतल निःश्वास ।
तर, मिल्काएर यी सबै मनहरू
तिमी भरिरहेकी छ्यौ आशाको आभा
क्षीण बन्दै गएका आँखाहरूमा ।
लुकाएर आफ्ना सबै बह
तिमी भरिरहेकी छ्यौ श्वास
सुक्दै गरेका फोक्साहरूमा ।
आफ्नो तनमा बचेका केही थोपा उर्जा झिकेर
घोच्दै छ्यौ जीवनको सुई ।
कमला ! मलाई थाहा छ
मैनबत्ती बन्न निकै गा¥हो हुन्छ ।
आईसीयू वार्डमा
तिम्रो श्वासले पनि जोगाउन नसक्दा श्वासहरू,
तिम्रो उर्जाले पनि उठाउन नसक्दा प्राणहरू,
स्क्रीनमा सुस्त सुस्त बन्दै जाँदा रेखाहरू,
अक्सिमिटरमा घट्दै घट्दै जाँदा अङ्कहरू,
मरणासन्न अदनालाई
सुताउन नसक्दा बेडमा
क्षीण बन्दै गरेको श्वासमा
भर्न नसक्दा अक्सिजन
तिमी सराप्दी हौली आफैलाई
अनि रिसाउँदी हौली सरकारसँग
धिक्कार्दी हौली शासकलाई !
कमला !
समयले आज
नाप्दै छ तिम्रो धैर्यता
जोख्दै छ तिम्रो विनयशीलता
तौलिँदै छ तिम्रो समर्पणभाव
लिँदै छ जीवनको परीक्षा ।
जब उत्तीर्ण गर्नेछ्यौ तिमीले यो परीक्षा
जब जित्नेछ्यौ तिमीले यो लडाइँ
जब तिमीले खोस्नेछ्यौ ‘काल’ को मुखबाट जीवन
अनि हिँडाउनेछ्यौ आशाको राजमार्गमा तिनलाई
कमला ! तिम्रो कसम,
तिमी अझ बढी प्रेमिल हुनेछ्यौ
तिम्रो सुन्दरता पीपीईभित्र अझ निखारिनेछ ।
मास्कले छेक्न सक्नेछैन तिम्रो उज्यालो आभा
वशीभूत हुनेछ सिङ्गो मन
तिम्रो चमकमा ।
कमला ! तिमी नै आजको हाम्रो आशा हौ,
तिमी नै भोलिको हाम्रो भविष्य हौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *