भर्खरै :

बिस्का, भोज र कोरोना

लिच्छवी र मल्लकालदेखि नै मन्दिरहरूको बन्दोबस्त गर्न जग्गा र पूजा–पाठ गर्ने पण्डित (पुजारी) र द्योपाला (हेरचाह गर्ने) व्यक्तिहरूको व्यवस्था हुन्थ्यो । त्यसको लागि गुठी जग्गाको व्यवस्था हुन्थ्यो । पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरिसकेपछि त्यो व्यवस्था बिस्तारै खुकुलो हुँदै गयो । चलाक र पहुँचमा पुग्नेहरूबाट मन्दिरको जग्गा नै आफ्नो नाममा नामसारी गरी निजी बनाइयो । हेरचाह गर्नेहरू कुसले, पोडे आदि दलितहरूलाई भक्तजनहरूले पूजा र प्रसादबाट प्राप्त हुने आयस्तामा नै कार्य गर्ने बन्दोबस्त मिलाइएको देखिन्छ । कहीँकहीँ त मन्दिर नजिक रहेका सत्तल, पौवा, पाटी र भूमिसमेत आफ्नो नाममा गरेको देखियो भन्ने चर्चा छ ।
भारतका शिवभक्तहरू नै नेपालमा महन्त भए, गुठी जग्गा एक एक गरी चलाक महन्तहरूले दर्ता नामसारी निजी गरे । एकपछि अर्काे सरकार फेरिँदै गयो । तर, नयाँ नयाँ मन्त्रीहरूलाई देवालय, शिवालय, अन्य मन्दिर र सार्वजनिक जग्गाबारे जानकारी थिएन । एकपछि अर्काे मन्त्रालय र विभागका ठुलाबडाहरू निजी गर्ने र गराउने नाममा सहभागी बने । भूमिसुधारको विरोध गरियो । जसरी बिर्ता र निजी गुठीको मोहियानी हक लाग्थ्यो, त्यहीअनुसार गुठी जग्गाले पनि मोहियानी हक लाग्नु स्वाभाविक थियो । जनकपुरजस्तो जानकी मन्दिरको गुठी जग्गा कति महन्तहरूले बेचिखाए, सरकारलाई पत्तो छैन । नापी र माल अड्डाका कर्मचारीहरू नै वास्तविक सरकार बने ।
ती महन्त, सामन्त, जमिनदार र सार्वजनिक सम्पत्ति नामसारी गर्नेहरू मोहीहरूलाई उठाई गुठी कायम गर्न लागे । ‘जमिन जोत्नेको’ सिद्धान्तअनुसार जोताहरूले खेती जोती सरकारलाई कुत वा कर तिर्ने र मठ–मन्दिरको सबै बन्दोबस्त सरकार र भक्तजनहरूले आ–आफ्नो धार्मिक विश्वासअनुसार चलाउने हो ।
ती नै महन्त र जमिनदारहरूले केही थाहा नपाउने युवाहरूलाई ‘गुठी जग्गा समाप्त भयो भने संस्कृति मासिन्छ’ भनी बिस्का र अन्य जात्रा पनि चालु राख्नुपर्छ भनी ‘स्वयम्स्फुर्त आन्दोलन’ भनी भ्रम फैलाए र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जात्रा पहिलेदेखि चल्ने घोषणा गरे । उपत्यका र अन्य केही जिल्लाका ठुल्ठुला जात्रा–पर्वहरू स्थानीय निकाय वा पालिकाहरूको सर–सल्लाहमा हुन्थ्यो । तर, महन्तहरूको प्रभावका कार्यालय प्रमुखहरूले सरल ढङ्गले घोषणा गर्दा हजारौँ मानिस जम्मा भई जात्रा चलाए । जनताले कसरी कोरोना सङ्क्रमित व्यक्ति थाहा पाउने ? जात्राको १५–२० दिनपछि ठाउँठाउँ र घर–घरमा कोरोना सङ्क्रमित व्यक्तिहरू देखिए ।
सांस्कृतिक पर्व मनाउने र भोजभतेर राम्रो मनाउने जात–जातिहरूमा नेवार समुदाय पनि पर्दछ । त्यो नेवारहरूको विशेषता हो । त्यही तिनीहरूको कमजोरी हो । यसकारण, पृथ्वीनारायण शाहले भोजकै बेला जात्राकै बेला हमला गरी काठमाडौँ उपत्यका कब्जा गरे ।
नेवारहरूका नयाँ पुस्ता पढेलेखेका, एक एक विषयका विशेषज्ञ, एम.ए. र पी.एच.डी वालाहरू छन् । तर, भोजप्रति तिनीहरूको आकर्षण घटेको छैन । हिजो बहुमत किसानहरू (ज्यापू) अर्धदास थिए, शारीरिक कार्यको बेफुर्सदी र आर्थिकरूपले कमजोर हुँदा भोज, मासु–माछा र परिकारप्रति आकर्षण स्वाभाविक थियो । तर, आज तुलनात्मकरूपले आर्थिक अवस्था सुध्रिंदा पनि पुरानो प्रभावमा परिवर्तन ल्याउन सकिएन ।
एउटै परिवारमा धेरै स्नातक र स्नातकोत्तर युवाहरू रहँदा पनि हिजोका किसान (ज्यापू) हरूकै स्तरमा बाटो र गल्ली नै छेकबार गरी भोज भतेर आयोजना गर्दा आज परिवारका परिवार अस्पताल, क्वारेन्टिन र घरघरमा एक्लाएक्लै बस्न बाध्य छन् । के पढेलेखेका व्यक्तिहरूले कोरोना भाइरसले यत्रो महामारी मच्चाउँदा पनि आफ्ना नाता गोताहरूलाई भोज खुवाउँदै अस्पताल र मृत्युको मुखमा पु¥याउनु राम्रो कुरा हो ? कतिले यसलाई दाजुभाइको सम्पत्ति खान षड्यन्त्र गरेको भनी भित्रभित्र आरोप लगाउन बेर छैन । के यो ‘पैसा भएको तर बुद्धि नभएको’ उखान चरितार्थ हुँदैन ?
त्यसरी पैसाको धाक देखाएर ठुलो मन छ भने केही हजार, लाख रुपैयाँ अस्पतालमा अक्सिजन र अन्य महँगा उपचार सामग्रीहरूको लागि चन्दा दिइएको भए के ठुलो सेवा र इज्जत बढ्ने थिएन ?
यसकारण, परिवार ‘ज्येष्ठ नागरिक र गन्यमान्य व्यक्तिहरूले पढेलेखेका तर समयअनुसार काम गर्न नसिकेका नयाँ पुस्तालाई यस्तो महामारीमा सबै नातागोतालाई भोज खुवाई हाहाकार नमच्चाउन सल्लाह दिनु भए अत्यन्त राम्रो हुनेछ । त्यस्तै गल्ली र बाटोमा बाधा पुग्ने गरी पाल टाँगी आवतजावत बन्द गर्दा प्रमुख जिल्ला अधिकारी र नगरपालिकाले सम्बन्धित जनतालाई समयमै सर–सल्लाह दिएको भए यस्तो दुर्गति हुने थियो ?
प्रमुख जिल्ला अधिकारी बाहिरी जिल्लाको भएको हुँदा स्थानीय ठाउँबारे थाहा भएन वा गलत सल्लाहमा परेर उपयुक्त निर्णय कार्यालयले दिन सकेन भनौँ । तर, नगरपालिकाहरूमा इन्स्पेक्टर र जाँचकीहरू बाटो–घाटो बन्द गर्दा के हेरेर बसेका थिए, वडाध्यक्ष र वडा सदस्यहरू के हेरिबसेका थिए ? के जनता र आफ्ना नातागोतालाई निर्वाचनमा भोट मागेजस्तै सम्झाउने बुझाउने काम गर्नुपर्ने थिएन ?
जनतालाई थाहा छ– केही वडाध्यक्ष र वडा सदस्यहरू जनसम्पर्कमा गएकै कारण कोरोना सङ्क्रमित भएर घरघरमा बस्नुभएको छ, केही अस्पतालबाट घर फर्कनु पनि भयो । केही कर्मचारी पनि अहिले सङ्क्रमित छन्, स्कूल, कलेज र बैङ्कका कर्मचारीजस्तै ।
तर, अन्य जवान, इँटा भट्टा, घर–जग्गा र ठुल्ठुला रिसोर्टका मालिक एवम् ठेकेदार वा निर्माण व्यवसायीहरूले त जनतालाई सम्झाइबुझाइ गर्नुपर्ने हो । सम्झाइ–बुझाइ गर्दा कसैले चित्त दुखाउने थिएन र अनावश्यक खर्च हुने थिएन । बरु, यो डरलाग्दो महामारीको शिकार भएर डर र त्रासमा बाँच्नुपर्ने थिएन । आफन्तको वियोगमा शोक मनाउनुपर्ने थिएन ।
सबैलाई भोजमा बोलाएर नातागोतालाई कालको मुखमा पु¥याउने काम नगरौँ । गल्ती गर्ने साथीभाइहरूले आफूले गरेको गल्ती अरूलाई नगराउन सल्लाह र सहयोग गरौँ । सल्लाह दिँदा र सम्झाउँदा हामी सबै जनताको भलो र सेवा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *