भर्खरै :

भारतीय समाजमा अन्धविश्वासको पराकाष्ठा गौमुत्र र गोबर दलेर कोरोनाको प्रतिरोध !

भारतमा अन्धविश्वासी मानिसको कुनै कमी छैन । भारतका कतिपय जनताको अन्धविश्वास देखेर संसार नै जिल्ल परेको छ । शासकदेखि जनतासम्ममा अन्धविश्वासका अनेक किस्सा र घटनामा भारत धनी छ ।
यतिबेला भारतले कोभिड–१९ को विकराल अवस्था सामना गरिरहेको छ । कोभिड–१९ को कारण संसारमा सबभन्दा बढी मानिस आज भारतमै मरिरहेका छन् । कोभिड बिरामीको उपचारको लागि आवश्यक आधारभूत स्वास्थ्य सामग्रीको अभावको कारण भारतमा धेरै मानिसले अनाहकमा ज्यान गुमाइरहेका छन् । तर, भारतमा यतिबेला अन्धविश्वासले पराकाष्ठा नाघिरहेको छ ।
अहिले भारतमा चलेको अर्को अन्धविश्वास पनि रोचक खालको छ । भारतका केही क्षेत्रका जनता हिजोआज कोभिड–१९ भाइरससँग लड्न आफ्नो जीउमा गाईको गोबर र मुत्र लेपन गरिरहेका छन् । भारतमा विशेषतः हिन्दूहरूले पवित्र मान्ने गाईको गोबर र मुत्र लेपन गरे कोभिड–१९ को सङ्क्रमणबाट जोगिने उनीहरूको अन्धविश्वास छ ।
तर, वैज्ञानिकहरूले यस्ता खालका मूर्खताको पछि नलाग्न आग्रह गरेका छन् । चिकित्सकहरूले गोबर र गौमुत्र जीउमा दल्दैमा शरीरको रोग प्रतिरक्षा क्षमता बढ्ने अथवा कोभिडको उपचार नहुने बताएका छन् ।
“बरु यस्ता वस्तु जीउमा दल्दा शरीरमा अन्य स्वास्थ्य समस्याको जोखिम बढ्नेछ । पशुबाट मानिसमा सर्ने विभिन्न रोग फैलिने जोखिम हुन्छ”, भारतीय मेडिकल एसोसिएसनका सभापति डा. जेए जयलालले रोयटर्सलाई भने ।
भारतको गुजरातका केही मानिसहरू गाई गोठमा गएर गोबर र गौमुत्रको लेपन आफ्नो जीउमा दलेर गाईलाई ढोग्दै वा अङ्गालोमा बेरेर बसेका थिए । लेपन नसुकुञ्जेल उनीहरूले यसरी गाईलाई अङ्गालोमा बेरेर बसेका थिए ।
गोबरको लेपन कक्रक्क सुकेपछि उनीहरूले दूध वा महीले पखालेका थिए ।
यसअघि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले गाईको अक्सिजन लेभल नाप्न गाईहरूको लागि अलग व्यवस्था गर्न निर्देशन दिएका थिए । भारतको सत्तासीन भारतीय जनता पार्टी र हिन्दू अतिवादी सङ्गठन आरएसएसका नेता, कार्यकर्ता र समर्थकहरूमा यस्तो अन्धविश्वास व्याप्त छ । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भाजपाका नेताहरूले यस्तै विज्ञानविरोधी अन्धविश्वासी प्रचार र अभिव्यक्तिहरू दिएका थिए ।
भारतमा कोभिड–१९ बारे यस्ता अन्धविश्वासको प्रभाव नेपालका शासक र सर्वसाधारणमा पनि परेको छ । प्रधानमन्त्री केपी ओलीले बेलाबेला वैज्ञानिकरूपमा पुष्टि नभएका अभिव्यक्ति दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *