भर्खरै :

जनताको जीवन बचाऔँ

बुधबार अक्सिजन अभावको कारण धेरै अस्पतालले गम्भीर बिरामीलाई अन्यत्र लान औपचारिक सूचना नै जारी गरे । काठमाडौँलगायत देशभरका विभिन्न ठुला निजी अस्पतालहरूले अक्सिजन अभाव भएको भन्दै थप बिरामी नलिने सूचना जारी गरेका छन् । सरकारसँग पटक–पटक अक्सिजनको माग गर्दा व्यवस्था हुन नसकेपछि अधिकांश अस्पतालहरूले यस्तो अप्रिय निर्णय गर्न बाध्य भएका छन् । तर, सरकारले अझै यो समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा मेलोमेसो पाउन सकेको देखिएन । सरकार भगवान भरोसे बनिरहेको छ । सरकार आफै निरीह बनेको छ । अनि त्यसको सजाय जनता भोग्न बाध्य छन् ।
विज्ञहरूका अनुसार आगामी केही दिन यही दरमा सङ्क्रमण दर बढे अस्पतालमा स्वास्थ्य जनशक्तिदेखि आधारभूत सामान्य वस्तुको पनि अभाव हुनेछ । बिरामीको हातमा नसा खोल्न जान्ने तालिम प्राप्त जनशक्तिदेखि अन्य स्वास्थ्य सामग्रीको अभाव हुने देखिएको छ । सरकारले ती सबै सामान आपूर्ति गर्ने क्षमता राख्दैन । भारतप्रतिको निर्भरताको फल यतिबेला देशले भोगिरहेको छ । भारत आफै यतिबेला अक्सिजनलगायत आधारभूत स्वास्थ्य सामग्रीबाट पिरोलिएको छ । विगतमा सबै सामानको लागि भारतकै भरपर्दा अहिले नेपाली जनता थप समस्यामा परेका हुन् ।
सङ्क्रमण कम्तीमा एक महिना नघट्ने विज्ञहरूले अनुमान गरेका छन् । यति लामो अवधिसम्म धान्ने स्वास्थ्य सामग्री देशमा छैन । त्यसको निम्ति अब हामीले चीनतिरै हेर्नुपर्ने अवस्था छ । चीनले निकै कष्टसाध्य लडाइँ लडेर कोभिड–१९ माथि विजय हासिल गरिसकेको छ । चीन महामारीपछिको आर्थिक पुनःनिर्माणमा लागिरहेको छ । साथै चीनले महामारीविरूद्धको लडाइँमा अन्य देशलाई पनि मद्दत गरिरहेको छ । चीनले आफ्नो क्षमताले भ्याएसम्मका स्वास्थ्य सामग्री र जनशक्ति मित्र देशहरूमा पठाएर सघाइरहेको छ । आज चीनको छिमेकी देशमध्येको एउटा देश नेपाल कोरोनाको कहरले विरहमा छ । यस्तो अवस्थामा चीनले नेपाललाई सघाउनेमा नेपाली जनता विश्वस्त छन् । इतिहासलाई फर्केर हेर्दा नेपाल जब कुनै विषम र दुःखको अवस्थामा रहन्छ, तब चिनियाँ जनताले छिमेकीको नाताले अतुलनीय मद्दत गर्दै आएका छन् । विसं २०७२ सालको भूकम्पमा पनि चीनले नेपाली जनताको निःस्वार्थ सहायता गरेको थियो । नेपाल सङ्कटमा पर्दा चीनले मद्दत गर्न सुरू गरिसकेको छ । चीनले नेपाललाई कोभिडको प्रतिरोधको लागि आवश्यक खोप र अक्सिजन सिलिन्डर तथा अन्य आधारभूत स्वास्थ्य सामग्री पठाइसकेको छ ।
चीनले नेपाललाई गर्ने सहायता निःस्वार्थ हुने गरेको छ । पश्चिमा देशहरूले जस्तै सहायताको नाममा चीनले आफ्ना कुत्सित मनसाय लुकाएको हुँदैन । केही पश्चिम शक्तिहरू एक हातमा सहायता र अर्को हातमा लुकाएर बगरेको चुप्पी बोकेर आएका हुन्छन् ।
सरकारले बेलैमा खोप नल्याउँदा जनताले आज भोग्नुपरेको विषम अवस्था फेरि नदोहोरियोस् । सरकारले तत्काल चीन र अन्य नेपालका मित्र देशसमक्ष सहायताको हात बढाउनुपर्छ । जनताको यस्तो भयावह अवस्था कुनै पनि इमानदार र जनसेवी राजनीतिक नेताको निम्ति सह्य हुन सक्दैन । चीनसँग थप संवाद गरी आवश्यक स्वास्थ्य सामग्री ल्याउने प्रयास थालिहालौँ । अब ढिला नगरौँ । एक दिन विलम्बको अर्थ सयौँ नेपाली जनताले जीवन गुमाउनु हो । जनताको जीवन बचाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *