भर्खरै :

एउटै दलको दुई अध्यक्षको फरक मत ?

प्रधानमन्त्री केपी ओलीले आफ्नो विश्वास दिलाउन बोलाइएको प्रतिनिधिसभाको बैठकमा ‘हुन्छ’, ‘हुन्न’ र ‘दिन्न’ को व्यवस्था गरिएको थियो । उक्त व्यवस्थाअनुसार सांसदहरूले ‘हुन्छ’, ‘हुन्न’ र ‘दिन्न’ को मत प्रयोग गर्नु अन्यथा होइन । तर, एउटै दलका सांसदहरूले ‘हुन्छ’, हुन्न र ‘दिन्न’ को मत प्रयोग गरेका भए त्यो उचित हुन्छ कि हुँदैन ? अहिले प्रमको विश्वासको प्रस्तावमा एउटै दलका सांसदहरूले दुई थरीको मत देखाए । एउटै दलका सांसदहरूले व्यवस्था भएअनुसार तीन मत नै उपयोग गरेका भए ठीक मान्ने कि नमान्ने ? एउटै दलका सांसदहरूले हुन्छ पनि, हुँदैन पनि र मत दिन्न भनी उपयोग गरे पार्टीको वास्तविक विचार के हो भनी कसरी थाहा पाउने ?
एउटै पार्टीका दुई अध्यक्षहरूको फरक मत किन र केको लागि ! अध्यक्ष महन्थ ठाकुर दलका नेता तथा कार्यकर्ताहरूको मुद्दा फिर्ता र रिहाइमा केन्द्रित रहेर प्रम ओलीलाई मत नदिई तटस्थमा बसे भने अर्का अध्यक्ष उपेन्द्र यादवले प्रम हुन्न पक्षमा मत हाले । एउटै दलको दुई थरी विचार या दुई थरीको मत किन ? एक पक्ष सरकारमा जाने र अर्काे पक्ष सरकारमा नजाने नीति कसरी एउटै दलको हुन्छ ? अहिले सरकारमा जानेबारे पनि जसपाभित्र मतभेद हुनेमा शङ्का छैन । जसपाभित्र पनि पूर्व नेकपामा झैँ पहिलो अध्यक्ष र दोस्रो अध्यक्षको कुरा उठेको छ । ठाकुरले आफूलाई पहिलो अध्यक्ष मानेका छन् । नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएझैँ कतै जसपाको पनि महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वको पार्टी टुक्रिने त होइन ?
सरकारमा जानकै लागि, मन्त्री बन्नकै लागि पार्टी फुटेको इतिहास साक्षी छ । सत्ता समीकरणको जोडघटाउमा लाग्दा या सरकारको समर्थन र विरोध भएको घटना परिघटनाले जसपाको पार्टी एकता पनि विचारको आधारमा नभएको पुष्टि हुन्छ । पार्टी एकता भएको अनुभूति हुन नपाउँदै पार्टीभित्र दुई धार देखिनु के सिद्धान्त र विचार नमिलेरै भएको होइन ? एक समय महन्थ ठाकुरले एक मधेस एक प्रदेश नभए देशै नरहने भनी सदनमै देशविरोधी विचार व्यक्त गरेका थिए । नेपालमा आर्थिक नाकाबन्दी गर्दा महन्थ ठाकुर र राजेन्द्र महतोहरूलाई भारतले उपयोग गरेको थियो या उचालेको थियो । भारतले नेपाली भूमि मिचे पनि, अतिक्रमण गरे पनि, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बाँध तथा तटबन्ध बनाए पनि एक शब्द नबोल्ने दलहरूमा तिनै मधेसी दलका नेता हुन् । आज तिनै दलका नेताहरूमा द्वैधचरित्र देखिएको छ । अब जसपा कसरी अघि बढ्छ, दलका नेताहरूको भूमिका के हुन्छ भन्ने विषयमा सचेत जनताको ध्यान गएको छ । के निर्वाचनसम्म तिनीहरू एउटै दलमा रहेर अघि बढ्लान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *