सरकारको नीति तथा कार्यक्रम : उपेक्षामा स्वास्थ्य क्षेत्र
- जेष्ठ ४, २०८३
“यसरी चिया बेचेर डुल्दा शरीरलाई पनि राम्रो हुन्छ । अहिलेसम्म म स्वस्थ छु । सुगर, प्रेसर न टिभि कुनै रोग भएको चाल पाएको छैन । माछा, मासु, चुरोट र रक्सी केही सेवन गर्दिन । मानिसले लेमन टी मन पराउँछन् । मेरो चिया सबैले मन पराउँछन्”, उक्त कुरा चार वर्षदेखि नारायणगढ बजारको चोक, पसल र गल्लीमा डुल्दै चिया बेच्दै गर्दै आउनुभएका शङ्कर प्रसाद शाहको हो । उहाँ चिया पसल पसलमा ठेक्कामा पनि बेच्ने गर्नुहुन्छ । तर, आजभोलि भने निषेधाज्ञाका कारण उहाँको चिया व्यापार राम्रो हुन सकेको छैन ।
उमेरले एकहत्तर वर्षका शङ्करप्रसाद एक हातमा सानो स्टभसहितको चियाको किल्टी र अर्को हातमा चिया पिउने गिलास रहेको रातो बाल्टीन बोकेर चोक, गल्लीमा डुल्ने उहाँको दैनिकी नै हो । कोरोना भाइरसले महामारीको रूप लिइरहेको छ । सबै मानिस घर, कोठामा नै थुनिएर बसेका छन् । यस्तो बन्दाबन्दीको समयमा पनि उहाँ भने चिया पिउने मानिसको खोजीमा बजार डुल्दै हुनुहुन्थ्यो । मै हुँ भन्नेहरूलाई आज भाइरसको कारणले कोठामा नै बन्द बनाईराखेको छ । जय शङ्कर भने सुनसान सहरमा त्रासको बाबजुद पनि चिया बेच्न हिँड्नुभएको छ । सायद मानिसको आ–आफ्नो बाध्यता हुनसक्ला ! दिनभर काम गरेर बेलुकीको जोहो गर्नुपर्ने मानिसहरू त बजारका गल्लीहरूमा आ–आफ्नो पेशा लिएर रहेको देखिन्छ नै । यस्तो महामारीको बेलामा पनि बाध्यताले धकेलिएर घर, कोठा बाहिर आउनेहरू धेरै छन् । जसलाई देखेर निषेधाज्ञामा खटिएर रहेका सुरक्षाकर्मीहरूले पनि सम्झाउनेसिवाय अरू केही गर्नसक्दैनन् ।
अलिकति हिँड्दै चियाको भाँडा टेकाउँदै फेरि मान्छे भए ठाउँँतिर चिया बिक्ने आशामा लम्कदै उहाँ भाँडामा चिया भएसम्म बजार डुल्नुहुन्छ । बजार सामान्य रहँदा दैनिक सात आठ सयसम्मको चिया उहाँ बेच्नुहुन्थ्यो । निषेधाज्ञाले गर्दा आजभोलि दैनिक तीन सय चार सयको चिया बेच्न पनि गाह्रो छ । मासिक कोठा भाडा ५÷६ हजार तिर्नुपर्दछ । आफूलाई आवश्यक खर्च छोरा बुहारीसँग माग्न नपरोस् भनेर उहाँले यो उमेरमा पनि सकेको काम गर्दै आउनुभएको हो । यस्तो रोगब्याधिको समयमा मसलादार लेमन टीले काम गर्ने उहाँको जिकिर छ । त्यसकारण आफ्नो चिया सबैले मनपराउने उहाँको विश्वास छ ।
उहाँको घर वीरगञ्ज रक्सौल भएतापनि नारायणगढ बस्दै आउनुभएका पचपन्न वर्ष पुग्यो । उहाँ पहिलो पटक नारायगढ आउनुहुँदा सबै झाडी थियो । नारायणी पुल बनेको थिएन । पैँतालीस वर्ष त उहाँले जय गौरीशङ्कर कपडा पसलमा काम गरेर बिताउनुभयो । अहिले आएर उहाँलाई सानोतिनो भए पनि आफ्नै काम गर्नु ठीक लागेको छ । आफ्नो काम गर्दा कसैको चाप्लुसी र चम्चागिरी बन्नु पर्दैन । नारायगढमा आफूले काम गरेका केही साहुहरू साह्रै फटाहा र चोर स्वभाव रहेको उहाँको भोगाइ छ ।
“भाइरसको नाममा सरकारले व्यापार गरेको छ । गएको वर्ष पनि एक महिनाको बिजुली, पानी र कोठा भाडा दिनुपर्दैन भन्थ्यो, घर साहुले छाडेन”, उहाँले आफ्नो दुखेसो सुनाउनुभयो ।
Leave a Reply