भर्खरै :

सङ्क्रमित र तिनका परिवारलाई अबहेलना नगरौँ

कैलालीमा कोरोना सङ्क्रमितले भोग्ने स्वास्थ्य समस्याभन्दा सङ्क्रमितका परिवारले भोग्ने सामाजिक अपहेलना झन् डरलाग्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको बेला छरछिमेकमा सद्भाव कायम राख्न आग्रह गरेको छ तर समुदायमा सङ्क्रमितका परिवारले अपहेलना भोगिरहेको गुनासो गर्न थालेका छन् ।
टीकापुरको ब्लक नं ‘सी’ का एक युवक सङ्क्रमित भए । युवक सङ्क्रमित भएपछि उनको परिवारले सामाजिक अपहेलना भोग्नुपरेको बताए । “बाहिर निस्कियो कि छिमेकीले नै कोरोना सार्न निस्किएको हो भन्न थाले, खाद्यान्न तरकारी पनि किन्न पाइएन, पसलेले पनि सामान दिन मानेनन् । रातिको समयमा टाढाका पसलमा मुख छोपेर अत्यावश्यक सामान खरिद गरेर ल्याएँ”, युवककी श्रीमतीले भन्नुभयो ।
श्रीमान् बिरामी भएको पीडा हुँदाहुँदै छिमेकीले गरेको व्यवहारले थप पीडा दिएको उहाँले बताउनुभयो । “अपराधीलाई जस्तै व्यवहार गरे, करिब २० दिन निकै गाह्रो भयो । मनोबल उच्च बनाउने समयमा दुव्र्यवहार सहनु पर्दा पीडा हुनेरहेछ”, उहाँले भन्नुभयो ।
जानकी गाउँपालिकाका ४३ वर्षीय अर्का युवक भारतमा रोजगारी गुमेपछि स्वदेश फर्किनुभयो । स्वदेश फर्केको तीन दिनपछि उहाँलाई स्वास्थ्य समस्या सुरु भयो । उहाँले पीसीआर परीक्षण गर्दा नतिजा पोजिटिभ आयो । मसँगै परिवारका अन्य सदस्यसमेत बिरामी भए । सबैलाई स्वास्थ्य समस्या सुरु भयो । सङ्क्रमित छौँ भनेपछि अरुलाई जोखिम नहोला भनेर छिमेकीलाई भन्यौँ । युवकले भन्नुभयो,“म त समुदायबाटै एक्लो भएँ, मेरो घरमा छिमेकीले हेर्न पनि छोडे । अहिले हामी सबै निको भइसक्यौँ तर हाम्रो घरतिर न कोही हेर्छन् न बोल्छन् ।”
समाजमा होम आइसोलेसनमा बसेका मानिसलाई असल छिमेकीले आवश्यक खाद्यान्न, अन्य सामग्री र औषधि किनेर ल्याइदिनुपर्ने हो तर सङ्क्रमित वा सङ्क्रमणको शङ्का लागेका परिवारलाई समाजमा दुव्र्यवहार गर्न थालिएको छ । अझ बजार क्षेत्रमा कोठा भाडामा बस्नेलाई बढी कठिनाइ छ । कोठा भाडामा बस्नेहरू सङ्क्रमित भइहाले कोठा छोड्नुपर्ने डरले परीक्षणमा समेत जान सकेका छैनन् । टीकापुर १ ब्लक ‘बी’ मा स्थानीय सहकारीमा कार्यरत एक महिलाको परिवार बस्छ । श्रीमान् भारतमा रोजगारी गर्र्छन् । एक सातादेखि महिला र महिलाका दुई बच्चा बिरामी छन् । “छिमेकीले शङ्का गरेका छन् तर बिसञ्चो हुँदा पनि समस्या छैन भन्नुपरेको छ । धारा र शौचालय एउटै छ । बिरामी भए कोठा खाली गर्नु भन्लान् भन्ने डरले लुकेर औषधि गर्न गयौँ”, महिलाले भनिन् ।
सङ्क्रमण फैलिनबाट बच्नु आफैँमा बुद्धिमानी हो तर सङ्क्रमण भइहालेमा सङ्क्रमित बचाउन सबैको सहयोग आवश्यक हुन्छ । सङ्क्रमित र तिनका परिवारका लागि आवश्यक सहयोग सबै क्षेत्रबाट हुनुपर्ने समाजशास्त्री शिवचरण चौधरी बताउनुहुन्छ । सङ्क्रमितलाई परीक्षण र उपचारका लागि अस्पतालसम्म जाने वातावरण समुदायले बनाइदिनुपर्छ । उनीहरूले आवश्यक सामानमात्र होइन, औषधि, एम्बुलेन्स आदिका लागि तड्पिनुपरेको छ । उहाँ भन्नुहुन्छ, “यस्तो कठिनाइ भोग्नुपर्दा उनीहरूको मनोबल कमजोर हुन्छ । मनोबल बढाउने काममा सबै सहयोगी बन्नुपर्छ । दूरी कायम गरेर सहयोग गर्दा सबैलाई सहज हुन्छ ।”
टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स तथा मनोसामाजिक परामर्शकर्ता कल्पना खड्का कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकोले यसबाट बच्नका लागि दुव्र्यवहार गर्न आवश्यक नभएको बताउनुहुन्छ । अप्ठयरो तथा समस्यामा चाहिने भनेकै छिमेकी हो । छिमेकी बिरामी भएर छटपटाइरहेका बेला उसलाई आवश्यक सहयोग गर्न कञ्जुस्याईँ गर्नु गलत हो । खड्का भन्नुहुन्छ, “चिकित्सक तथा स्वास्थ्यकर्मीले कसरी सेवा गरिरहेका छन् ? उनीहरूलाई पनि त मृत्युको डर होला ? चिकित्सकले यो समयमा गरेको सेवाबाट केही सिकौँ ।” स्टाफ नर्स खड्का समाजमा सद्भाव बचाइराख्न अप्ठेरोमा रहेकालाई सहयोग गरे अस्पतालमा पनि बिरामीको भीड कम हुने बताउनुहुन्छ ।
अस्पतालहरूमा धान्नै नसकिने भीड छ, दूरी कायम गरेर सुरक्षित तवरले एक अर्कालाई सहयोग गरौँ । उहाँले भन्नुभयो, “यो बेला धेरै मानिस आत्तिएर मरिरहेका छन् । मानिसलाई शान्त रहन प्रोत्साहन गरौँ ।”(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *