भर्खरै :

वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थप

वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो । सो सङ्ख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ । एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन् ।
वैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना सङ्क्रमित भएकोमा शुक्रबार एकैदिन सङ्क्रमितको सङ्ख्या आठ हजार ५२० पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पीसीआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । वैशाख १ गतेसम्म पीसीआर परीक्षण गराउनेको सङख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने शुक्रबार सो सङख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ । वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
वैशाख महिनामा कोरोनाबाट निको हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । उक्त सङ्ख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो । पछिल्लो २४ घण्टामा देशभर छ हजार १३५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या देशभर ह्वात्तै बढेको छ । वैशाख १ गते सक्रिय सङ्क्रमित चार हजार ५६ जना रहेकोमा हाल उक्त सङ्ख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर एक हजार ७०५ सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । एक हजार ३३४ सङ्क्रमितको आईसीयूमा तथा ३७१ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । सबैभन्दा बढी बाग्मती प्रदेशमा ५४२ सङ्क्रमित आईसीयूमा तथा २२० सङ्क्रमित भेन्टिलेटरमा छन् । काठमाडौँ उपत्यकामा मात्रै १८५ सङ्क्रमितको आईसीयूमा तथा १०५ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
काठमाडौँ उपत्यकामा सङ्क्रमित ह्वात्तै बढे
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाख १ गते उपत्यकामा सङ्क्रमितको सङ्ख्या २५४ रहेको थियो । सो सङ्ख्या हाल बढेर तीन हजार ३४९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ४५८, ललितपुरमा ५५६ तथा भक्तपुरमा ३३५ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *