भर्खरै :

पुँजीवादी देशमा कोरोना पीडितको अवस्था नाजुक

नेपालमा बिहीबारसम्म कोभिड–१९ बाट कुल सङ्क्रमित ४ लाख ३१ हजार १९१ र मृत्यु सङ्ख्या ४ हजार ४४६ पुग्यो । यसमध्ये काठमाडौँ उपत्यकामा करिब २ लाख सङ्क्रमित र मृत्यु १ हजार ५०० जना पुग्यो । बाक्लो जनसङ्ख्या भएको काठमाडौँ उपत्यकामा कुल सङ्क्रमित र मृत्यु सङ्ख्या नेपालकै आधाआधीमा छ । तर, यहाँको वीर अस्पताल, त्रिवि अस्पताल, पाटन अस्पताल, शुक्रराज सरूवा रोग केन्द्र, भक्तपुर अस्पताललगायतमा बिरामीलाई आवश्यक अक्सिजन आपूर्ति भइरहेको छैन । राजधानीबाहिर बाँके, भैरहवा, रूपन्देहीलगायतका अस्पतालहरूमा पनि अक्सिजनको अभाव छ । नेपालको सङ्क्रमित वृद्धि र मृत्युदर तुलनात्मकरुपमा विश्वकै दोस्रो स्थानमा पुगेको छ । यो दुःखद खबर हो ।
नेपालमा यसरी सङ्क्रमित थपिनुमा भारतसँगको सीमा खुला हुनु प्रमुख रहेको छ । नेपाल सरकारले सीमा क्षेत्रमा उचित क्वारेन्टिनको व्यवस्था नगर्दा र खोप समयमै व्यवस्था गर्न नसक्नाले पनि तीव्ररूपमा कोभिड १९ को सङ्क्रमित बढेको देखिन्छ । तीव्रगतिमा उपचारमा सरकार र राजनैतिक दलका कार्यकर्ताहरू लागेनन् भने कोभिड सङ्क्रमणबाट जनतालाई सुरक्षित गर्न र कोभिड सङ्क्रमितलाई राम्रो उपचारको व्यवस्था गर्न सकिएन भने नेपालमा पनि भारतमा जस्तै लास जलाउनै नसक्ने गरी मृत्यु हुने सम्भावना छ । भारतमा कोभिडबाट सङ्क्रमित भई मृत्यु भएकाको शव जलाउन दाउरा किन्न नसक्दा गङ्गा नदीको तिरमा लास फालिराखेको र ती लासहरूमा गिद्ध र कुकुरहरूले लुछिराखेका दृश्यहरू अहिले सञ्चार माध्यमहरूमा आएका छन् ।
भारतमा अहिले २ करोड ४० लाख कोभिड सङ्क्रमित र २ लाख ५५ हजारभन्दा बढी मृत्यु भएको सरकारी तथ्याङ्क छ । भारत र नेपालमा सरकारी स्तरबाट जनताको स्वास्थ्य समस्याबारे चासो नराखेको देखिन्छ । पुँजीवादी शासकहरू सत्ता जोगाउन, कमिसन खान, जसरी भए पनि चुनाव जित्न र सम्पत्ति जोड्नमै व्यस्त भएको अनुभव दुई देशका जनताले गरिरहेका छन् । यो कुरा अक्सिजन नपाएर १४ को मृत्यु, ‘अक्सिजन सकिएपछि आईसीयू र आकस्मिक कक्षमा उपाचाररत एकपछि अर्काे सङ्क्रमितको सास थामियो’, ‘आँसु लुकाएर उपचार गर्दै छौँ’, ‘चाहेर पनि कतिलाई बचाउन सकेनौँ’, ‘स्थानीय तहका भ्रष्ट जनप्रतिनिधिको कारण मर्दै जनता’, ‘उपत्यकामा सङ्क्रमण घट्न महिना दिन लाग्ने’, ‘सरकार ! श्वास फेर्न गा¥हो भयो, अक्सिजन देऊ !’, ‘जनताको जीवन बचाऔँ’, ‘अक्सिजन जुटाउन सम्पूर्ण शक्ति लगाऊ’, ‘कोरोनाको चक्र तोड, नमरूञ्जेल सत्ता तिम्रै’, ‘बेइमानीले ल्याएको दुरवस्था’, ‘अक्सिजन खोज्न हार गुहार’, ‘अक्सिजन र आईसीयू कुर्दाकुर्दै मृत्यु’, ‘अस्पताल बाहिर भुइँमै उपचार’, ‘अस्पतालले सङ्क्रमित भर्ना लिनै छाडे’, ‘विपद्का बेला निजी अस्पतालको मनपरी शुल्क’, ‘मोदीप्रति गान्धीको कटाक्ष, भ्याक्सिन, अक्सिजन र औषधिजस्तै प्रधानमन्त्री पनि हराए’, जस्ता समाचार शीर्षकहरूले देखाइरहेका छन् ।
भनिन्छ, पुँजीपति वर्गलाई कामदार जनता त्यतिबेला चाहिन्छ, जुनबेलासम्म उनीहरूबाट नाफा लुट्न सकिन्छ । अहिले यहीँ भइरहेको छ । जनता मरिरहेका छन् तर पुँजीवादी सरकारलाई हर्ष न विष्मातको अवस्था छ ।
पुँजी अर्थशास्त्री तथा जनसङ्ख्या सिद्धान्तका प्रतिपादक रोबर्ट माल्थसका अनुसार जनसङ्ख्या बढ्दै जाँदा जनसङ्ख्या वृद्धि एक समस्याको रूपमा परिणत हुन्छ, जब रोगव्याधि फैलिएर धैरै जनता मर्छन्, तब पुनःजनसङ्ख्या कम भएर शान्ति र सुव्यवस्था हुन्छ । यही सिद्धान्तलाई अङ्गालेर पुँजीवादी सरकार बसिरहेको अनुभव गर्नसकिन्छ । अहिले पुँजीवादी देशहरू अमेरिका, भारत र ब्राजिललगायतका देशहरूमा जनता मरे पनि सरकारले बेवास्ता गरिरहनुमा यही आधार हुनुपर्छ भनी सचेत जनता अनुभव गरिरहेका छन् । खर्च ब्यहोर्न सक्नेले मात्र उपचार पाउँछन् भन्ने कुरा हाम्रो देशका निजी अस्पतालहरूले निर्धारण गरेको उपचार खर्चले पनि प्रस्ट हुन्छ । नेपालको एक निजी अस्पताल (ह्याम्स)ले कोभिड–१९ उपचारमा निर्धारण गरेको उपचार खर्च प्रतिव्यक्ति प्रतिदिन जनरल बेड रू. ७,०००, ट्वीन्स् शेरिङ रूम रू. १५,०००, ३ बेड र ४ बेड रू. ११,०००, आइसोलेसन प्रात्ेट रूम रू. २१,०००, आइसोलेसन डिलक्स रूम रू. २६,०००, आइसोलेसन स्वीट रूम रू. ५०,०००, आईसीयू रू. २२,००० रहेको छ ।
पुँजीवादी अर्थशास्त्री आदम स्मिथका अनुसार, “पुँजीवादी प्रजातन्त्रमा कामदार जनता पुँजीपति वर्गको नाफा बढाउने एक साधनमात्र हुन्, आनन्ददायी जीवन जीउने भनेको उच्च वर्गले मात्र हो । जसले खर्च गर्नसक्छ उसले स्वास्थ्य सेवा पाउनु स्वाभाविक छ, जनतालाई स्वास्थ्य सेवा, सुविधा दिने सरकारको कार्यभित्र पर्दैन ।” यही सिद्धान्तमा अडेर पुँजीवादी सरकारहरू अगाडि बढिरहेका छन् । अमेरिका, भारत, ब्राजिललगायतका देशहरूमा अत्यधिक जनता कोरोना सङ्क्रमणबाट मृत्यु हुनुको कारण पनि यही हो । सारा जनताको स्वास्थ्य उपचार, शिक्षालगायतका सेवा सरकारले नै गर्ने जिम्मेवारी लिने त समाजवादी सरकारले मात्र रहेछ । अहिले चीन, क्युवा, प्रजग कोरियालगायतले गरिरहेका छन् । ती देशहरूले आफ्नो देशका जनतामात्र होइनन् संसारका जनताको स्वास्थ्य उपचार र सुधार गर्न सहयोग गरिरहेका छन् । अत : अब हामीले नेपाली जनताको सुरक्षाको लागि एक भएर बच्ने उपाय खोज्नु नै उत्तम उपाय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *