भर्खरै :

मसानको गन्ध चाल नपाएको सरकार

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कुनै पनि स्वास्थ्य सामग्रीको अभाव नहुने प्रतिबद्धता दोहो¥याए पनि आधारभूत स्वास्थ्य सामग्रीको अभाव भने अझै समाधान हुन सकेको छैन । बरु, स्वास्थ्य सामग्रीको अभाव दिनानुदिन सघन बन्दै गएको छ । अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुँदा बचाउन सकिने बिरामीहरूले समेत जीवन गुमाइरहेका छन् । सघन उपचारमा रहेका बिरामीलाई चाहिने मात्राको अक्सिजन दिन नसक्दा बिरामीले ज्यान गुमाउनु परेको छ ।
अक्सिजनको अभाव हुन थालेको साता दिनभन्दा बढी भइसकेको छ । तर, सरकारले अझै पनि अक्सिजन मनग्य आपूर्ति गर्न सकिरहेको छैन । सरकारले अक्सिजनको अभाव पूरा गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो । तर, कार्यदल गठन भएको झन्डै हप्तादिनपछि सो जिम्मेवारी सेनालाई दिने निर्णय भयो । सेनालाई नै जिम्मेवारी दिनु थियो भने सुरुमै किन त्यसो निर्णय गरिएन ? साता दिनको अन्तरालमा अक्सिजनकै अभावको कारण सयौँ मानिसले ज्यान गुमाउनुप¥यो । महामारीको विषम परिस्थितिमा पनि किन कर्मचारीतन्त्र र औपचारिकताको चौघेरामा सरकार फस्दै छ ?
काठमाडौँ उपत्यकाका सबै अस्पतालहरूका सबै शय्या भरिभराउ भइसकेको धेरै दिन बितिसकेको छ । सरकारी अस्पतालहरूमा शय्या अभावको कारण कुर्सी, टेबुल र भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ । अक्सिजन सिलिन्डर अभावको कारण बिरामीका आफन्तहरू भौतारिरहनु परेको छ । तर, बालुवाटारले यस्तो अवस्थाप्रति देखे–नदेखेझैँ गरिरहेको छ । सत्ता प्राप्तिको आत्मश्लाघामा शासकहरू रमाइरहेका छन् । जनताको पीडाप्रति शासकहरू कति पनि सद्भाव व्यक्त गर्न सकिरहेका छैनन् ।
बरु, जनतालाई झूट बोलेर आँखामा छारो हाल्ने काम गरिरहेका छन् । परनिर्भरताको भजनबाहेक केही गाउन नजान्ने शासकहरू आजको सङ्कटसामु लाचार भएका छन् । उनीहरूले आफ्नै क्षमतामा जनतालाई अत्यावश्यक न्यूनतम आवश्यकतासमेत पूरा गर्न सकेका छैनन् । न अस्पतालमा रोगको कारण छटपटाइरहेका जनतालाई सरकारले ढुक्क बनाउन सकेको छ न त लकडाउनको कारण आम्दानी गुमाएका जनतालाई नै भविष्यप्रति विश्वस्त बनाउन सकेको छ । महामारीको विषम अवस्थामा जनताले आशाको सास फेर्न सक्ने काम सरकारले के गर्न सकेको छ ? जनता अक्सिजन नपाएर अस्पतालको शय्यामा सास फेर्न छटपटाइरहेको बेला शासकहरू कुर्सीको दौडमा व्यस्त रहे । उनीहरूको चिन्ता हरेक नागरिकको ज्यान जोगाउनेतिर भन्दा बालुवाटारको कुर्सीमा अडेको देखियो । राजनीतिमा योभन्दा निर्लज्जता अरू के हुनसक्छ ? न सरकारमा बसेका दलले जनतामा आशा जगाउन सक्यो, न प्रमुख प्रतिपक्षले सरकारलाई त्यसको निम्ति दबाब दिन सक्यो । बरु, यही समयमा संसद लुकाउनेजस्ता घिनलाग्दा र लाजमर्दो जालझेल भए । रोग, भोक र शोकले सास फेर्न कठिन अनुभव गरेका नेपाली जनताले त्यस्ता नैतिकता नभएका नेताहरूलाई कदापि माफ दिन सक्दैनन् ।
बालुवाटारको ‘धरहरा’ ले जनतालाई सबै पुगीसरि भएको देखेको छ । बालुवाटारमा न त नजिकैको टिचिङ्ग अस्पतालको भयावह अवस्था दृष्टिगोचर भएको देखियो न त पशुपतिबाट मसान नै गन्हाएको देखियो । त्यसकारण प्रधानमन्त्रीले न अस्पतालहरूमा स्वास्थ्य सामग्रीको अभाव देखे, न निस्सासिरहेका जनताको भावना नै बुझे । सत्ता जोगाउन सकेकोमा शासकहरू जतिसुकै खुसी होऊन् । तर, मसान गन्हाएको गन्ध नपाएको सरकार आफै कोरोना सङ्क्रमित भएको देखेर नेपाली जनतालाई असह्य पीडा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *